सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुस ५ गते प्रतिनिधि सभा विघटन गरी पुनः निर्वाचन गर्ने प्रस्ताव गर्यो। सोहीअनुसार राष्ट्रपतिले निर्णय पनि गरिन्।
उक्त निर्णयपछि देश आन्दोलनमय हुनपुगेको छ। राजनीतिक दलका नेता र कार्यकर्ताहरुले त्यसको विरोधमा आन्दोलन गर्न थालेका छन्।
शुक्रबार त नेकपाको एउटा खेमाले राजधानीमा हजारौँको संख्यामा मानिरहरुलाई उतारेर शक्ति प्रदर्शन नै गर्यो।
यसरी आन्दोलन हुँदा देशलाई बेफाइदा त छँदै छ, सर्वसाधारणलाई समेत सास्ती दिन्छ। तर केही व्यवसायीहरु भने यसले केही फाइदा पनि दिनसक्ने बताउँछन्।
आन्दोलनबाट हुने धेरै बेफाइदाहरुलाई चिर्दै अहिलेको राजनीतिक माहोलले केही फाइदा पनि दिएको उद्योगी व्यवसयाीहरुको दाबी छ।
उद्योगी रामचन्द्र संघई चैतदेखि यता नेपालको अर्थतन्त्र ‘आइस’ भएर बसेकाले केही चलायमान बनाउन राजनीतिक माहोलले सहयोग गरेको बताउँछन्।
‘नेपालको अर्थतन्त्र आयातमुखी रहेकोमा दुईमत छैन। आयातमा कमी भइरहनु, वस्तुको कारोबार कम हुनले नेपालमा वस्तु उपभोगमा कमी आएको सहजै आकलन गर्न सकिन्छ। त्यसकारण अहिले अर्थतन्त्र चलायमान हुन नसकेको संकेत यसले गरिरहेको थियो’, उनले नेपालखबरसँग भने, ‘जसको मतलब मानिसहरु बाहिर निस्केका थिएनन्, अब जनसुकै कारणले होस्, मान्छेहरुलाई बाहिर निस्किन र विभिन्न क्रियाकलापमा सहभागी हुन यस्ता आन्दोलनले केही भूमिका खेलेको छ। यसले वस्तुको उपभोगलाई बढाउँछ।’
अन्य अर्थतन्त्रलाई बढाउन नसके पनि दैनिक उपभोग्य वस्तुको कारोबारलाई अहिलेको आन्दोलनले बढाउने उनको तर्क छ।
अर्का व्यवसायी दिनेश श्रेष्ठको तर्क पनि सोही किसिमको छ। उनले पनि राजनीतिक पार्टीहरुले गाउँ–गाउँबाट कार्यकर्ताहरु उठाएर ल्याइरहेका छन्। पहिलो कुराको यसले कोरोना अब छैन भन्ने माहोल दिएको उनको भनाइ छ।
उनले भने, ‘मान्छे हिँड्डुल गर्न थालेपछि वस्तुको उपभोग हुनु त स्वाभाविक नै हो। साथै राजनीतिक दल, नेताहरुसँग पनि केही पैसा त पक्कै पनि छ, त्यो खर्च भइरहेको छ।’
त्यसले अर्थतन्त्र चलायनमान बनाउन सहयोग गरिरहेको श्रेष्ठले बताए।
‘यसबाट यो फाइदाको कुरा त छँदै छ नै, तर घाटा पनि भइरहेको छ’, उनले भने, ‘आन्दोलनको कारणले गर्दा उद्योगधन्दाहरुलाई असर गर्न चाहन्छ, साथै नीतिगत रुपमा सरकार, राजनीतिक नेतृत्वले निभाउनुपर्ने भूमिकालाई अप्ठ्यारोमा पार्न जान्छ।’
लामो समयदेखि थलिएको अर्थतन्त्र विस्तारै चलायमान भइरहेको अवस्थामा राजनीतिक माहोलले पूर्ण रुपमा मानिसहरु बाहिर निस्किने वातावरण बन्दा अब पुरानै स्थितिमा पुग्ने वातावरण बन्दै गरेको व्यवसायीहरुको निष्कर्ष निस्किएको हो।
राष्ट्र बैंकले पनि पछिल्लो समय उद्योगधन्दाहरु विस्तारै सञ्चालन हुने क्रम बढिरहेको बताएको छ।
कोभिड–१९ संक्रमणका कारण २०७६ चैतदेखि प्रभावित भएको अर्थतन्त्र सुधारोन्मुख हुने संकेत देखिएको बताएको छ। राष्ट्र बैंकले गत हप्ता सार्वजनिक गरेको विवरणले औद्योगिक कच्चा पदार्थ, इन्धन, पुँजीगत वस्तुलगायतको आयात क्रमशः बढ्न थालेको छ।
कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा राष्ट्र बैंकले २०७७ कात्तिक–मंसिरमा सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षणको रिपोर्ट गत हप्ता सार्वजनिक गरेको हो।
रिपोर्टमा भनिएको छ, ‘आर्थिक क्रियाकलापले गति लिन थालेको देखिएको छ। २०७७ जेठ–असारमा गरिएको सर्वेक्षणले ४.१ प्रतिशत उद्योग व्यवसाय मात्र पूर्ण सञ्चालनमा रहेको देखाएकोमा २०७७ कात्तिक–मंसिरमा ५४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण सञ्चालनमा रहेको देखिएको छ।
कोभिड–१९ अगाडिको उद्योग व्यवसायको उत्पादन/कारोबारको तुलनामा २०७७ जेठ–असारमा २९ प्रतिशत मात्र उत्पादन÷कारोबार रहेकोमा २०७७ कात्तिक–मंसिरमा त्यस्तो उत्पादन÷कारोबार ५० प्रतिशत पुगेको रिपोर्टमा उल्लेख छ।
Shares

प्रतिक्रिया