कारोबार


कालिमाटी तरकारी बजारमा कृषिमन्त्री अर्यालको छड्के

कालिमाटी तरकारी बजारमा कृषिमन्त्री अर्यालको छड्के

नेपालखबर
माघ २७, २०७७ मंगलबार ९:३७,

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छन्। आज (मंगलबार) कालिमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन गर्दै त्यहाँको बजारको वस्तुस्थितीको बारेमा जानकारी लिएकी हुन्।

अनौपचारिक पोशाकमा तरकारी बजार पुगेकी मन्त्री अर्यालले तरकारी बजारको स्टल र सरसफाइ कार्यलाई व्यवस्थित गर्न कार्य तालिका र कार्यान्वयनको अवस्था लिएर फागुन १ गते मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिएकी छन्। केही कर्मचारीसहित कालीमाटी बजार अनुगमन गर्न पुगेकी मन्त्री अर्यालले तरकारी, माछा, स्टलको भाडा, मूल्य र स्टललगायतका बारेमा जानकारी लिएकी थिइन्।

फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै मन्त्री अर्यालले मन्त्रालय र बजार समितिबिच छलफल गरी तत्काल एउटा निश्कर्षमा जाने समेत बताइन्।
मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउदै उनले किसानको पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने वातावरण निर्माण गरिने बताइन्।

बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको भन्दै मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने बताइन्।

उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा विक्रि हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने मन्त्री अर्यालको भनाई थियो। भोलिका दिनमा जुनसुकै परिस्थिति आउँदापनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने भन्दै उनले किसानलाई मलको अभाव हुन नदिने बताइन्।

उनले भनिन्, ‘अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त छ। हामीले किसानलाई मलको व्यवस्था गरिसकेका छौं। किसानहरुले सहज ढंगले मल प्राप्त गर्नुभएको छ।’

बजारमा अनुगमनका क्रममा कालिमाटीमा व्यवस्थित ल्याब रहेको पाइएको भन्दै उनले छिट्टै परीक्षण गरी खराब चिजहरुलाई नियन्त्रण गरी उपभोक्ताको स्वास्थ्यमा समेत सचेत हुन फास्ट ट्रयाकबाटै काम भएको पाइएको बताइन्।

यस्तै बजार व्यवस्थापन गर्न केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुमा माछा बजार खोल्न पहल सुरु गर्ने बताइन्।

मन्त्री अर्यालले बजार अनुगमनका क्रममा भनिन्, ‘नेपालमा उत्पादित वस्तुहरूको उत्पादन बढाउन र वस्तु प्रद्र्धनमा चुनौती रहेको छ। पहिला के भएको थियो त्यो कुरा छाडौँ। अब बजार कसरी व्यवस्थित गर्न सकिन्छ? व्यापारी र किसानलाई कसरी खुसी पार्न सकिन्छ? बिचौलियाको अन्त्य कसरी गर्न सकिन्छ? र कसरी बजारलाई व्यवस्थित गर्न सक्छौ, यसतर्फ छिट्टै हामी निष्कर्श निकाल्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad