कारोबार


काम गर्ने समयमा सुस्तायो निर्माण क्षेत्र, उत्साहित छैनन् निर्माण सामग्री व्यवसायी

काम गर्ने समयमा सुस्तायो निर्माण क्षेत्र, उत्साहित छैनन् निर्माण सामग्री व्यवसायी

सन्तोष न्यौपाने
मंसिर २४, २०७७ बुधबार १३:१४,

कोरोना संकटले रोजगारी गुमेको, आयआर्जन घटेको अवस्थामा मुलुकको आर्थिक अवस्था सुधार गर्न सरकारले विशेष ध्यान दिनुपर्ने निर्माण क्षेत्र सुस्त देखिएको छ।

चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएकोे ६ महिना भइसकेको छ। धमाधम काम हुनुपर्ने समय भए पनि निर्माण क्षेत्रमा कुनै उत्साह नदेखिएको हो।

विज्ञ र निजी क्षेत्रले कोरोना संकटबाट पार लगाउन निर्माण क्षेत्रलाई ‘फोकस’ गर्नुपर्ने सुझाव नदिएका होइनन् तर यसप्रति सरकार समेत गम्भीर हुनसकेको छैन।

निर्माण क्षेत्रमा धेरै प्रयोग हुने सिमेन्ट, फलाम डन्डी, इँट्टाजस्ता सामग्रीको माग बढ्न सकेको छैन। सरकारले तदारुकता देखाउन नसक्दा निर्माणाधीन विभिन्न आयोजनाहरु प्रभावित भएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह निर्माण क्षेत्रले गति लिन नसकेको बताउँछन्।

‘मंसिरदेखि जेठसम्म काम द्रुतरुपमा हुनुपर्ने हो’, सिंहले भने, ‘अहिले विभिन्न कारणले आयोजनाहरु प्रभावित भएका छन्।’

यो बेला टेन्डर प्रक्रिया सकेर कार्यान्वयनमा जानुपर्ने हो तर त्यसो हुन नसकेको उनको भनाइ छ।

निर्माण व्यवसायीहरु कोरोनाले प्रभावित आयोजनाको म्याद थप नहुनुलाई निर्माण क्षेत्र सुस्ताउनुको कारण मान्छन्।

मन्त्रिपरिषद्ले असार २९ गते कोरोनाबाट प्रभावित आयोजनाको ६ महिना म्याद थपको निर्णय गरे पनि प्राविधिक त्रुटिका कारण त्यो कार्यान्वयन हुन नसकेको अध्यक्ष सिंहले बताए।

मन्त्रिपरिषद्ले कोभिड प्रभावित आयोजनालाई थप ६ महिनाको म्याद थप गर्ने निर्णय गरेको थियो।

हाल कोभिडको प्रोटोकल नभएको कारण आयोजनाहरुको भुक्तानी हुनसकेको छैन। यसले कामको व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ। यसबाहेक ५ प्रतिशत धरौटीको बैंक ग्यारेन्टी फुकुवा गर्ने माग गरे पनि त्यो हुन नसकेको उनले बताए।

पछिल्लो समय डन्डी, गिट्टी र बालुवाको मूल्यवृद्धि भएको छ। २२ हजारको एक ट्रक गिट्टी ३५ हजार पुगेको छ भने ५७ देखि ६२ रुपैयाँसम्मको डन्डी २८ देखि ८५ रुपैयाँ प्रतिकिलो महंगिएको छ।

गृहमन्त्रीको निर्देशनमा खानीजन्य र नदीजन्य सामग्री गिट्टी, बालुवा, ढुंगाको उत्खनन, बिक्रीवितरण, ओसारपसार रोकिँदा काम प्रभावित भएको छ।

निर्माण सामग्रीको माग बढ्न सकेन
नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसार पोख्रेलले सिमेन्टको खपत ३० प्रतिशतको हाराहारीमा भइरहेको बताए। ‘माग जति बढ्नुपर्ने हो त्यति बढेको छैन’, पोख्रेलले भने, ‘गत वर्ष यो बेला उत्पादनको ६० प्रतिशतभन्दा धेरै सिमेन्टको खपत हुन्थ्यो।’

त्यसो त निर्माण क्षेत्रमा कोरोनाको असर पनि देखिएको छ। लकडाउन र निषेधाज्ञाले कतिपय बनिरहेका आयोजनाको काम ठप्प हुनपुगे। यसले निर्माणसम्पन्न हुने अवधि पछि धकेलियो। त्यतिमात्र होइन, लकडाउनका बेला काम नभएपछि निर्माण सामग्रीको खपत कम भयो। पछिल्ला केही दिनमा यस्तो माग १० प्रतिशतको हाराहारीमा वृद्धि भएको पोख्रेलले बताए।

तर समस्या कोभिड मात्र नभएर समयमा बजेट निकासा र टेन्डर प्रक्रिया नहुँदा पनि निर्माण क्षेत्रमा समस्या उत्पन्न भएको व्यवसायीको भनाइ छ। कतै बजेटको अभाव र कतै भर्खर काम सुरु भएको पोख्रेलले बताए। रकम भुक्तानी नहुँदा हुने काम पनि रोकिएको अवस्था छ।

अर्कोतिर बाहिरबाट आउने कच्चा पदार्थ र प्राविधिकहरु पनि समयमा आउनसकेका छैनन्। कोरोना भाइरस संक्रमण भएर आफ्नो घर फर्केका कामदारहरु फर्किने क्रममा छन्। घर गएका प्राविधिकहरु पनि फर्किसकेका छैनन्।

सामान्यतया छठ पर्व सकिएको एक हप्तापछि निर्माण क्षेत्र जुर्मुराउने गरेको छ। तर यो वर्ष त्यस्तो देखिँदैन। सोही कारण निर्माण व्यवसायी त्यति आशावादी छैनन्।

‘माघको अन्तबाट केही काम होला कि भन्ने आशा छ’, पोख्रेलले भने, ‘अहिले खासै उत्साहित हुने अवस्था छैन।’

त्यो पनि कोरोना संक्रमणले कस्तो मोड लिन्छ त्यसमा निर्माण क्षेत्र भर पर्ने उनले बताए। अन्य मुलुकमा जस्तो कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भयो भने निराशाजनक अवस्था हुने निर्माण सामग्री उत्पादकहरुको भनाइ छ।

अहिले पनि सिमेन्ट उद्योगहरु आफ्नो क्षमताको ३५ प्रतिशतभन्दा माथि चल्न सकेका छैनन्।

निर्माण सामग्रीमा धेरै प्रयोग हुने इँट्टाको माग पनि खासै छैन। यो बेला पहिलेको स्टकमा रहेका इँट्टा सकिएर नयाँ प्रयोग सुरु हुन्थ्यो। अहिले पुरानै इँट्टाको प्रयोग हुन नसकेको नेपाल इँट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले बताए।

‘गत वर्षजस्तो स्टकका इँट्टा खपत भएका छैनन्’, चित्रकारले भने, ‘यो बेला इँट्टाको खपत उत्पादनको ५० प्रतिशत हुन्थ्यो। अहिले स्वात्तै घटेको छ।’

कोरोना संकटले गर्दा ४० प्रतिशत इँट्टा उद्योग समेत बन्द भएका छन्। यो बेला धेरै नै घाटा खान परेपछि धान्न नसकेर ती उद्योग बन्द भएको उनले बताए।

मुलुकमा हुने उत्पादनसँगै बाहिरबाट आयात हुने निर्माण सामग्री र यसका कच्चा पदार्थको आयात पनि घटेको छ।

पुनर्निर्माण प्राधिकरण गरेका एक/दुईवटा कामबाहेक निजी क्षेत्रको निर्माण भएको छैन। निजी आवास र निजी क्षेत्रले गर्ने निर्माणकार्य पनि ठप्प छ। काठमाडौंबाहिर पनि त्यस्तै छ। समग्र जलविद्युत् आयोजनाको प्रगति पनि कमजोर छ। यी सबै कारणले सिमेन्ट क्लिंकर, डन्डीको माग कम भएको हो।

निर्माण सामग्रीको आयात पनि घट्यो
भन्सार विभागको पछिल्लो तीन महिनाको तथ्यांक हर्ने हो भने निर्माण सामग्रीमा प्रयोग हुने फलामे डन्डी, सिमेन्ट, प्रेट्रोलियम पदार्थ, मेसिनरी पार्टपुर्जा, विद्युतीय सामग्रीहरुदेखि सिमेन्ट क्लिंकरको आयात घटेको छ।

कोरोना संक्रमणको जर्जर अवस्थामा भएको वैदेशिक व्यापारको यो गतिलाई सुखद मान्न नसकिने अर्थविदको भनाइ छ। निर्माण सामग्रीको आयात घटेर विलासी वस्तुको आयात बढ्नु अर्थतन्त्रको लागि दीर्घकालीन रुपमा नकारात्मक असर गर्ने अर्थविद् केशव आचार्य बताउँछन्।

‘अहिले विकास निर्माणका सामग्रीको आयात घटेर समग्र आयात घट्यो, निर्यात बढ्यो भन्नुको खासै महत्व हुँदैन’, आचार्यले भने, ‘निर्माण सामग्री, मेसिनरी पार्टपुर्जाको आयात घट्नु हाम्रो लागि राम्रो संकेत होइन, यसले हाम्रो अर्थतन्त्रलाई दीर्घकालीन नकारात्मक असर गर्छ।’

चालू आर्थिक वर्षका पहिलो तीन महिनामा सिमेन्ट बनाउन प्रयोग हुने क्लिंकर आयात ६९.८ प्रतिशतले घटेको छ। आइरन स्टिलको आयात १८ प्रतिशतले घटेर २८ अर्ब १० करोड ३४ लाख ४४ हजारको भित्रिएको छ।

पेट्रोलियम पदार्थ ४५ प्रतिशत, मेसिनरी उपकरण १९ प्रतिशत, यातायात र यसका उपकरण २७.५ प्रतिशतले घटेका छन्। त्यस्तै, हवाइ र यसका पार्टपुर्जा ९१ प्रतिशत, आल्मुनियम २९ प्रतिशत विद्युतीय सामग्री १६ प्रतिशतले आयात घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad