नेपालमा इन्टरनेट सेवा विस्तारै बढ्दै गइरहेको छ।
मोबाइल डाटा खपतमा उच्च वृद्धि भइरहेको बेला कोरोना संक्रमण रोक्न गरिएको लकडाउनका कारण इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको फाइबर, केबल र वायरलेस (ताररहित) माध्यमबाट दिने सेवा पनि विस्तार भएको हो।
नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु पनि वृद्धि हुँदै गइरहेका छन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो रिपोर्ट हेर्ने हो भने मुलुकमा ४० वटा इन्टरनेट सेवा प्रदायकसँग १३ लाखभन्दा धेरै ग्राहक जोडिएका छन्। तर, इन्टरनेट सेवा प्रदान गर्ने भनेर प्राधिकरणमा दर्ता भएका कम्पनीको संख्या भने १२७ पुगिसकेको छ।
यसअनुसार प्रत्येक कम्पनीको ग्राहक संख्या हेर्दा न्यूनतम ३० जनादेखि अधिकतम ४ लाख २२ हजारसम्म रहेको देखिन्छ।
प्राधिकरणको रिपोर्टअनुसार ४० वटा इन्टरनेट सेवा प्रदायकमध्ये सबैभन्दा धेरै ग्राहक वर्ल्डलिंक कम्युनिकेसनका ४ लाख २२ हजारभन्दा २ सय जना छन् भने सबैभन्दा कम ग्राहक शिखर नेटका ३० जना रहेका छन्।

१ लाखभन्दा धेरै ग्राहक भएका कम्पनी पाँच मात्र
इन्टरनेट सेवा प्रदान गरिहेका ४० वटा कम्पनीका प्रत्येक ग्राहक हेर्दा एक लाखभन्दा धेरै ग्राहक भएका कम्पनीको संख्या ५ मात्र रहेको छ।
जसअनुसार सबैभन्दा धेरै ग्राहक भएको वर्ल्डलिंक कम्युनिकेसन ४ लाख २२ हजार १ सय ९९ रहेका छन्। त्यस्तै, सरकारी स्वामित्वको नेपाल टेलिकमका ग्राहक २ लाख ६९ हजार १ सय ९२ रहेको विवरणमा उल्लेख छ।
त्यस्तै, चल्तीका तीन इन्टरनेट सेवा प्रदायकहरु सुविसु, भायनेट र क्लासिक टेकबीच ग्राहक बनाउन तीव्र प्रतिस्पर्धा भएको देखिन्छ।
प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको तथ्यांकअनुसार सुविसु केवलनेटका ग्राहक १ लाख ६८ हजार ८ सय ९०, भायनेटका १ लाख २३ हजार ७ सय १२ र क्लासिकटेकका ग्राहक १ लाख १५ हजार ८ सय ७६ जना रहेका छन्।
१० देखि ५० हजार ग्राहक भएका कम्पनी ५ मात्र
मुलुकभर इन्टरनेट सेवा दिने कम्पनीहरुको संख्या ४० भए पनि राम्रो ग्राहक भएका कम्पनी धेरै कममात्र रहेका छन्। १ लाख ग्राहक संख्या पुर्याएका कम्पनी जम्मा ५ छन् भने अन्य कम्पनीहरुले उनीहरुलाई पछ्याउन सकेको देखिँदैन।
जस्तो कि ठूला पाँच कम्पनीपछि धेरै ग्राहक बनाएको अर्को सेवा प्रदायक हो चितवनको टेकमाइन्ड्स नेटवर्क। यो कम्पनीका ग्राहक ४२ हजार ९ सय ८ जना रहेको तथ्यांकमा उल्लेख छ।
त्यस्तै ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन ३८ हजार ६ सय ४२ र वेबसर्फर नेपाल कम्युनिकेसन २९ हजार ६ सय ७१ ग्राहक छन्।
त्यस्तै १० हजारभन्दा धेरै ग्राहक बनाउन सफल भएका अन्य दुई कम्पनीमा कनेट नेपाल नेटवर्क १८ हजार १ सय १० र एरोनेट ११ हजार २ सय ६ ग्राहक संख्या रहेका छन्।
३० कम्पनीका ग्राहक १० हजारभन्दा कम
इन्टरनेट सेवा प्रदान गर्ने भनेर सुरु भएका ३० वटा कम्पनीले व्यावसायिक रुपमा ग्राहक संख्या विस्तार गर्न सकेको देखिँदैन।
नेपालकै पुरानो कम्पनी मर्कन्टाइल कम्युनिकेसनका ग्राहक २ हजार ७८ जना रहेका छन् भने पछिल्लो समय इन्टरनेट सेवामा हात हालेको प्रभु डिजिटलका ग्राहक ६ हजार ८ सय ६८ जना रहेका छन्।
हिमालयन अनलाइन सर्भिस ६ हजार, नेट म्याक्स टेक्नोलोजी ५ हजार ५ सय, पोखरा इन्टरनेट ३ हजार, इष्टलिंक टेक्नोलोजी ७ हजार ८ सय, बाराही इन्टरनेट टेक्नोलोजी ४ हजार, स्काइ केवल टिभी ५ हजार ६ सय, फष्टलिंक कम्युनिकेसन ५ हजार ८ सय, र्यापिड युनिक नेटवर्क २ हजार १ सय ग्राहक रहेका छन्।
४० कम्पनीमध्ये अहिलेसम्म सबैभन्दा कम ग्राहक संख्या भएको कम्पनी धनगढीको शिखर नेट छ। जसका ग्राहक ३० जना मात्र रहेको तथ्यांकमा उल्लेख छ। शिखर जस्तै सयभन्दा कम ग्राहक रहेका कम्पनी अन्य कम्पनीहरुमा विराटनगरको नेपाल नेट ८३, धनुषाको भीएनएस टेक्नोलोजी ७५, युनिफाइड कम्युनिकेसन ४२ रहेका छन्।
त्यस्तै, एक सयदेखि १ हजार ५ सयसम्म ग्राहक संख्या रहेका कम्पनी १६ वटा छन्।
Shares

प्रतिक्रिया