सरकारले प्रतिनिधि सभा विघटन गरेपछि सेयर बजारमा उच्च गिरावट आएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि पठाएको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि सेयर बजारमा उच्च गिरावट आएको हो।
आइतबार बजार खुलेदेखि नै परिसूचकमा ठूलो उतारचढाव देखियो। राजनैतिक अस्थिरता आउने डरले लगानीकर्ताको मनोबल खस्किदा नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ।
कारोबार सुरु भएदेखि नै घटिरहेको बजारमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेको समाचार आएसँगै अन्तिम २५ मिनेटमा थप ४३ अंकको गिरावट देखियो।
समग्रमा नेप्से ४ दशमलव ७७ प्रतिशत अर्थात ९६ दशमलव ८८ अंकले घटेर १ हजार ९ सय ३५ दशमलव ६३ अंकमा बन्द भएको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव २५ प्रतिशत अर्थात २६ दशमलव ३९ अंकले घटेर ३ सय ६९ दशमलव ५५ अंकमा झरेको छ।
दिनभर १ सय ९८ कम्पनीको ९ अर्ब ४ करोड ७९ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ४५ लाख ९ हजार ५ सय ३३ कित्ता शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका सबै समूहका सूचकहरु घटेका छन् । कारोबारमा आएका समूहमध्ये सबैभन्दा धेरै अन्य समूह ८ दशमलव ३९ प्रतिशतले घटेको छ । यस्तै जलविद्युत समूह ६ दशमलव ६८ प्रतिशत, निर्जीवन बीमा समूह ५ दशमलव ४८ प्रतिशत, जीवन बीमा समूह ५ दशमलव ०५ प्रतिशत, व्यापार समूह ४ दशमलव २८ प्रतिशत, विकास बैंक समूह ३ दशमलव ६९ प्रतिशत, बैंकिङ समूह २ दशमलव ९७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ९२ प्रतिशत, होटल समूह २ दशमलव ६३ प्रतिशत, फाइनान्स समूह २ दशमलव ३५ प्रतिशत र म्युचुअल फण्ड समूहका शुन्य दशमलव ९९ प्रतिशतले घटेको छ।
नेप्से परिसूचकमा भारी गिरावट आए पनि १४ वटा कम्पनीका सेयरधनीले भने कमाएका छन्। युनाइटेड इदी–मर्दी आरबी जलविद्युतका सेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन्। सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।
यस बाहेक विभिन्न १२ कम्पनीका सेयरधनीले ९ प्रतिशतभन्दा बढी गुमाएका छन्। जसमध्ये नेरुडे लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, छ्याङ्दी जलविद्युत, अपर तामाकोशि जलविद्युत कम्पनी लगायतका कम्पनीका सेयरधनी रहेका छन्। यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै १ अर्ब ६ करोड ८४ लाख ६३ लाख रुपैयाँ बराबरको भएको छ ।
Shares

प्रतिक्रिया