कारोबार


कपिलवस्तुका दुई उद्योगविरुद्ध अदालतमा मुद्दा दायर

कपिलवस्तुका दुई उद्योगविरुद्ध अदालतमा मुद्दा दायर

प्रकाश न्यौपाने
पुस १९, २०७७ आइतबार १४:४१,

कपिलवस्तुको एउटा पानी र अर्को चाउचाउ उद्योगविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

प्रशोधित पिउने पानीमा कोलिफर्मको मात्रा भेट्टिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, रुपन्देहीले कपिलवस्तुको शिवराज नगरपालिका–५ मा रहेको युनिभर्सल ड्रिकिङ वाटर इण्डष्ट्रिजविरुद्ध आइतबार अदालतमा मुद्दा दायर गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विमलकुमार दाहालले जानकारी दिए। उक्त उद्योगले ग्यालेक्सी ब्राण्डको मिनरल वाटर उत्पादन गर्दै आएको थियो।

खाद्यले उद्योग र उद्योगका सञ्चालक विष्णुबहादुर हमाललाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको दाहालले जनाए। यस्तै, कपिलवस्तु–१३ मा रहेको क्यापिटल फूड प्रालिविरुद्ध पनि मुद्दा दर्ता भएको छ। प्रशोधित पानीमा कूल कोलिफर्म गणना प्रति एक सय एमएलमा शून्य हुनु पर्नेमा ११८ पाइएको थियो।

‘खाद्य ऐनअनुसार प्रति सय एमएलमा कोलिमर्फको मात्रा शून्य हुनुपर्छ। तर, उक्त प्रशोधित पानीमा धेरै पाइयो र कारबाहीका लागि अदालतमा मुद्दा दर्ता गरेका हौं’, दाहालले भने।

उक्त उद्योगबाट प्रशोधित पानीमा मिसावट भएको गुनासो आएपछि खाद्य निरीक्ष श्रवणकुमार ढुंगाना नेतृत्वको टोलीले २०७६ भदौमा उद्योगबाट उत्पादित पानीको नमूना लिएर जाँच गरेको थियो।

खाद्यले क्यापिटल फूडद्वारा उत्पादित ओके ब्राण्डको चाउचाउको काभ्रेबाट नमूना संकलन गरी जाँच गर्दा पानीको मात्रा ६.५ पाइएको थियो। चाउचाउमा ५ प्रतिशत भन्दा माथि पानीको मात्रा हुन हुँदैन। उक्त ब्राण्डको चाउचाउमा पेरोक्साइड भ्यालु १० हुनु पर्नेमा १५.२ समेत भएकाले कारबाहीका लागि मुद्दा दायर गरिएको दाहालले जनाए।

क्यापिटलकै अर्को उत्पादन जिनी ब्राण्डमासमेत एसिडमा नघुल्ने भस्म १ हुनुपर्नेमा १.१ पाइएको छ । उक्त ब्राण्डको चाउचाउको मोरङबाट नमूना संकलन गरी खाद्यले परीक्षण गरेको थियो। यो उद्योगविरुद्ध मंसीर २८ गते कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।

खाद्य ऐन २०२३ को दफा (३) उल्लंघन गरी दुषित खाद्यपदार्थको उत्पादन गरी विक्री वितरण गरेकाले दुवै उद्योगविरुद्ध खाद्य ऐन २०२३ दफा ५ (१) बमोजिम कारबाहीको माग गरिएको छ। उक्त ऐनमा रु ५० हजार जरिवाना वा ५ वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad