कारोबार


अब नेपालको पर्यटनले फड्को मार्छ : पर्यटनमन्त्री

 अब नेपालको पर्यटनले फड्को मार्छ : पर्यटनमन्त्री

नेपालखबर
फागुन २२, २०७७ शनिबार ७:१६,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताएका छन्।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभाको शुक्रबार राति उद्घाटन गर्दै उनले फागुन २१ गतेदेखि नेपाल पूर्णरुपमा शान्तिको देशका रुपमा रुपान्तरण भएको र नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान पनि सञ्चालन भइरहेकाले विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘हामीले यो बीचमा दुई अध्याय पूरा गरेर सिके राउतलाई राष्ट्रिय राजनीतिको मूलारमा ल्यायौँ, त्यस्तै पछिल्लो पटक विभिन्न खालका विद्रोह र हिंसाको राजनीतिमा लागेको विप्लव समूहलाई पनि मूल धारमा ल्याइएका छौँ, यसले समाजमा रहेको भय र आतंकलाई अन्त्य गरेको छ, अब मुलुकमा पर्यटकले निर्वाधरुपमा हिँडडुल गर्न समस्या छैन।’

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भई शान्तिपूर्ण राजनीतिमा आउने गरी उक्त समूहको नेतृत्व शुक्रबार सार्वजनिक भएको थियो। यो राजनीतिक सन्देशले कोभिडका कारण थलिएको पर्यटनलाई पुनरुत्थान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। पर्यटनमन्त्री ढकालले कोभिडविरुद्धको खोप पनि लगाउन शुरु भइसकेकाले अब नेपालमा पर्यटक आउन कुनै पनि किसिमको अवरोध नरहेको जिकिर गरे।

विदेशी पर्यटक आगमन सहज बनाइने
पर्यटनमन्त्री ढकालले पीसीआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाधरुपमा नेपाल भ्रमण गर्न दिने तथा अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे।

उनले विदेशी पर्यटक आवागमनलाई सहज तुल्याउन व्यवसायीको आग्रहबमोजिम पर्यटन क्षेत्रको समस्या सम्बोधनका लागि अन्तरमन्त्रालय छलफल गरेर पहलकदमी लिएको र यसले छिट्टै परिणाम हासिल गर्ने बताए।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले विदेशीको पर्यटक आवमनलाई सहज तुल्याउन मन्त्रालयले पहल गरिरहेको र छिट्टै यसले निकास पाउने बताए। पाटा नेपालले प्यासिफिक क्षेत्रका पर्यटन आदन प्रदान गर्ने कार्यक्रम तथा पर्यटकीय गतिविधि बढाउन भूमिका खेलेको भन्दै सचिव कोइरालाले दूरदराजका गन्तव्य प्रवद्र्धनका लागि पनि पाटाले पहल गर्नुपर्ने र त्यसको सहजीकरणका लागि मन्त्रालयले सहयोग गर्ने वचन दिए।

उनले पर्यटन क्षेत्रको विविधीकरण र अन्तरराष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना कार्यक्रम ल्याउन आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए।

नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर विदेशी पर्यटक भित्र्याउन प्रमुख पहलकदमी गर्ने संस्थाका रुपमा रहेको पाटाले सरकार र निजी क्षेत्रको समन्वयमा विदेशी पर्यटक ल्याउन उदाहरणीय काम गरिरहेको छ। पाटा नेपाल च्याप्टरले प्यासिफिक क्षेत्रका धेरै व्यक्तिलाई ल्याएर नेपालमा प्रवद्र्धन गरेको र विवादरहित संस्थाका रुपमा आफूलाई स्थापित गरेकामा सचिव कोइरालाले विशेष धन्यवाद ज्ञापन गरे।

बीबीसी मास्टर सेफ सन्तोष शाहले नेपालको पर्यटनलाई गुणस्तरीय बनाउन नेपाली रैधाने खानाको प्याकेजिङ ब्रान्डिङ गरी अन्तरराष्ट्रियकरण गर्नेतर्फ सबै क्षेत्रले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए। ‘फुड टुरिज्म’ लाई प्राथमिकता दिइ त्यसलाई चाहिने कृषिउपार्जनका विषयमा विशेष प्रवद्धनात्मक कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव थियो।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले कोभिडपछिको पर्यटनका गतिविधिलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्यमा प्रभावकारी प्रवद्धनका कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए।

सो अवसरमा पाटाले पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै पूर्वपर्यटनसचिव दीपेन्द्रपुरुष ढकाललाई ‘पाटा लाइफ टाइम अचिभमेन्ट अर्वाड’ ‘पाटा पर्सनालिटी अफ दी इयर अवार्ड’ सेफ सन्तोष साहलाई प्रदान गरियो। यी दुवै पुरस्कार पर्यटनमन्त्री ढकालले वितरण गरे।

त्यस्तै जाडो याममा पाकिस्तानको माउन्ट केटु हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने आरोही दलका सदस्यलाई पाटाकोतर्फबाट पर्यटन सचिव कोइरालाले कदरपत्रद्वारा सम्मान गरेका थिए। कार्यक्रममा सुरसुधाको सांगीतिक समूहले विशेष सांगीतिक प्रस्तुति प्रस्तुत गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad