कारोबार


नवलपुरको हर्कपुरमा चौधरी ग्रुपले बनायो ‘सीजी उन्नति कल्चरल भिलेज’

नवलपुरको हर्कपुरमा चौधरी ग्रुपले बनायो ‘सीजी उन्नति कल्चरल भिलेज’

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ७:२२,

चौधरी ग्रुप (सीजी) अन्तर्गतको सामाजिक उत्तरदायित्व वहन गर्ने निकाय चौधरी फाउण्डेसनले नवलपुरको हर्कपुरमा ‘सीजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ।

राष्ट्रको कला, संस्कृति, साहित्य, वेशभुषा, आर्ट्स, क्राफ्ट, नाटक, संगितको प्रवर्धनका लागि सीजीले कल्चरल भिलेजको स्थापना गरेको हो।

सीजी उन्नति कल्चरल भिलेज प्राकृतिक सौन्दर्यबीच अवस्थित छ। चारैतिर हरियालीयुक्त भिलेजनमा थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठाहरू छन्।

चित्रमा थारू जातिका विभिन्न मेला महोत्सव र पर्वबारे जानकारी छन्। थारू जातिका दैनिकी झल्किने वस्तु छन्। यो कल्चरल भिलेजमा थारु समुदायको सिंगो तस्बिर कुँदिएको छ।

CG unnati 1

भिलेजमा के–के छन् ?
चितवनको नारायणगढ बजारबाट करिब १२ किलोमिटर दूरीमा रहेको यस भिलेजमा आर्टस् एण्ड क्राफ्ट, कल्चर, गेष्ट स्पेस र एक्पिरियन्स लगायतका कम्पोनेन्टहरू रहेका छन्।

आर्टस् एण्ड क्राफ्ट अन्तर्गत सम्पदा (आर्ट ग्यालरी), रँगमञ्च (एमपीथियटर) बाटिका (गार्डेन अफ आर्टस्), निसर्ग सयर (नेचर वकवेज), क्राफ्ट म्युजियम, नेपाल क्राफ्ट, दि एटिलियर (क्रियटिभ स्टुडियो) रहेका छन्।

कल्चरअन्तर्गत थारू गाउँ, बाहरी (लाइभ किचन), बडाघर (डाइनिङ) डबली, गदला मोद (बार) रहेका छन्।

गेष्ट स्पेसअन्तर्गत कला घर (आर्ट होटल) बोधि कुञ्ज (आर्ट रेसिडेन्सी) देहारी (थारू घर), आथित्य (मल्टिपर्पोज ब्लक) छन्।

एक्पिरियन्सअन्तर्गत आर्ट एण्ड क्राफ्ट, थारू कल्चर, यथ्निक कुजिन, हस्पिटालिटी, अर्गानिक फार्मिङ रहेका छन्।

सांस्कृतिक हिसाबले यहाँ थारू गाउँ छ। यसअन्तर्गत थारू डबली, थारू बार छन्। थारू बारलाई ‘गदला मोद’ नाउँ दिइएको छ। थारू संस्कृतिमा गदला भनेको जाँड र मोद भनेको रक्सी हो। अरू संरचनाको नाउँ पनि यसैगरी राखिएको छ।

CG unnati 2

भिलेजमा थारू मात्र नभएर अन्य विभिन्न संस्कृतिका विषयलाई पनि प्रस्तुत गरिनेछ।

करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली कलाको संग्रहालय पनि छ। कला र साहित्यको प्रवद्र्धनका लागि भनेर कला केन्द्र बनाइएको छ। कलाघर पनि यहीँ छ, जहाँ सर्जकहरू आएर सिर्जना गर्न सक्छन्।

अर्गानिक खेतीपातीको प्रवद्र्धन र विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको छ। यहाँको थारू रेस्टुराँमा आउने पाहुनाका लागि यहीँका उत्पादन पस्किइनेछ। सँगै थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि चखाइनेछ।

भिलेजमा ‘कल्चरल मल्टीपर्पस हल’ पनि हुनेछ, जहाँ कल्चरल ब्यांक्वेटिङ, सभासमारोह, बैठक, सांस्कृतिक प्रदर्शनी हुनेछन्।

भिलेजमा ‘कला बाटिका’का लागि छुट्टै ठाउँ तयार गरिएको छ। यसमा १८ वटा स्थान छुट्याइएका छन्, जसलाई ‘ओपन एयर म्युजियम’ भनिएको छ। यहाँ कलाकारले आफ्ना कलाकृति सिर्जना गर्नेछन्, जसलाई यहीँ प्रदर्शनीमा राखिनेछ।

CG unnati 3

भिलेजमा स्थानीय हस्तकलाका विभिन्न साधन उत्पादन पनि हुनेछन्। त्यसका लागि यहीँ दक्ष जनशक्ति उत्पादन गर्ने र उत्पादनहरूलाई बजारसम्म पहुँच पु¥याउने योजना छ। नेपाली शिल्प एवम् कलाबारे रुचि जगाउन ‘हिस्ट्री म्युजियम’ पनि बनाइएको छ, जहाँ नेपाली शिल्पीका प्राचीन, मध्यकालीन र आधुनिक शिल्पहरू हुनेछन्।

थारुसँगै अन्य समुदायका संस्कृतिलाई पनि भिलेजले समाहित गर्नेछ। नवलपुर क्षेत्रका माझी, बोटे, दराई, मगरलगायतका संस्कृति पनि यहाँ हुनेछन्। घाटु, सोरठीजस्ता नाच प्रदर्शन गरिनेछ।

नेपालका सबै कलाकार एवम् साहित्यकार आएर यहाँ आफ्नो कला एवम् साहित्य सिर्जना गर्न सकून् भन्ने भिलेजको लक्ष्य हो।

भिलेजको अवधारणाले रोजगारी सिर्जनालाई प्रोत्साहन गर्छ नै, सँगै यसले स्वरोजगारीलाई पनि समानान्तर रूपमा बढाउनेछ। स्वरोजगारका बृहत्तर योजनामा भिलेजले काम गरिरहेको छ। स्थानीयलाई नै सहभागी गराइने भएकाले हस्तकलाका सामग्री उत्पादनदेखि अतिथि सत्कारसम्म उनीहरू नै अग्रपंक्तिमा रहनेछन्।

साहित्य महोत्सवको आयोजना
यही सीजी उन्नति कल्चरल भिजेलमा फागुन २८ गतेदेखि उन्नतिसँगको सहकार्यमा दुईदिने ‘फाइनप्रिन्ट फिभर’ महोत्सव आयोजना हुँदै छ।

सोही दिन कल्चरल भिलेजको उद्घाटनलगत्तै यो महोत्सव सुरू हुनेछ।

महोत्सवमा कलाकार अनिल शाही र उनको ब्यान्डले सांस्कृतिक प्रस्तुति दिनेछ। वरिष्ठ कलाकार गोपाल कलाप्रेमी श्रेष्ठले बोल्नेछन्।

CG unnati 5

डा. बाबुराम भट्टराईसँग जीवन क्षेत्रीले ‘गुमनाम आमाका कथा’बारे कुरा गर्नेछन्। अभिनेतृ मनीषा कोइरालासँग पत्रकार स्वरूप आचार्यले ‘जिजीविषा’बारे विशेष संवाद गर्नेछन्।

सांसद गगन थापा र व्यवसायी÷लेखक जीवा लामिछानेबीच ‘देश देशावर’को कुरा हुनेछ।

‘पुँजीवाद र स्वतन्त्र समाजका आधारहरू’मा लेखक÷अध्येता हरि शर्मा र मुराहरी पराजुलीबीच छलफल हुनेछ।

प्रतीक्षा कट्टेलले लेखक निरञ्जन कुवँरसँग उनको नयाँ पुस्तक ‘बिटविन क्विन्स एन्ड द सिटिज’को सेरोफेरोमा रहेर कुरा गर्नेछिन्।

CG unnati 7

‘क’ कविता संग्रहका लेखक असीम सागरसँग उपन्यासकार अमर न्यौपानेको संवाद हुनेछ। पत्रकार रवि लामिछाने र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच ‘राजनीतिमा राजकाज’माथि रोचक शास्त्रार्थ हुनेछ।

प्रदीप गिरिले नागरिक आन्दोलन र देवेन्द्रराज पाण्डेमाथि विद्वत् प्रवचन दिनेछन्। आफ्नो पुस्तक पठनको शुरुवाती दिनबारे बोल्दै कलाकार राजेश हमालले पुराना दिन सम्झिनेछन्। युवाकेन्द्रित उपन्यासकार सुविन भट्टराई र भर्खर ‘रहर’ कथासंग्रह लिएर उदाएका सुरेश बडालबीच रमाइलो संवाद हुनेछ।

डा. बाबुराम भट्टराई र सीजी फाउन्डेसन÷सीजी कर्प ग्लोबका अध्यक्ष विनोद चौधरीबीच अर्थतन्त्र, विकास र समृद्धिबारे रोचक कुराकानी हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad