कारोबार


नबिल बैंकको ऋण लिएर जो बने सफल उद्यमी

नबिल बैंकको ऋण लिएर जो बने सफल उद्यमी

सन्तोष न्यौपाने
पुस २७, २०७७ सोमबार ११:४७,

मुलुकको आर्थिक विकासका निम्ति बैंक तथा वित्तीय संस्थाहरुलाई मेरुदण्ड नै मानिन्छ।

बैंकहरूले राष्ट्रको समग्र अर्थतन्त्र मात्र धानेका हुँदैनन्, उद्यम गर्न चाहनेलाई पुँजी पनि उपलब्ध गराउँछन्। जसको प्रयोगले नव उद्यमीहरूको सफलताको कथा लेखिँदै जान्छ। र, अन्ततः त्यस्तो उद्यमले व्यक्ति, बैंक र देशलाई नै माथि पुर्याउँछ।

नबिल बैंकबाट लिएको ऋणको सहाराले सफल उद्यमी बनेका केही प्रतिनिधिमूलक व्यवसायीसँग हामीले छोटो कुरा गरेका छौँ।

नबिल बैंकबाट बीउ पुँजी (सिडमनी) लिएर सफल व्यवसाय गरेकामध्ये एक हुन् इटहरीका रोयल फर्निचर सञ्चालक शैलेश कुमार विष्ट।

४४ वर्षे विष्ट नबिलबाट १८ वर्षअघि लिएको ३ लाख ऋणलाई सदुपयोग गर्दै आज करोडौँको मालिक भएका छन्।

Nabil ShaileshBista

सुरुमा आँट गरेर नबिलबाट ३ लाख ऋण लिएँ, अहिले ५ करोड पुग्योः शैलेश कुमार विष्ट 
विदेशबाट सिसा आयात गरेर प्रदेश १ क्षेत्रमा सप्लाई गर्नु उनको व्यवसाय हो।

‘मैले आँट गरेर नबिलबाट ३ लाख रुपैयाँ ऋण लिएको थिएँ’, विष्ट सम्झिन्छन्, ‘त्यसैलाई विस्तार गर्दै आज यहाँसम्म आइपुगेको छु।’

एसएलसी दिएपछि १७ वर्षको उमेरमै उनी व्यापारमा लागे। व्यवसाय सुरु गर्दा आफूसँग लगानी थिएन। त्यो बेला सापटी लिने चलन थियो। छिमेकीसँग थोरै पैसा सापटी लिएर २०४८ मा इटहरीमा सानो सिसाको फ्रेमिङ पसल सुरु गरे।

‘त्यो बेला बैंकबाट ऋण लिन सकिन्छ भन्ने थियो’, उनी भन्छन्, ‘तर, ऋण भनेपछि एक किसिमको डर हुन्थ्यो।’

उनलाई त्यो बेला बैंकमा छिर्न आँट आएन। उनले स्थानीय व्यापारीसँग सामान लिने र बेच्ने गर्नथाले। सानो व्यापार चलिरहेको थियो। पसलअगाडि नबिल बैंक थियो। सधैँ आँखा परिरहने। नजिकै भएकाले पनि ब्रान्च म्यानेजरसँग चिनजान भइसकेको थियो।

‘बैंकबाट ऋण लिएर अलि ठूलो व्यापार गर्नुस्’, बैंकका कर्मचारीले उनलाई ऊर्जा थपिरहेका थिए।

कुरा ठीकै जस्तो पनि लाग्यो। त्यसपछि ऋण लिएर भए पनि व्यापार बढाउने निष्कर्षमा पुगेको उनी बताउँछन्। उनी नबिल बैंकमा छिरे। ३ लाख रुपैयाँ ऋण लिए।

‘३ लाख अलि धेरै भयो कि भन्ने लागिरहेको थियो’, उनी भन्छन्, ‘ऋण लिएपछि बोझ भएजस्तो अनुभव भयो।’

त्यो पैसालाई प्रयोग गरेर काठमाडौंबाट सामान झिकाउन थाले। व्यापार पनि बढ्न थाल्यो। केही समयपछि नबिलमा अर्को ब्रान्च म्यानेजर आए।

‘शैलेशजी! कहाँ ३ लाखले हुन्छ? ऋण बढाएर अझ राम्रो व्यवसाय गर्नुस्’, ती म्यानेजरले भने।

ऋण पाँच लाख पुग्यो। व्यापार पनि बढ्दै थियो। लगानी थपेपछि व्यवसाय बढ्दै जाँदो रहेछ भन्ने आत्मविश्वास बढ्दै गयो।

व्यवसायमा रस बस्दै गएपछि ऋणलाई २५ लाख पु¥याए। आजसम्म आइपुग्दा नबिलमा उनको ऋण ५ करोडबाट माथि लागिसकेको छ। ऋणमात्र बढेको होइन, उनको व्यवसायको दायरा पनि फराकिलो भइरहेको छ।

अहिले उनले भारत, चीन, पाकिस्तान, बंगलादेशबाट सिसा आयात गर्छन्। त्यसमा लाग्ने हार्डवेयर सामान भारत र चीनबाट ल्याउँछन्। प्रदेश १ भरि उनको व्यवसाय विस्तार भइसकेको छ।

‘सुरुमा त्यो ऋणलाई मैले बोझको रुपमा लिएको थिएँ’, उनी भन्छन्, ‘त्यसलाई सतर्कतापूर्वक सही ठाउँमा प्रयोग गर्दा राम्रो हुँदै गयो।’

व्यापारमा भएको नाफालाई अन्य ठाउँमा प्रयोग गरे। जग्गाजमिनमा पनि लगानी गरे।

‘मैले बैंकबाट ऋण लिने आँट नगरेको भए, त्यही सानै पसलमा हुन्थेँ होला’, अहिले उनी आफैंलाई मूल्याङ्कन गर्छन, ‘बैंकले सहयोग गर्दै गयो, मैले त्यसलाई सही ठाउँमा प्रयोग गर्दै आएँ र यहाँसम्म आइपुगेँ।’

Nabil ArbindaShah Fotor

नयाँ शाखा आउँदा ब्याज सस्तो हुन्छ : अर्भिन्द कुमार शाह
५० वर्षदेखि व्यवसाय गर्दै आएका जनकपुरका अर्भिन्द कुमार शाहले पनि नबिलबाट लिएको ऋणलाई व्यापार विस्तार गर्न प्रयोग गरे।

५० वर्षदेखि उनी नेपाल एग्रो सेन्टरबाट कृषि कीटनाशक औषधि र बीउ आयात गर्छन्।

पहिला अन्य बैंकबाट ऋण लिएर व्यापार गरिरहेका थिए। जब नबिलको शाखा उनकै सहरमा पुग्यो त्यसपछि नबिलतिर तानिए।

‘नयाँ शाखा आउँदा ब्याज अलि सस्तो हुन्छ’, उनी भन्छन्, ‘नयाँ ग्राहक पनि तान्न खोज्छन्।’

उनले त्यही मौका प्रयोग गरे। झन्डै ८ वर्षअघि जनकपुरमा नबिलको शाखा विस्तार भएपछि उनले त्यहाँबाट ९० लाख रुपैयाँ ऋण लिए।

‘पहिलो कुरा मेरो प्रतिष्ठानअगाडि नै नबिलको शाखा थियो’, उनी भन्छन्, ‘अर्को कुरा नेपालको ठूलो बैंक पनि हो।’

यस हिसाबले पनि यो बैंक प्रयोग गर्दा राम्रो हुन्छ भन्ने उनलाई लाग्यो।

Nabil NimaSherpa

बैंकको ऋण भनेको ब्याकअप हो : निमा शेर्पा
शाहजस्तै आफ्नो व्यवसायमा ऋण थप गरेर व्यवसायको दायरा बढाउने अर्को व्यवसायी हुन् काठमाडौंमा हिमालय रग उद्योगका सञ्चालक निमा शेर्पा।

तीन दशकदेखि उनले गलैँचा उत्पादन र निर्यातको काम गरिरहेका छन्। अन्य बैंकबाट पनि ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका शेर्पाले २० वर्षअघि नबिलबाट २५ लाख ऋण लिएका थिए।

‘मेरो चलिरहेको व्यवसाय विस्तार गर्न ऋण लिएको थिएँ’, शेर्पा भन्छन्, ‘त्यस ऋणबाट कच्चा पदार्थ खरिद गरेँ।’

कहिले गलैँचा उत्पादन गरेर स्टकमा धेरै लामो समयसम्म रहिरहन्छ। त्यस्तो बेला नयाँ उत्पादनको लागि ऋण आवश्यक हुने उनी बताउँछन्। अहिले कोभिडका कारण उत्पादन भएको गलैँचा बाहिर जानसकेको छैन। झन्डै ३ करोड रुपैयाँबराबरको तयारी गलैँचा स्टकमा रहेको उनले बताए।

‘बैंकको ऋण भनेको ब्याकअप हो’, उनी भन्छन्, ‘त्यसमा थप गरेर आफ्नो व्यवसाय चलाउनुपर्ने हुन्छ।’

सुरुमा उनले नबिलबाट २५ लाख ऋण लिएका थिए। त्यसपछि ५० लाख पु¥याउँदै अहिले नबिलमा ३ करोड पुगेको उनी बताउँछन्। वार्षिक ४–५ करोडको कारोबार गर्ने शेर्पा राज्यको साथ सहयोग नहुँदा ऋणले धेरै सहयोग हुने बताउँछन्।

‘नेपालमा काम गर्न गाह्रो छ। नेपाल सरकारको केही पनि सहयोग छैन’, उनी भन्छन्, ‘आफ्नै बलबुताले गर्नुपरेको छ।’

Nabil ShivjiShah

ऋण ४ करोडबाट १४ करोड पुग्यो, व्यवसाय विस्तार हुँदैछ : शिवजी प्रसाद शाह 
२०४५ सालदेखि नै व्यवसायमा हात हालेका बाराका शिवजी प्रसाद शाह अहिले भैरहवामा स्थापित व्यवसायी हुन्। उनले शिवजी सब्जी भण्डारमार्फत भारत, चीन, बंगलादेशबाट आलु र प्याज खरिद गरेर स्थानीय बजारमा वितरण गर्छन्। 

व्यवसाय गर्ने सिलसिलामा उनले २०६८ सालमा नबिलबाट ४ करोड ऋण लिएका थिए। त्यसले गोदाम घर बनाए। अहिले ऋण थपिएर झण्डै १४ करोड पुगिसकेको छ।

बैंकको ऋणबाट आफूलाई आवश्यक परेको ठाउँमा प्रयोग गर्न सकिने उनको भनाइ छ। ऋणबाट व्यापार विस्तार गर्नसकेको उनको भनाइ छ।

Nabil BishnuSigdel

जसले डेढ कराेड ऋण लिएर पाइप उद्याेग स्थापना गरे
धनगढीका विष्णुप्रसाद सिग्देलले एक वर्षअघि नबिलबाट १ करोड ५० लाख ऋण लिएर पाइप उद्योग स्थापना गरे।

गत वर्ष कात्तिक महिनाबाट व्यवसाय सुरु गरेका सिग्देललाई भने कोरोना संकटले मारमा पार्यो।

‘भर्खर सुरु भएको व्यवसाय राम्रो भइरहेको थियो’, सिग्देल भन्छन्, ‘कोरोनाले असर गरेको छ तर निरन्तर लागिरहेको छु।’

१२ जना कर्मचारी राखेर सुरु गरेको व्यवसाय बीचमा बन्द हुँदा तलब दिन नसक्ने स्थिति बन्यो। केही कर्मचारी कटौती समेत गरे। अहिले पुनः एक/डेढ महिनादेखि उद्योग सुचारु गरेका छन्।

उनलाई नबिल बैंकको सेवा चित्त बुझेको छ।

‘नबिलमा छिटोछरितो काम हुन्छ’, उनी भन्छन्, ‘काम गर्ने शैली मन पर्छ। हुन्छ भने हुन्छ, हुन्न भने हुन्न। स्पष्ट भनिहाल्छन्।’

उनलाई राम्रो लागेको अर्को पक्ष भनेको ऋणीले के गरिरहेको छ, व्यवसाय कस्तो गरिहरेको छ, प्रगति भएको छ कि अवनति भन्ने ख्याल बैंकले गरिरहन्छ।

‘यहाँबाट ऋण लिएको मान्छे हत्तपत्त बिग्रिँदैन जस्तो लाग्छ’, उनी भन्छन्, ‘यसले गर्दा ऋण लिने र बैंक दुवै सुरक्षित रहनसक्छन्।’

सिग्देलले २०५० सालदेखि सेती रबर उद्योग सञ्चालन गर्दै आएका थिए, जहाँबाट हवाइ चप्पल उत्पादन हुन्थ्यो। २०६२/२०६३ पछि बाहिरबाट चोरीको चप्पल धेरै आए। त्यसपछि व्यवसाय टिकाउन गाह्रो परेको उनको भनाइ छ। व्यवसाय बीचैमा बन्द भयो।

अहिले फेरि पाइप उद्योग सुरु गरेका छन्। लगानी गर्न र व्यवसायको लागि यो उपयुक्त समय भएको उनी ठान्छन्।

‘लगानी गर्नको लागि यत्तिको उपयुक्त समय कहिले पनि आउँदैन’, उनी भन्छन्, ‘बैंकले ८–९ प्रतिशत ब्याजमा कहिले पनि ऋण दिएका थिएनन्।’

अहिलेको समयलाई लगानीको हिसाबले सदुपयोग गर्नुपर्ने सिग्देलको सुझाव छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad