ad ad

कारोबार


महामारीबाट उठ्दै रेस्टुराँ व्यवसाय: दरबारमार्गमा चहलपहल, ठमेलमा शून्यता

महामारीबाट उठ्दै रेस्टुराँ व्यवसाय: दरबारमार्गमा चहलपहल, ठमेलमा शून्यता

वसन्त अर्याल
मंसिर १९, २०७७ शुक्रबार ७:१०,

कोरोना महामारीका कारण विगत आठ महिनायता लकडाउन र निषेधाज्ञाको मार खेप्दै आएको रेस्टुराँ व्यवसायमा विस्तारै चहलपहल बढेको छ।

पछिल्लो समय बढेको आन्तरिक पर्यटकीय गतिविधिले रेस्टुराँहरुमा ६५ प्रतिशतसम्म व्यापार हुनथालेको सम्बन्धित व्यवसायीहरुले बताएका छन्।

तर विदेशी पर्यटकमा आश्रित रेस्टुराँहरुमा भने त्यति चहलपहल छैन। यसैको उदाहरण हो, ठमेल र दरबारमार्ग।

अहिले दरबारमार्ग, नयाँबानेश्वर जस्ता उपत्यकाको मुख्य बजार क्षेत्रमा चहलपहल बढेको छ। पसल, क्याफे, रेस्टुराँ र होटलहरु खुलेका छन्। मानिसहरुको चहलपहल बढ्नथालेको छ। तर दरबारमार्गनजिकै रहेको ठमेल भने अझै सुनसानजस्तै छ।

Thamel vs Durbarmarg2
दरबारमार्गमा चहलपहल

ठमेलका रेस्टुराँ विशेषतः विदेशी पर्यटकका कारण बढी चहलपहल हुने गथ्र्यो।

यस क्षेत्रका पर्यटन व्यवसायी भने रात्रिकालीन सेवा बन्द हुँदा ठमेलमा चहलपहल नबढेको बताउँछन्। प्रहरी प्रशासनले राति ९ बजे नै सटर बन्द गराउन लगाउँदा रेस्टुराँमा जान चाहेका मानिस पनि जान नपाएको उनीहरुको भनाइ छ।

ठमेल पर्यटन विकास परिषद्का महासचिव ध्रुव अधिकारीले सरकारले राम्रोसँग व्यवसाय सञ्चालन गर्न नदिएको बताए।

‘राति ९ बजे रेस्टुराँमा मानिसले डिनर गरिरहेको हुन्छ। जबर्जस्ती बन्द गराउँदै हिँड्छ’, अधिकारीले नेपालखबरसँग भने, ‘आउन चाहेका नेपाली पनि पुलिस प्रशासनका कारण आउन पाएका छैनन्।’

Thamel vs Durbarmarg12
सुनसान ठमेल

उनले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्छौँ भन्दा पनि अवरोध भएको भन्दै शान्तिपूर्ण विरोध प्रदर्शन भइरहेको बताए।

ठमेलका पर्यटन व्यवसायीले ३ दिनदेखि सहजरुपमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन समेत गरिरहेका छन्।

‘दिउँसो असनमा हजारौं मानिस ओहोरदोहोर गर्दा कोरोना सर्दैन। राति ५०–६० जना एउटा रेस्टुराँमा बस्दा कोरोना सर्ने भन्ने त हुँदैन होला’, उनले भने, ‘रातिको समयमा चल्ने ठमेल बजारमा थोरै गीत बजायो भने पनि बन्द गर्न लगाउँछन्, कहाँबाट चल्नु?’

Thamel vs Durbarmarg4
दरबारमार्गमा चहलपहल

दरबारमार्ग तथा गैह्रीधारामा आउटलेट भएको एलिस रेस्टुरेन्टका सञ्चालक नकुल शेरचनले ९ बजे नै रेस्टुराँ बन्द गर्नुपर्दा १० प्रतिशत व्यापार कम हुने गरेको बताए।

‘१० बजेसम्म मात्रै रेस्टुराँ खोल्न दिने हो भने पनि हाम्रो १० प्रतिशत व्यापार बढ्छ’, शेरचनले भने, ‘अहिले ८ बजेपछि रेस्टुराँमा आउनेलाई भित्र जान पाउँदैनन्। सरकारको असहयोगले जान चाहने मानिस पनि रेस्टुराँ जान सकेका छैनन्।’

ठमेल सुनसानजस्तै हुनुको अर्को कारण भने विदेशी पर्यटक पनि हो।

Thamel vs Durbarmarg16
ठमेल

सरकारले अहिले सबै पर्यटकीय गतिविधि खुल्ला गर्ने निर्णय गरिसकेको र अन्तर्राष्ट्रिय उडान पनि खुल्ला गरिसकेको अवस्था भए पनि कोरोना महामारी जारी रहेकै कारण अहिले नै विदेशी पर्यटक नेपाल घुम्न आइहाल्ने अवस्था छैन। यसले बाह्य पर्यटकमा आश्रित रेस्टुराँहरुमा प्रभाव परेको हो।

ठमेलमात्र होइन, पोखराको लेकसाइड र चितवनको सौराहाजस्ता क्षेत्रका विदेशी पर्यटकमा आश्रित रेस्टुराँ तथा होटलहरु सुनसान नै देखिन्छन्।

तर तीबाहेकका रेस्टुराँमा भने आन्तरिक पर्यटकको गतिविधि बढेकोले व्यापार पनि लयमा फर्किनथालेको छ।

सरकारले साउन १५ पछि शर्तसहित रेस्टुराँ खोल्न दिने निर्णय गरेको थियो। यसअनुसार रेस्टुराँमा बसेर खान नपाइने तर प्याकिङ गरेर लैजान पाइने व्यवस्था गरिएको थियो।

Thamel vs Durbarmarg5
दरबारमार्गमा चहलपहल

त्यस्तै, सर्वसाधारणमा समेत कोरोनाको त्रास बढी हुँदा सुरुतिर रेस्टुराँमा मानिसहरु नआए पनि चाडपर्व सुरु भएसँगै मानिस होटल तथा रेस्टुराँमा खाना तथा नास्ताका लागि जान थालेका हुन्।

नेपाल रेस्टुराँ तथा बार एसोसिएसन (रेबान)का अध्यक्ष अरनिको राज भण्डारीले रेस्टुराँको व्यापार ६० प्रतिशतसम्म हुने गरेको बताए।

‘कोभिडको बीचमा रेस्टुराँ खोल्दा मानिसमा त्रास बाँकी नै थियो। चल्ने अवस्था भएन’, अध्यक्ष भण्डारीले नेपालखबरसँग भने, ‘अहिले विस्तारै कोरोनाको डर हराउँदै गएको छ। मानिस घर बाहिर गएर पनि खाना थालेका छन् जसले ६० प्रतिशतसम्म व्यापार भएको छ।’

उनले लकडाउनको समयमा विदामा बसेका सबै कर्मचारीलाई काम दिनसक्ने अवस्था अझै नभएको बताए।

एलिस रेस्टुरेन्टका सञ्चालक शेरचनले आन्तरिक गतिविधि बढ्दा ६५ प्रतिशतसम्म कारोबार हुने गरेको बताए। ‘मानिसमा पहिलेजस्तो डर छैन। रेस्टुराँमा डिनरका लागि आउनेको संख्या दिन प्रतिदिन बढ्दै छ’, शेरचनले भने।

Thamel vs Durbarmarg15
सुनसान ठमेल

‘साना व्यवसायीले केही राहत पाएनन्’
रेबानका अध्यक्ष भण्डारीले साना तथा मझौला व्यवसायीले कुनै राहत नभएको बताएका छन्। लामो समय पूरै व्यापार ठप्प हुँदा पनि साना व्यवसायीले अहिलेसम्म कुनै राहत नपाएको बताए।

सरकारले बजेटमा १ खर्बको पुनर्कर्जा कोष र कोरोना प्रभावित व्यवसायीका लागि ५० अर्बको व्यवसाय सञ्चालन तथा पुनः स्थापना कोष स्थापना गरेको थियो ।

तर अहिलेसम्म साना व्यवसायीले कुनै पनि राहत नपाएको भन्दै भण्डारीले उद्योग वाणिज्य महासंघमार्फत राहतका प्याकेज ल्याउन सरकारलाई अनुरोध गर्ने बताए।

‘कतिपय व्यवसायीले रेस्टुराँ बन्द हुने अवस्थामा पुगेको बताएका छन्। तिनलाई राहत दिने कुनै कार्यक्रम नै छैन’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .