कारोबार


३७ मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री बी’को निर्माण धमाधम

३७ मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री बी’को निर्माण धमाधम

नेपालखबर
साउन २३, २०७६ बिहिबार १२:२९,

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ। तीन वर्ष निर्माण अवधि रहेको आयोजनाको २९ फागुन २०७७ भित्र सक्ने लक्ष्य तय गरी काम भइरहेको हो।

निर्माण पूर्वका सम्पूर्ण तयारी पूरा गरी गत चैतबाट निर्माण सुरु भएको आयोजनाको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ। आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये ७२४ मिटर खनिएको छ। मुख्य सुरुङ चार ठाउँबाट खन्ने काम भइरहेको छ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको क्यास्केड भएकाले त्रिशूली ‘थ्रि बी’ले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन। थ्री ए’को विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ।

trishuli 3 b

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजना निर्माण कार्यक्रममा चासो दिंदै नियमित रुपमा प्रगतिको जानकारी लिने गरेका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका अध्यक्ष कुलमान घिसिङले केही दिनअघि निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएका छन्। घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिसँग आयोजनास्थलमै छलफल गरी गुणस्तर र सुरक्षामा विशेष ध्यान दिंदै निर्धारित समयमै काम सक्न निर्देशन दिएका छन्।

‘जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्वसाधारणबाट पैसा उठाएर निर्माण अगाडि बढाएको यस आयोजनामा प्रधानमन्त्री, ऊर्जामन्त्री लगायत सबैको निर्माण कहिले सकिन्छ भन्नेमा चासो छ, त्यसैले सबै पक्ष निर्माणमा गम्भीर भएर लाग्नु पर्छ’,उनले भने।  जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, ऊर्जामन्त्री वर्षमान पुन लगायतको आयोजनामा २०÷२० कित्ता सेयर छ।

कम्पनीले सर्वसाधारणका ३७ लाख ५ हजार कित्ता सेयर निश्कासन गर्दा प्रधानमन्त्री, ऊर्जा मन्त्रीलगायतले पनि खरिद गरेका थिए। सेयरको बाँडफाँड गर्दा प्रधानमन्त्री, उर्जामन्त्री लगायत आवेदन दिएकाले न्यूनतम २० र अधिकतम ३० कित्ता सेयर पाएका थिए। वर्षायाम सकिएपछि विद्युत गृह, सर्ज ट्याङ , पेनस्टकलगायतका संरचनाको निर्माण सुरु हुने त्रिशूली जलविद्युत कम्पनीका प्रवन्ध–संचालक मोहनप्रसाद गौतमले बताए। ‘पेन स्टक पाइप, गेट लगायतका हाइड्रोमेकानिकल र टर्वाइन, रनर, जेनरेटर लगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको उत्पादन सुरु भइसकेको छ’गौतमले भने।

इन्जिनियरिङ, खरिद तथा निर्माण (इन्जिनियरिङ, प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन– इपीसी ) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २९ माघ २०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार, ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्नेछ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ। कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ।

अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ। आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण(५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ। आयोजनाबाट सुख्खायाममा ( मंसिर १६ देखि जेठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ। आयोजनाबाट उत्पादन हुने विद्युत खरिद–बिक्रीका लागि प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको छ।

विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुने गौतमले बताए। आयोजनाको विद्युत गृहबाट करिब ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्रिबी हब सबस्टेसनमा विद्युत् जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad