ad ad

कारोबार


नेपाल बैंकसहित नौ बैंकले लाप्चेखोला जलविद्युतमा साढे १९ अर्ब लगानी गर्ने

नेपाल बैंकसहित नौ बैंकले लाप्चेखोला जलविद्युतमा साढे १९ अर्ब लगानी गर्ने

नेपालखबर
पुस ७, २०७७ मंगलबार ८:२९,

नेपालमा निजीक्षेत्रको लगानीबाट निर्माणकार्य सुरु हुन लागेको देशकै ठूलो जलविद्युत आयोजना १६० मेगावाटको लाप्चे खोला जलविद्युत् आयोजनाको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटेको छ।

प्रतिष्ठित व्यापारिक घराना एमभी दुगड ग्रुपको मुख्य लगानी रहेको श्री नाशा हाइड्रोपावर प्रालिले प्रवद्र्धन गर्न लागेको उक्त जलविद्युत् आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुनलागेको हो।

२६ अर्ब २० करोड लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाइमा विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा बनेको सहवित्तीयकरणद्वारा १९ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी लगानी गर्नेसम्बन्धी सप्लिमेन्टरी सिन्डिकेटेड क्रेडिट फेसिलिटिज अग्रिमेन्ट (एसएससीएफए) सम्झौता ऋणीका तर्फबाट नाशा हाइड्रोपावर प्रालिका अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरुका तर्फबाट मिति २०७६ पौष ६ गते सोमबार बसेको सहभागी बैंक तथा वित्तीय संस्थाहरुसंगको सहवित्तीयकरण बैठकमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एक आपसमा आदानप्रदान गरेका छन्।

उक्त अवसरमा सहभागी सम्पूण बैंक तथा वित्तीय संस्थाका अध्यक्ष÷प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।

उक्त आयोजनामा नेपाल बैंकले ५ अर्ब, नेपाल इन्भेष्टमेण्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषले २ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब, हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब, बैंक अफ काठमाण्डूले १ अर्ब तथा कृषि विकास बैंकले १ अर्ब गरी जम्मा १९ अर्ब ६५ करोड २५ लाखको वित्तीय प्रबन्ध गरेका छन्।

उक्त कार्यक्रममा कर्मचारी सञ्चय कोषका प्रशासक तथा हिमालयन बैंकका अध्यक्ष तुलसी गौतमले यो निजी क्षेत्रद्वारा राष्ट्रनिर्माणका लागी गरिएको ठूलो आयोजना भएको र यस आयोजनाको सफलतासँगै अझ ठूला आयोजनामा लगानी गर्ने हिम्मत नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई हुने विचार व्यक्त गरे।

नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारीले नेपाली बैंकहरु त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राविधिक, जोखिम लगायतका विभिन्न पक्षहरुको समग्र विश्लेषण गरी उचित निष्कर्षमा पुगेको तथा बैंकहरुमा तरलता सहज भएको वर्तमान अवस्थामा यस आयोजनमा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सही उपयोग हुने विचार व्यक्त गरे।

उनले मोतिलाल दुगड आफैँ बैंकका अध्यक्ष रहेको हुँदा बैंक कर्जाको सही सदुपयोग हुने तथा उक्त घराना नेपालको प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना रहेको र यसअघि लिखु खोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेकोे हुँदा उनीहरुको कार्यको जाँच भइसकेकोले यो आयोजना पनि तोकिएको समय तथा लागतमा पूर्ण हुने बताए।

सम्झौता कार्यक्रममा डेभलपर नाशा हाइड्रोपावर प्रालिका अध्यक्ष दुगडले नेपालकै हालसम्मकै ठूलो वित्तीय लगानी रहेको यस आयोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य बैंकहरुले तीव्रताका साथ गरेको कार्यको सह्राहना गर्दै सरकारी बैंकको अग्रसरता र छोटो समयमा छिटो कार्य भएको अनुभव गर्दा सरकारी बैंकहरुमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको विचार व्यक्त गरे। उनले २०७९ साउनसम्ममा उक्त आयोजनाबाट व्यापारिक उत्पादन सुुरु गरिने जानकारी समेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .