देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेसन सोमबार उद्घाटन हुँदै छ। ढल्केबर सबस्टेसन पूर्व–पश्चिम र भारत–नेपालबीच विद्युत करिब हजार मेगावाट विद्युत् प्रसारण गर्ने क्षमताको स्टेसन उद्घाटन हुन लागेको हो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ।
हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ। यस्तै कुल ४००/२२० केभी क्षमताको सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले ढल्केबर सबस्टेसन हाल सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो भएको बताएका छन्। सबस्टेसन जीआईएस प्रविधियुक्त स्वचालित रहेको छ।
‘पूर्व–पश्चिम र ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन ढल्केबरमा चार्ज हुन्छ’, तिम्सिनाले भने, ‘४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् पनि ढल्केबरमा चार्ज हुन्छ।’
प्राधिकरणले सुख्खायाममा नेपालमा विद्युतको उत्पादन कम भएको अवस्थामा ढल्केबर स्टेसनमार्फत थप १०० मेगावाट विद्युत ल्याउन सहज हुने बताएको छ।
७ सय मेगावाटसम्म भारतबाट आयात गरिँदै आएकोमा आवश्यक परे ८ सय मेगावाटसम्म विद्युत आयात गर्न सकिने भएको हो।
४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत निर्यात गर्न पूर्वाधार तयार भएको प्राधिकरणले बताएको छ।
प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारणलाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिन्छ।
यस्तै ढल्केबर मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त प्राविधिक टोलीबीच सम्पन्न नवौँ बैठकले थप १०० मेगावाट बिजुली नेपाललाई दिनेसम्बन्धी निर्णय गरेको छ।
सो निर्णयपछि उक्त अन्तरदेशीय प्रसारण लाइनबाट नेपालले ४०० मेगावाट बिजुली ल्याउन सकिन्छ।
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइन निर्माणाधीन छ भने खिम्ती–ढल्केबर २२० केभी प्रसारणलाइन १३२ केभीमा मात्रै सञ्चालनमा छ। खिम्ती–ढल्केबरलाई २२० केभी डबल सर्किटमा छिट्टै चार्ज गर्ने गरी काम भइरहेको प्राधिकरणले बताएको छ।
निर्माणको अन्तिम चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केबर पुर्याइने छ ।
सबस्टेसन निर्माणको लागि डिसेम्बर २०१७ भारतको एबीबी इन्डिया लिमिटेडसँग सम्झौता भएको थियो।
Shares

प्रतिक्रिया