कारोबार


पोखराका होटलमा आन्तरिक पर्यटकलाई ५० प्रतिशत छुट

पोखराका होटलमा आन्तरिक पर्यटकलाई ५० प्रतिशत छुट

नेपालखबर
पुस ७, २०७७ मंगलबार १२:२५,

पर्यटकीय नगरीमा विस्तारै पर्यटकीय गतिविधिलाई जोड दिन थालिएको छ।

कोभिड–१९ का कारण गत चैतदेखि सुस्ताएको पर्यटनलाई गति दिन पोखराका पर्यटकस्तरीय होटलले ५० प्रतिशत छुट दिने निर्णयसहित आन्तरिक पर्यटकलाई निम्तो दिएका हुन्।

रेस्टुराँ एन्ड बार एशोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी वर्षको अवसरमा गर्दै आएको सडक महोत्सवलाई समेत लक्षित गरेर पश्चिमाञ्चल होटल संघले ५० प्रतिशत छुटको व्यवस्था गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।

‘पर्यटकीय मौसममा अहिले करोडौँका लगानी भएका होटल खाली छन् अब कोभिड–१९ सँगसँगै विकल्पको खोजी जरुरी छ। हामीले आन्तरिक पर्यटकलाई लक्षित गरेर अहिले ५० प्रतिशत छुटको व्यवस्था गरेका छौँ।’

अध्यक्ष तुलाचनले स्वास्थ्य मापदण्ड पूरा गरेर होटल खोलिएको पनि जानकारी दिए। उनले हानले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘जाऊँ है पोखरा’ कार्यक्रममार्फत पूर्वी नेपालको वीरगञ्ज विराटनगर र जनकपुरमा पुगेर सो ठाउँका पर्यटन व्यवसायी, सरोकारवाला एवं सञ्चारकर्मीसँग अन्तक्र्रिया गरेको जानकारी दिए।

तुलाचनले भने, ‘अहिलेको एकमात्र विकल्प भनेको आन्तरिक पर्यटन प्रवद्र्धन नै हो, उहाँहरु पनि सहकार्य र समन्वय गरेर अघि बढ्न तयार हुनुुहुन्छ।’ आन्तरिक पर्यटनका लागि पनि सिमरा, जनकपुर र विराटनगरलाई हवाई सेवामार्फत जोड्नसके आन्तरिक पर्यटकको गतिविधि बढ्ने उनको विश्वास छ।

तुलाचनका अनुसार पोखरामा ७०० पर्यटकस्तरका होटल छन् भने ४०० संघमा आबद्ध छन्। होटलमा एक रातको रु एक हजार ५०० देखि २० हजारसम्मका कोठा रहेका छन्। होटल क्षेत्रमा रु एक खर्ब २५ अर्बको लगानी रहेको छ भने प्रत्यक्ष १५ हजार रोजगार र अप्रत्यक्ष तीन हजारभन्दा बढीले रोजगार पाएका छन्।

कोभिड–१९ को कारण पर्यटन व्यवसायबाट केही पुराना व्यवसायी विस्थापित हुँदै सो ठाउँमा पुनः नयाँ व्यवसायीको पनि आगमन हुन थालेको उनले बताए। पर्यटनलाई चलायमान बनाउन यहाँस्थित अन्य पर्यटन व्यवसायी संस्थाले समेत अन्तर जिल्ला भ्रमण गरेका छन्। पर्यटन चलायमानका लागि सहकार्य खोज्दै नेपाल एशोसिएशन टुर एन्ड ट्राभल्स एजेन्ड (नाट्टा) तनहुँ, गोरखा र नेपाल पर्यटक यातायात व्यवसायी (एनटीभीए) ले हालै पाल्पा, नवलपरासी, तनहुँका विभिन्न धार्मिक र ती क्षेत्रका पर्यटन व्यसायी तथा सरोकारवालासँग अन्तक्र्रिया गरेर फर्किसकेका छन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले व्यवसायी स्वयं जुर्मुराएर अघि बढ्न खोजेको अवस्थामा राज्यले थप सहजीकरण गरेर व्यवसायीलाई राहत दिनुपर्ने बताए।

‘अहिले सुस्ताएको पर्यटनलाई गति दिन पर्यटन व्यवसायीले विभिन्न सहुलियत प्याकेज अघि सारेका छन् अब राज्यले थप सहजीकरण गरिदिनुपर्छ’, परिषद्का अध्यक्ष भट्टराईले भने, ‘अहिले बैंकले दिने पुनर्कर्जा केही व्यवसायीले पाए पनि झञ्झटिलो प्रक्रियाले धेरै व्यवसायीले पुनर्कर्जा लिनबाट वञ्चित छन्, यसको लागि व्यवस्थित र सरलीकरण गर्नसके व्यवसाय पुनः सञ्चालनमा व्यवसायीलाई सहज हुने थियो।’

राज्यले व्यवसाय सञ्चालन कोषमा छुट्टाएको रु ५० अर्ब रकमलाई अबिलम्व कार्यान्वयन गरेर व्यवसायीलाई जीवन्त राख्न पहल गर्नुपर्ने उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad