नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले बैंकअनअस इन्डियासँगको सहकार्यमा ‘पैसा पठाउने’ एप सुरु गरेको छ।
यसले भारतमा रहेका नेपालीलाई सजिलो हुने बैंकले जनाएको छ। उनीहरुले मोबाइलबाटै चौबीसै घण्टा नेपालमा भारतबाट पैसा पठाउन सक्नेछन्।
नेपाली आप्रवासी र त्यहाँस्थित नेपालीले यो सुविधा प्रयोग गर्न पाउनेछन्।
पैसा पठाउने एप द्रुतगतिको, सुरक्षित र कम लागतयुक्त भएको बैंकले जनाएको छ। भारतमा बैंकहरु विदा हुँदा पनि यो एपबाट पैसा पठाउन सकिनेछ।
त्यसका लागि तीनवटा कुरा ग्राहकले प्रयोग गर्नुपर्नेछ। सुरुमा प्रयोगकर्ताले भारतबाट पैसा पठाउनेको सूचनासहित एकपटक दर्ता गर्नुपर्छ। त्यसपछि नेपालमा पैसा पाउनेको सूचनासहित एकपटक दर्ता गर्नुपर्नेछ। त्यसपछि भारतीय बैंकमा रहेको खाताबाट यो एपमा पैसा ट्रान्सफर गर्नुपर्छ। त्यसपछि इच्छाएको व्यक्तिलाई पैसा पठाउन सकिने बैंकले जनाएको छ।
पैसा पठाउने एप डिजिट मोबाइल भुक्तानी प्लेटफर्म हो। यसलाई रिजर्व बैंक अफ इन्डियाले अधिकार दिएको छ। यो एपले बीएचआईएम, यूपीआई, गुगल पे, फोनपे, पेटीएम, ह्वाट्सएप पे, भारतपे र एनईएफटी/आईएमपीएसले जस्तै कारोबार गर्न पाउँछ।
यो एपबाट भारतमा रहेका नेपालीले एक वर्षमा १२ पटकसम्म प्रतिपटक ५० हजार भारु पठाउन पाउनेछन्।

प्रतिक्रिया