संघीय राजधानी काठमाडौंको पूर्व–उत्तर भागमा पर्छ– कागेश्वरी मनोहरा नगरपालिका।
त्यही नगरमा छ विष्टगाउँ। वारि काठमाडौं, पारि भक्तपुर– मनोहरा खोलाले बनाएको बगरे फाँट।
यही वरपरका क्षेत्रसमेत समेटेर संघीय सहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरणले काठमाडौंको थोरै र भक्तपुरको धेरै भूभागमा पर्ने गरी सुविधासम्पन्न सहर बनाउँदै छ।
१ लाख रोपनी क्षेत्रमा झण्डै ३ खर्ब लागतमा योजनाअनुसार ७ वर्षमा तयार भयो भने यो नेपालको अहिलेसम्मकै अत्याधुनिक सुविधायुक्त ठूलो सहर हुनेछ। जसले काठमाडौंको सहरी रुपरेखा त फेर्ने छ नै नेपालमा सहर विकासको अवधारणामा पनि परिवर्तन ल्याउने विश्वास गरिएको छ।
तीन वर्षअघि नै अर्थात् २०७४ असार ५ मा संघीय सरकारले राजपत्रमा सूचना जारी गर्दै काठमाडौं र भक्तपुर जिल्लाका उत्तर–पूर्वी क्षेत्रहरु समेटेर प्रस्तावित सहरको चार किल्ला निर्धारण गरेको थियो।
यसअनुसार पूर्वमा भक्तपुरको नगरकोट–तेलकोट भन्ज्याङसम्म र पश्चिममा जोरपाटी, मूलपानी क्रिकेट स्टेडियम, गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटोसम्म यो सहर फैलिनेछ।
यता उत्तरमा साँखु बजार र साँखु जाने मूल सडकलाई सहरको सीमा निर्धारण गरिएको छ भने दक्षिणमा भक्तपुर पुरानो बाटोलाई सीमा मानिएको छ।
मनोहरा खोला पूर्वतर्फ यो सहर सानोठिमी, धुन्चेपाखा, बोडे, भाटगाउँ, दुवाकोट, झौखेल, छलिङलगायतका क्षेत्रसम्म र पश्चिमतर्फ पेप्सीकोला, सनसिटी अपार्टमेन्ट, गोठाटार, हरहरे, विष्टगाउँ र मूलपानीसम्म हुनेछ।
डीपीआर तयार, यस्तो बन्छ पूर्वाधार
उपत्यका विकास प्राधिकरणले उक्त सहर पर्ने उपत्यकाको उत्तर–पूर्वी क्षेत्र (ईशान)को चारकिल्ला क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बनाइसकेको छ।
जेके एसोसिएट्सको सहकार्यमा फिनल्यान्डको हेलिन एन्ड कम्पनीले सहरको डीपीआर तयार पारेको हो। प्राधिकरणले ईशानको उक्त डीपीआर सहरी विकास मन्त्रालयमा पेस नै गरिसकेको छ।
‘हामीले डीपीआर बनाएर असारमै सहरी विकास मन्त्रालयमा बुझाएका हौँ’, उपत्यका विकास प्राधिकरणका सहरी योजनाकार भागवतभक्त खोकालीले नेपालखबरसँग भने, ‘चाँगुनारायण विश्वसम्पदा क्षेत्रलाई संरक्षण क्षेत्र, सानो ठिमी क्षेत्रलाई शैक्षिक क्षेत्र, जंगल नजिकको इको टुरिजममा विभाजन गरी डीपीआर तयार भएको छ।’
तयार भएको डीपीआरअनुसार ईशान सहरमा विद्युत् र पानीको दुःख खेप्नुपर्नेछैन। इन्टरनेट तथा नयाँ प्रविधि प्रयोगका लागि पर्याप्त पूर्वाधार निर्माण हुनेछन्। खेलकुद तथा मनोरञ्जनको लागि पर्याप्त ठाउँ राखिनेछ।
