कारोबार


‘केटु चढ्दै गर्दा मलाई देशले के दियो हैन, देशलाई के दिएँ भन्ने सोच्यौँ’ (भिडिओ)

‘केटु चढ्दै गर्दा मलाई देशले के दियो हैन, देशलाई के दिएँ भन्ने सोच्यौँ’ (भिडिओ)

वसन्त अर्याल
माघ १३, २०७७ मंगलबार १२:५६,

हिउँदमा केटु हिमाल आरोहण गरी इतिहास रचेको नेपाली टोलीले पाकिस्तानदेखि नेपालसम्म ठूलो सम्मानमात्रै पाएन, विश्वभर वाहवाही कमायो।

१० जना नेपालीहरु निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङमा जी, सोना शेर्पा, मिङमा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पाले गत माघ ३ गते केटुको सफल आरोहण गरेका हुन्।

पाकिस्तानमा रहेको केटु ८ हजार ६११ मिटर उचाइको छ भने सगरमाथापछि संसारकै अग्लो हिमाल हो।

हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाएका नेपाली टोलीलाई पाकिस्तानका राष्ट्रपति आरिफ एल्भीले यही माघ ८ गते सम्मान तथा बधाई ज्ञापन गरेका थिए।

k2 pak

उनले आरोहीहरुले उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै नेपाल तथा पाकिस्तानबीच प्रगाढ सम्बन्ध बनाउने बताउँदै हिउँदको हिमाल आरोहणले पाकिस्तानको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताएका थिए।

आरोही टोली मंगलबार बिहान त्रिभुवन विमानस्थलमा आएको हो। उनीहरुको आगमनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादव कोइरालासहित पर्यटन व्यवसायीले भव्य स्वागत गरे।

नेपाल फर्किएका टोलीलाई विमानस्थलदेखि माइतीघर हुँदै ठमेल परिक्रमा गराइएको थियो। आरोहीको ठमेल परिक्रमापछि प्रधानमन्त्री निवासमा सम्मान तथा बधाई कार्यक्रममा सहभागी भए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले माउन्ट केटुको सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको भन्दै हौस्याए।

आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छेअनुसारको सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले युवाहरुको साहसिक कदमप्रति आगामी दिनमा राज्य बेखबर नहुने बताए।

सुरुमा आआफ्नै किसिमबाट छरिएर आरोहण गरेका १० जनाले नेपालको नाममा संयुक्त इतिहास रच्ने योजनाका साथ अन्तिम चरणमा एउटै समूह बनाएर शिखर आरोहण गरेको निर्मल पुर्जाले बताए।

विश्वलाई शक्तिशाली सन्देश दिन सबै एकैपटक चुचुरोमा टेकेको आरोही पुर्जाको भनाइ छ।

‘समिटको अघि १० मिनेट रोकियौँ। ३५ केजी भारी बोकेर सबै दाजुभाइ एकैपटक हिमाल चढेर विश्वलाई पावरफुल म्यासेज दियौं’, उनले भने, ‘मलाई देशले के दियो हैन मैले देशलाई के दिएँ, त्यो महत्वपूर्ण भन्ने सोच्यौँ।’

k2 pak2

उनले प्रधानमन्त्री ओलीलाई केटु हिमालमा माइनस ६५ डिग्री सेल्सियस तापक्रम रहेकोले धेरै दुःखले आरोहण गरेको सुनाउँदै शब्दमा व्यक्त गर्न नसकिने बताए।

केटु हिमाल जाने आफ्नो कुनै योजना नै नभए पनि विदेशीले केटु चढेर रेकर्ड बनाउने भन्ने सुनेपछि झोला बोकेर पाकिस्तान हिँडेको पुर्जाले बताए।

‘विश्वका १४ हिमालमध्ये ८ वटा हाम्रो घर (नेपाल)मा रहेका छन्। हिमाल आरोहणमा जहिले शेर्पाहरुको ठूलो योगदान भए पनि १३ वटा हिमाल विदेशीहरुले पहिला चढे’, उनले भने, ‘उनीहरुलाई सरकारले सहयोग गर्यो, हामीलाई गरेन। केटु हिमाल आरोहणमा नेपालमा धेरै धनी मानिस भए पनि आफ्नै गोजीको पैसा हालेर गयौँ।’

आरोहीलाई नेपाल पर्यटन बोर्डले छुट्टै कार्यक्रम गरेर सम्मान गरेको छ। पर्यटन बोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मीले केटु हिमाल ६ सय ५० करोड वर्ष पहिले बनेको जानकारी दिएका थिए।

रेग्मीले सन् १९०२ मा केटु हिमाल आरोहणका लागि पहिलोपटक प्रयास गरिएको भन्दै सन् १९५४ मा पहिलोपटक यो हिमालमा मानव पाइला टेकिएको बताए।

हालसम्म २ सय ६० जना आरोहीले केटु हिमाल आरोहणमा सफलता पाइसकेका छन। यहाँ आरोहणको प्रयास गर्ने २९ प्रतिशत आरोहीको निधन समेत भएको थियो।

८ हजार मिटरभन्दा बढी उचाइ भएका संसारका १४ हिमालमध्ये अरु सबै १३ हिमाल हिउँदमा चढिएको भए पनि यो हिमाल भने हिउँदमा कसैले पनि आरोहण गर्न सकेको थिएन।

भिडिओ: 

याे पनि : 

नेपाली आरोहीले कसरी बनाए केटू हिमालमा कीर्तिमान?

केटूमा कीर्तिमान बनाउँदा राष्ट्रिय गान गाउँदै यसरी पुगेका थिए नेपाली आरोही शिखरमा (भिडिओ)

केटूमा कीर्तिमानपछि पाकिस्तानमा पाएको स्वागतबारे नेपाली टोलीनेता निम्सदाइले दिए यस्तो प्रतिक्रिया (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad