सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७६ पारित गर्ने क्रममा गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गर्नुपरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७६ लाई पारित गराउने क्रममा सांसद देव प्रकास तिमिल्सिनाले गणपुरक संख्या नपुगेको भन्दै प्रश्न उठाएपछि ३ मिनेट घण्टी बजाएर गणना गरिएको थियो। गणना गर्ने क्रममा गणपुरक संख्या नपुगेपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
नेपालको संविधानको धारा ९४मा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ। सो व्यवस्था अनुसार गणपुरक संख्या ६९ हुनुपर्नेमा ४१ मात्रै भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
बिहीबार नै बसेको दोश्रो बैठकले भने सो विधेयक सर्वसम्मति पारित गरेको छ।

प्रतिक्रिया