श्रीराम सुगर मिलले उखु किसानको ३० करोड बक्यौता तिर्ने प्रक्रिया अघि बढाएको छ।
कम्पनीले आफ्नो ३० करोड रुपैयाँ बक्यौता रहेको र उक्त रकम आइतबारसम्म किसानको बैंक खातामा पुर्याउने गरी प्रक्रिया अघि बढाएको जानकारी दिएको हो।
आज उनीहरुले ३० करोड रुपैयाँ भुक्तानीको लागि तयार भएको भन्दै छलफलमा आएको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले जानकारी दिए।
उनले भने, ‘अब आइतबारसम्म रौतहटका उखु किसानले सबै भुक्तानी पाउँछन् होला, अन्य किसानको पनि भुक्तानी मिलाउने प्रयासमा सरकार छ। म आफू पनि उद्योग क्षेत्रको मान्छे र सरकारमा पनि रहेकोले किसान र उद्योगीको समस्या सुल्झाउन धेरै लागिपरेको छु।’
अहिले सर्लाहीका उखु किसानहरु राजधानीमा आएर बक्यौता पाउन आन्दोलन गरिरहेका छन्।
सोही कारण पनि उखु किसानको भुक्तानीको विषय यतिबेला राष्ट्रियकरण भएको छ। उखुको भुक्तानी मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय र कृषि मन्त्रालयले समेत समन्यव गरिरहेका छन्।
गृह मन्त्रालयले नवलपरासी, सर्लाही र रौतहटका जिल्ला प्रशासन कार्यालयहरुलाई उद्योगीलाई पका्रउ गरी भुक्तानी दिलाइदिन निर्देशन दिएपछि उद्योगीहरु भुक्तानी तिर्न तातेका हुन्।
जिल्ला प्रशासन कार्यालयहरुले सोही निर्देशनसँगै उद्योगीलाई पक्राउ पुर्जी समेत जारी गर्नथालेका छन्।
रौतहटका किसानहरुले जिल्ला प्रशासनमा उजुरी समेत दिएका थिए। सो उजुरी र गृहको निर्देशनअनुसार श्रीराम सुगर मिल (रौतहट)का हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र श्रीराम सुगर मिलका कार्यकारी उपाध्यक्ष पद्मकान्त झालाई पक्राउ गर्न पुर्जी जारी भएको थियो।

प्रतिक्रिया