स्वच्छ हावा र खुल्ला ठाउँ राखेर मात्रै व्यवस्थित रुपमा घर निर्माण हुने छ। अर्थात् सहरको ५ प्रतिशत भाग खुल्ला ठाउँ हुनेछ। प्रस्तावित डीपीआरमा वनक्षेत्र, सहरभित्रको खुल्ला तथा हरियाली क्षेत्र, पर्यटन गन्तव्य, शैक्षिक क्षेत्र, खेलकुद क्षेत्र र संरक्षण क्षेत्र छुट्याइएको छ।
सहरको उत्तर–पूर्वमा अहिले साँखुको शालीनदी मन्दिर, विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर, चाँगुनारायण पार्क, चाँगु संग्रहालय, सिनेडाँडा, निलवराही मन्दिर तथा पिकनिक स्पट, नेपाल क्लब होम स्टे, बेथाल होमस्टे, चाँगु होमस्टेलगायतका पर्यटकीय स्थल छन्।
डीपीआरअनुसार तेलकोट–छलिङ र निलवराही मन्दिर भएको क्षेत्रलाई इको–टुरिजम (पर्या–पर्यटन)को रुपमा विकास गरिनेछ। सहरभित्र ७ वटा ठूला पोखरी हुनेछन्।
मनोहरा खोलाको किनारालाई बाढी प्रभावित क्षेत्र निर्धारण गरेर त्यसको व्यवस्थापन गरिनेछ। बाढी रोक्दै सडक करिडोर निर्माण हुनेछ। यो क्षेत्रमा ठूला घर बनाउन पाइनेछैन। तर रिसोर्ट तथा रेष्टुरेन्टको लागि त्यस्ता जग्गा प्रयोग गर्न भने पाइनेछ।
ईशान सहरको डीपीआरमा पूर्वाधार निर्माण गर्न नसकिने ‘स्टिप ल्यान्ड’, सांस्कृतिक गाउँ, खेलकुद क्षेत्र, फोहोर पानी व्यवस्थापन प्लान्ट र बायो ग्यास प्लान्टको लागि क्षेत्र निर्धारण गरिएको छ।

घरसम्म २० फिट फराकिलो सडक
नयाँ सहरमा गाडी पार्किङ, ट्राफिक जामलगायतका समस्या हुनेछैन। प्रस्तावित नयाँ सहरको बाहिरी घेरामा पहुँचको लागि उत्तरमा जोरपाटी–साँखु, दक्षिणमा पेप्सीकोला–ठिमी सडक छन्। यी सडक अहिले नै फराकिलो बन्दै छन्।
यसबाहेक दिव्येश्वरी जग्गा एकीकरण आयोजनाले मनोहरापुलदेखि सनसिटी हरियाली करिडोरको निर्माण समेत सम्पन्न गरिसकेको छ।
‘मनोहराको दुवै किनारामा दिव्येश्वरी जग्गा एकीकरण आयोजनाले बनाएको सडकजस्तै बन्छ’, उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारी भन्छन्, ‘करिडोर शालीनदीसम्मै पुग्छ। छेउमा हरियाली, फुटपाथ दुवै हुन्छ।’
नयाँ सहरमा अहिले भएका चाँगुनारायण सडक खण्ड, छालिङ सडक, तेलकोट–चाँगु सडक खण्ड ३० मिटर फराकिलो हुनेछन्। यसबाहेक नयाँ सडकहरु छायाँबस्ती–साँखु–मूलपानी, गोठाटार विष्टगाउँदेखि बोडे हुँदै दुवाकोटसम्म पुग्ने सडक पनि ३० मिटर चौडाइको हुनेछन्। अधिकांश सडकको छेउमा हरियालीसँगै फुटपाथ र साइकल लेनको व्यवस्था गरिनेछ।
३० मिटरका मुख्य सडकसम्म पुग्न सहरभित्र २१ मिटरका सहायक सडक हुनेछन्। कुनै पनि बस्तीमा पुग्ने सानो सडक नै १२ मिटरको हुनेछ। साथै हरेक व्यवस्थित घरमा पुग्ने बाटो ६ मिटर अर्थात् करिब २० फिटको हुनेछ।
सुविधासम्पन्न शैक्षिक हब
योजनाअनुसार सानोठिमी क्षेत्रलाई शैक्षिक हबका रुपमा विकास गरिनेछ। यी ठाउँमा अहिले नै जनक शिक्षा सामग्री केन्द्र, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी क्याम्पस, एसओएस बालग्रामलगायतका शैक्षिक संस्था छन्। सोही कारण यसलाई शैक्षिक हबको रुपमा विकास गर्न खोजिएको हो।
सहरभित्र काठमाडौं मेडिकल कलेज, ख्वप कलेज, नेपाल इन्जिनियरिङ कलेज, केएमसी हस्पिटल, वीर हस्पिटल लगाएत चर्चित संस्था रहनेछन्। सहर बनिसकेपछि थप शैक्षिक संस्था र स्वास्थ्य संस्था समेत खुल्नेछन्। अध्ययन, उपचार, सपिङको लागि सहरबाहिर जानुपर्नेछैन।
‘मनोहरा आसपासका मानिस सपिङ गर्न अहिले पनि न्युरोड आउने गरेका छन्’, प्राधिकरणका प्रमुख तिवारी भन्छन्, ‘ईशान क्षेत्रका स्थानीय अध्ययन तथा उपचारको लागि पनि सहरबाहिर जानुपर्ने अवस्था आउँदैन।’
बन्नेछन् तीन ठूला आयोजना
आधुनिक सहरको महत्व बढाउन यो सहरमा ३ ठूला आयोजनाहरु सुरुङमार्ग, बाहिरी चक्रपथ र वीर अस्पताल बन्नेछन्।
यसअन्तर्गत चाँगुनारायण र मूलपानी सडक जोड्न सुरुङमार्गको प्रस्ताव गरिएको छ। मूलपानी–साँखु सडकको पुखुलाचीबाट चाँगुनारायण छालिङ आसपासमा निस्किने गरी सुरुङमार्गको निर्माण हुनेछ। यसले ईशान सहरको आकर्षण बढाउनेछ।
काठमाडौं उपत्यका प्राधिकरणले नै प्रस्तावित बाहिरी चक्रपथ निर्माणको लागि डीपीआर तयार पारिसकेको छ। काठमाडौं उपत्यकाका ३ वटै जिल्लालाई समेटेर बनाउने बाहिरी चक्रपथ यो सहरको बीचमा पर्नेछ। अर्थात् भक्तपुरको जगातीबाट चुडाल– चाँगुनारायणको खरिपाटी–दुवाकोट–थली–डाँछी हुँदै गोकर्णेश्वर निस्किनेछ।
बाहिरी चक्रपथ सडक ५० मिटर फराकिलो हुने हुँदा यसले नयाँ सहरको शोभा बढाउने मात्र नभई ट्राफिक जामको समस्या हुनेछैन। बाहिरी चक्रपथलाई आधार मानी अहिले इँट्टाभट्टा रहेको सहरभित्रको भाटगाउँ, झौखेल आसपास औद्योगिक क्षेत्रको रुपमा विकास गरिनेछ।
बाहिरी चक्रपथकै पहुँच भएको दुवाकोटमा सरकारले काठमाडौंको महाबौद्धमा रहेको पुरानो वीर अस्पताललाई विस्तार गर्ने योजना अघि सारेको छ।
अन्तर्राष्ट्रियस्तरको मेडिकल शिक्षा र स्वास्थ्य सेवा दिने उद्देश्यले ५ सय ७० रोपनी जग्गामा अस्पताल निर्माण गरिने प्रस्ताव गरिएको हो। यसमा १५ सय शय्याको अस्पताल, अन्तर्राष्ट्रियस्तरको पठनपाठन, स्वास्थ्यकर्मी आवास भवन, पुस्तकालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान भवन लगायतका भौतिक संरचना रहनेछन्।
झण्डै ३ खर्ब लागत, ७ वर्षमा बन्ने
१ लाख रोपनी जमिनमा विकास गरिनलागेको यो नेपालको अहिलेसम्मकै आधुनिक ठूलो सहर निर्माण कसरी होला त? अहिले आम चासो पनि बढ्नथालेको छ। डीपीआरकै अनुसार यो आधुनिक सहरको निर्माण लागत २ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ अनुमान गरिएको छ।
सहर विकासकै लागि अहिले निर्धारित चारकिल्लाभित्र जग्गा कित्ताकाटमा रोक लगाइएको छ। सरकारले अब सबै जग्गा एकीकरण गरी डीपीआरअनुसार काम गर्नेछ। आधुनिक सहरको निर्माणको लागि स्थानीयले प्रतिकित्ता औसत ३७ प्रतिशत जग्गा सरकारलाई दिनुपर्नेछ। आफ्नो जग्गामा ठूलो सडक निर्माण हुनेले धेरै र साना सडक निर्माण हुनेले थोरै योगदान गर्नुपर्नेछ।
‘अहिले नै २० फिट बाटो भएको र त्यसभन्दा बढाउन नसक्ने क्षेत्रलाई हामीले केही गर्दैनौँ’, प्राधिकरण प्रमुख तिवारी भन्छन्, ‘नयाँ बन्ने सहरबाट जसले जति फाइदा प्राप्त गर्छ, त्यसैअनुसार जग्गा योगदान पनि गर्नुपर्छ।’
उक्त जग्गामा सरकारले नयाँ सडकको निर्माण तथा सडक फराकिलो बनाउने, ढल निकासको पर्याप्त व्यवस्था, खानेपानीको व्यवस्था, खेलकुद तथा पार्कको निर्माण, आधुनिक पूर्वाधार निर्माण गरी औसतमा ६३ प्रतिशत जग्गा स्थानीयलाई फिर्ता गर्नेछ।
स्थानीयले योगदान गरेको ३७ प्रतिशत जग्गामा स्थानीयकै सेवा सुविधाको पूर्वाधार बनाइनेछ भने सरकारले केही जग्गामा औद्योगिक क्षेत्र बनाउनेछ। यसमध्ये करिब १० प्रतिशत प्लटिङ गरेर बोलकबोलमार्फत बिक्री गरिनेछ। जसबाट उठेको रकम नयाँ सहर निर्माणमै खर्च हुनेछ।
‘स्थानीयले अहिले योगदान गर्दा आफ्नो जग्गा घटेको देखिए पनि सहर निर्माणपश्चात् जग्गाको मूल्य ५ गुणासम्म बढ्छ’, प्राधिकरणका सिनियर इन्जिनियर रणजित शाह भन्छन्, ‘उपत्यकामा विस्तार भइरहेका अव्यवस्थित सहरलाई व्यवस्थित बनाउने सरकारको सोच हो। यो आधुनिक सहरमा स्थानीयले अहिलेको तुलनामा धेरै गुणा सेवा सुविधा पनि पाउँछन्।’
प्रस्तावित डीपीआरअनुसार आधुनिक सहर ईशान निर्माणको लागि ७ वर्ष लाग्ने अनुमान गरिएको छ।

डीपीआरमाथि मन्त्रालय छलफलमै
पूर्वसहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई काठमाडौंमा ठूला व्यवस्थित सहर आवश्यक भए पनि निर्माणमा चुनौती रहेको ठान्छन्।
‘सरकारले निर्धारण गरेको चार किल्लाभित्र अहिले नै ३/४ आनाका टुक्रे जग्गा छन्’, पूर्वमन्त्री राई भन्छन्, ‘उनीहरुले कम्तीमा पनि ३७ प्रतिशत योगदान गर्दा घर बनाउने ठाउँ नै हुँदैन। उल्टो सरकार वा निर्माण गर्ने पक्षले दिनुपर्छ।’
सरकारले आधुनिक सहर निर्माणको लागि करिब ४ वर्षदेखि कित्ताकाटमा रोक लगाए पनि डीपीआर अहिलेसम्म पास नभएको भन्दै स्थानीय भने दुःखित छन्। छिट्टै सहर निर्माण गर्नुपर्ने उनीहरुको माग छ।
चाँगुनारायण नगरपालिका वडा नम्बर १ का अध्यक्ष राजेश खड्का हालसम्म डीपीआर पास नभएको भन्दै कित्ताकाट रोक्दा स्थानीयले दुःख पाएको बताउँछन्।
‘करिब ४ वर्षदेखि दाजुभाइ छुट्टिएर जग्गा कित्ताकाट गर्न पाएका छैनन्’, वडा अध्यक्ष खड्का भन्छन्, ‘जनता हामीसँग आएर झगडा गर्छन्। संघीय सरकारले सहर निर्माणको विषयमा छिट्टै निर्णय गर्नुपर्छ।’
सहरी विकास मन्त्रालयका सहसचिव कृष्णप्रसाद दवाडीले भने प्राधिकरणले पेश गरेको नयाँ सहरको डीपीआरबारे मन्त्रालयमा छलफल छलफल भइरहेको बताए।
‘प्राधिकरणले पठाएको डीपीआर मन्त्रालयमा छलफलमै छ’, दवाडीले नेपालखबरसँग भने, ‘डीपीआरमा केही विषय स्पष्ट नहुँदा मन्त्रिपरिषद बैठकमा पेस हुनसकेको छैन। मन्त्रालय र प्राधिकरणले डीपीआर स्पष्ट बनाउने काम गर्दै छन्।’
आशावादी छन् मनोहरा किनारका स्थानीय
१ लाख रोपनीमा बन्ने यो सहरले मनोहरा खोलाका किनारमा तरकारी खेती गर्दै आएका किसानहरुमा पनि आशा पलाएको छ।
किनभने मनोहरा खोलामा बलियो तटबन्धसहित आधुनिक सहर बनाउने योजना सरकारको छ। यो योजनाअनुसार काम भए यही खोलाको पूर्व र पश्चिम क्षेत्रमा १२ मिटरको हरियाली करिडोर (सडक) सहित सुविधासम्पन्न सहर बन्नेछ।
वर्षौँदेखि विष्टगाउँमा बस्दै आएका सिन्धुपाल्चोकका जेठालाल सरकारको योजनामा निकै आशावादी छन्। नहुनुपर्ने कारण पनि छैन। जेठालालजस्ता तरकारी किसानलाई वर्षातको बेला मनोहराको बाढीले हैरान पार्छ। सुख्खायाममा चाहिँ सिँचाइ गर्ने पानी पनि हुँदैन।
‘मनोहरा खोलाले बहाव फेरेको फेर्यै गर्छ, वर्षामा खेतीपाती डुब्छ, हिउँदमा खोला झ्याप्पै सुक्छ’, तरकारी खेतीमा मनोहराको पानी तानिरहेका जेठालाल भन्छन्, ‘सरकारले सहर बनाउने भनेको छ, बनाइदियो भने यो समस्याबाट मुक्ति पाइने थियो।’
हुन पनि नापी भएको जग्गामा अहिले खोला बगेको छ। पहिला खोला भएको ठाउँमा खेतीपाती चलिरहेको छ। गत असारमा पनि मनोहरा खोलाले खेतीसँगै बस्ती डुबानमा पारेको उनको भनाइ छ।
‘सरकारले नयाँ सहर बनाउँछौँ, मनोहराको बाढी नियन्त्रण गर्छौँ भनेको सुनेका छौँ’, खेतमा चम्सुरको बीउ छर्दै गरेका अर्का स्थानीयले भने, ‘नयाँ सहर बन्छ र छिट्टै हाम्रो समस्या समाधान हुन्छ भन्ने आशामा छौँ।’
Shares

प्रतिक्रिया