कारोबार


नेपाली घ्यू जापानमा लोकप्रिय

नेपाली घ्यू जापानमा लोकप्रिय

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ९:५०,

सरकारको स्वामित्वमा सञ्चालित हैटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ।

आयोजनाका प्रमुख नरेश जोशीका अनुसार गत वैशाखदेखि माघ महिनासम्ममा ५१ हजार लिटर घ्यू निर्यात भएको थियो। उनले जापानमा नेपाली घ्यूको माग बढ्दै गएको र एक पटकमा सात-आठ हजार लिटर घ्यू निर्यात हुने गरेको जानकारी दिए। अहिलेसम्म सात पटक घ्यू निर्यात भइसकेको छ। आयोजनाले दैनिक ५०० लिटर घ्यू उत्पादन हुने गर्छ।

हेटौँडा औद्योगिक क्षेत्रमा ३८ रोपनी जमीनमा विसं २०३०को वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दुग्ध विकास संस्थान अन्तर्गत आयोजना स्थापना भएको थियो। आयोजनाबाट दैनिक २५ हजार लिटर दुग्ध मकवानपुर, वारा, पर्सा, सर्लाही र रौतहट जिल्लामा संकलन भइरहेको छ।

ती मध्ये प्रशोधित ६ हजार ५०० लिटर दुग्ध र १५ सय लिटर दही दैनिक बिक्रीवितरण हुने गरेको आयोजनाले जनाएको छ। आयोजनाले दैनिक ६ हजार कृषक घरपरिवारबाट दुग्ध खरीद गरी उनीहरुलाई मासिक रु तीन करोडदेखि रु पाँच करोडसम्म भुक्तानी गर्दै आएको छ।

बेमौसममा रु तीन करोड र अन्य मौसममा रु पाँच करोड भुक्तानी भएको छ। आयोजनाको प्रशोधित क्षमता प्रतिघण्टा तीन हजार लिटर दुग्ध रहेको छ। यसका साथै दही, पनीर, घ्यू, मख्खन फ्रसमिल्क, लालमोहन, रसबरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा र खुवालगायतका दुग्ध पदार्थ उत्पादन गरी बिक्रीवितरण भइरहेको बताइएको छ।

उत्पादित उपरोक्त दुग्ध पदार्थ वीरगन्ज, नारायणघाट र हेटौँडाको शहरी तथा ग्रामीण बजार क्षेत्रमा बिक्री हुने गरेको र थप बजार क्षेत्र बढ्दै गएको आयोजनाले जनाएको छ। आयोजना अन्तर्गत सात चिस्यान केन्द्र क्रमश चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, बरहथवा, हरैया, बसवरिया र सिम्रोनगढमा रहेको छ।

मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाबाटसमेत दुग्ध संकलन हुने गरेको आयोजनाका अधिकृत ठाकुरदास श्रेष्ठले बताए।

उनले भने, ‘आयोजनाले आवश्यकता अनुसारको दूध खपतगरी बढी भएको दूध बालाजुलगायत अन्य आयोजनामा पठाउने गरेको छ।’

आयोजनाको ६० हजार लिटर दूध भण्डारण क्षमता रहेको छ। दही तीन हजार लिटर, घ्यू, मख्खन, पनीर उत्पादन क्षमताप्रति दिन ५०० केजी, फेसमिल्क, एक हजार ५०० बोतल प्रति सिफ्ट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट प्रतिदिन उत्पादन हुने गरेको उनले जानकरी दिए।

बिक्रीवितरण क्षेत्रमा तीन वितरक, २८ डिलर र १९७ बिक्री बुथमार्फत बिक्री भइरहेको छ। लकडाउनमा पनि आयोजनाले आफ्नो सेवालाई निरन्तरता दिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad