ad ad

कारोबार


बजारमा प्रतिकिलो ७० रुपैयाँ पर्ने आलुको बिउ ९० रुपैयाँमा बेच्दै कृषि ज्ञान केन्द्र

बजारमा प्रतिकिलो ७० रुपैयाँ पर्ने आलुको बिउ ९० रुपैयाँमा बेच्दै कृषि ज्ञान केन्द्र

शैलेन्द्र महतो
मंसिर २१, २०७७ आइतबार ४:२६,

धनुषामा बजार भाउ भन्दा प्रतिकिलो २० रुपैयाँ बढी मूल्यमा सरकारी अनुदानको आलुको बिउ बिक्रीवितरण भइरहेको पाइएको छ।

बजारमा प्रति किलो ७० रुपैयाँमा पाइने आलुको बिउ कृषि ज्ञान केन्द्र धनुषाले ९० रुपैयाँमा किसानलाई बेचेको हो।

जनकपुरको पुलचोकस्थित गीत एग्रोभेट प्रालिसँग सम्झौता गरी मंसिर १५ गतेदेखि किसानलाई आलुको बिउ वितरण सुरु गरिएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर साहले बताए । उनका अनुसार जिल्लाका १८ वटा पालिकाका ५ सय किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गरिने छ।

ज्ञान केन्द्रले सुरुमा मागपत्र दिन आएको बेला लालगुलाब प्रजातीको आलुको बिउ प्रतिकिलो ७० रुपैयाँमा दिने भनेपनि अहिले त्यो भन्दा कम गुणस्तरको आलु ९० रुपैयाँ प्रतिकिलोमा वितरण गरिरहेको किसानहरुको गुनासो छ। धनुषाको विदेह नगरपालिका ३ का सत्रोहन रायले सरकारस् कार्यालयले सस्तो खालको आलुको प्रतिकिलो ९० रुपैयाँ लिएर किसानलाई ठगि रहेको आरोप लगाए।

‘५० प्रतिशत सरकारी अनुदानमा आलुको बिउ पाइएकाले मात्रै लिन आएका हौँ, तर त्यो आलु पाउन पनि हामीलाई सास्ती छ,’ बिहीबार कार्यालय परिसरमा भेटिएका उनले गुनासो गर्दै भने, ‘५० किलो आलु लिन तीनदिनदेखि दौडधुप गरिरहेको छु । तर अझै दिएका छैनन्।’ पहुँचबाला किसानलाई भने हाकिमले सहजै आलु दिने गरेको आरोप उनले लगाए।

अर्का किसान बटेश्वर गाउँपालिका ३ का श्रीनारायण महतोले ज्ञान केन्द्रले किसानहरुलाई कात्तिकै दिनु पर्ने आलु ढिलो गरि वितरण गरेको बताए। ‘मंसिर मध्यतिर आलुको बिउ वितरण गरियो, तर बजार भाउभन्दा महंगो मूल्य लिएर किसानलाई ठग्ने काम भइरहेको छ’ महतोले भने, ‘बजारमा ७० रुपैयाँ किलो पर्ने आलु यहाँ सरकारले ९० रुपैयाँमा बेचिरहेको छ।’

५० किलोको बोरामा १० किलो जति आलु सडेको पाइएको किसानले बताएका छन्। ‘अनुदानको आलु पनि महंगो पर्यो, त्यो पनि लालगुलाब नभएर अर्कै प्रजातिको छ,’ किसान श्रीनारायणले भने, ‘यहाँ किसानको नाममा अनुदानको आलुमा व्यापक अनियमितता गर्न कर्मचारी लागि परेका छन्।’

ज्ञान केन्द्रले प्रति किलो ९० रुपैयाँमा वितरण गरिरहेको आलु बजारमा भने ७० रुपैयाँ विक्री वितरण गर्ने गरेको व्यवसायीहरु नै बताउँछन्।
आलुको बीउ ७० रुपैयाँ प्रति किलो विक्री गरिरहेको जनकपुर पेठिया बजारका आलु व्यपारी रामभरोसले बताए। ‘थोकमा अझै मूल्य कम पर्छ,’ उनले भने।

बजारमा ७० रुपैयाँ प्रति किलो पर्ने आलुको मूल्य ९० रुपैयाँ किन लिएको भन्ने प्रश्न गर्दा ज्ञानकेन्द्रका प्रमुख शंकर साहले सार्वजनिक खारिद ऐन अनुसार सम्झौता गरेर आलु वितरण गरिरहेको बताए।

‘बजारमा यो आलुको मूल्य कति छ भन्ने मलाई थाहा छैन । हामीले टेन्डर आह्वान गर्यौं। तीनवटा फारमले दरखास्त दिएका थिए। त्यस मध्ये सबैभन्दा कम ९० रुपैयाँप्रति किलोमा बेच्न तयार हुने फारमसँग हामीले सम्झौता गरेर आलु वितरण गरिरहेका छौं,’ प्रमुख साहले भने।

१८ वटा पालिकाबाट १५ सय किसानले आलुको बिउको लागि आवेदन दिएकोमा ५ सय किसालाई मात्रै नागरिकता र पालिकाको सिफारिसको अधारमा वितरण गरिरहेको उनले बताए।

एउटा पालिकाबाट परेको आवेदनको २० प्रतिशत किसानलाई मात्र ५० किलो आलु बिउ वितरण गरिरहेको प्रमुख साहको भनाइ छ। जस मध्ये बिहीबारसम्म धनुषाको १८ वटा पालिकामध्ये लक्ष्मीनिया गाउँपालिका, जनकनन्दनी गाउँपालिका र औरही गाउँपालिका क्षेत्रका २० प्रतिशत किसानले आलुको बिउ लगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .