कारोबार


बंगलादेशबाट पुसको अन्तिम साता मल आइपुग्ने

बंगलादेशबाट पुसको अन्तिम साता मल आइपुग्ने

नेपालखबर
पुस १२, २०७७ आइतबार १०:१५,

बंगलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ।

यही पुस २ गते सरकार–सरकारबीच (जीटूजी)मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो।

मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतितपत्र) खोल्ने काम शुरु भएको जनाएको छ। मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रबार सिदार्थ बैंकमा एलसी खोल्न पत्र पठाएको जनाएको छ।

नेपालमा एलसी खोलेको जानकारी गराएपछि बंगलादेशको कम्पनीले एलसी खोलेर मल खरिदको तयारी गर्ने जानकारी आएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार दुवै देशले एलसी खोलेको १५ दिनभित्रमा मल खरिद शुरु हुनेछ।

‘बंगलादेशमा गएर सम्झौता गरेपछि मल आउने ढुक्क भएको छ, हामी जतिसक्दो छिटो खरिद गर्ने तयारीमा छौँ, पुस अन्तिमसाता पहिलो लटको मल नेपाल आइपुग्छ’, उनले भने।

प्रति मेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको भण्डारीले जानकारी दिए। उनका अनुसार बंगलादेशसँग प्रति मेट्रिक टन १८ डलर कममा सम्झौता भएको छ।

जीटूजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो।

मन्त्रालयको निर्देशनअुनसार कृषि सामग्री कम्पनीले मल खरिदको तयारी गरेको थियो। तयारी स्वरुप यही पुस २ गते जीटुजी प्रक्रियामार्फत मल खरिदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो।

कृषि सामग्री कम्पनीले यसअघि नै मल ढुवानीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को जेन्ट्रेड एफजेडएफसँग सम्झौता गरिसकेको छ। उक्त कम्पनीले रेलमार्गबाट वीरगञ्ज, विराटनगर र भैरहवामा मल ल्याउनेछ।

बंगलादेशबाट मल आएपछि आगामी दिनमा मलको अभाव नहुने कम्पनीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad