ad ad

कारोबार


कृषि मन्त्रालय भन्छ : बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था छैन

कृषि मन्त्रालय भन्छ : बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था छैन

नेपालखबर
माघ १९, २०७७ सोमबार ८:४४,

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ।

बर्डफ्लु नियन्त्रणका लागि ‘र्‍यापिड रेस्पोन्स टीम’ तयार गरेर सतर्क रुपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताएका छन्।

सहसचिव निर्मलले काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्खोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना संकलन गरी परीक्षणको दायरा बढाएको बताए। कुनैपनि फार्ममा बर्डफ्लु पुष्टि भएमा तत्काल र्‍यापिड रेस्पोन्स टीमले कुखुरा नष्ट गर्ने काम गर्ने पनि बताए। नेपालमा खासगरी टर्की, हाँस र लोकल कुखुरामा बर्डफ्लु देखिएको छ। यस्तै अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि सहसचिव निर्मलले प्रष्ट पारेका छन्।

अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट रहेको पनि बताए। जुन भाइरस विगतमा देखिएको एच फाइभ एन वान भन्दा कम खतरा रहेको डा. निर्मलको भनाई छ। तर एच फाइभ एन एटमा एच फाइभ एन वान मिसिन सक्ने भएकाले जोखिम उत्तिकै रहेको मानेर त्यसको नियन्त्रणका लागि सरकारी निकायहरुबीच छलफल भइराखेको पनि बताए।

मन्त्रालयले विभिन्न प्रयोगशाला, ८ वटा क्वारेन्टाइन कार्यालय, २४ वटा चेकपोष्टहरुलाई सतर्क रुपमा राखेको पनि बताए।

सहसचिव डा. निर्मलले मासु व्यवसायी र किसान जो कुखुराको प्रत्यक्ष सम्पर्कमा छन् उनीहरुले ठूलो मात्रामा कुखुरा मरेको पाइएमा तत्काल जानकारी गराउन समेत आग्रह गरेका छन्।

त्यसबाहेक कुखुरा फार्म तथा मासु पसलमा काम गर्दा मास्क लगाउने, केस छोप्ने, बुट लगाउने, एप्रोन लगाउने, फार्मलाई डिसइन्फेक्ट गर्ने, बाहिरी मान्छे र अन्य चराचुरुङ्गी तथा जनावरलाई जान नदिने किसिमको सतर्कता अपनाउन समेत आग्रह गरेका छन्। उपभोक्ताले पनि न्यूनतम ७० डिग्री तापक्रममा मासु पकाएर खान सक्ने उनको भनाई छ।

मन्त्रालयले स्थानीय निकायहरुसँग पनि समन्वय गरी अनुगमन गरिरहेकोले कसैले मरेका कुखुरालाई काटेर विक्री वितरण गरेको पाइए कारबाही गर्ने समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .