ad ad

कारोबार


कीर्तिमानी कारोबार हुनथालेपछि सेयरबजारको सूक्ष्म अनुगमन गर्दै धितोपत्र बोर्ड

कीर्तिमानी कारोबार हुनथालेपछि सेयरबजारको सूक्ष्म अनुगमन गर्दै धितोपत्र बोर्ड

नेपालखबर
मंसिर १५, २०७७ सोमबार १०:२४,

केही दिनयता सेयरबजारमा उच्च परिमाणको सेयर कारोबार हुनथालेपछि नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई बुझेर मात्र लगानी गर्न आग्रह गरेको छ।

बोर्डले सोमबार विज्ञप्ति जारी गरी सेयर लगानीकर्तालाई उक्त आग्रह गरेको हो। बोर्डका प्रवक्ता निरज गिरीले विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनमा दोस्रो बजारमा कारोबार रकम र नेप्से सूचक हालसम्मको उच्च अंकमा रहन जानु समग्र पुँजीबजारका लागि खुसीको कुरा भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि लगानीकर्ताहरुले पुँजीबजारका केही स्थापित मूल्य र मान्यताअनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचकलगायतका विवरणहरुको विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुनेछ।’

बोर्डले धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलाग्न अनुरोध समेत गरेको छ। विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम वहन गर्नसक्ने क्षमता तथा आफनो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न बोर्डको सुझाव छ।

आइतबारमात्रै सेयरबजारमा ९ अर्ब २२ करोडको कीर्तिमानी कारोबार भएको थियो भने नेप्से सूचक ७५ अंकले उकालो लागेको थियो। सोमबार पनि नेप्से २९ अंकले बढेको छ। सोमबार ८ अर्ब ८६ करोडको सेयर किनबेच भएको छ।

बोर्डले पछिल्लो कारोबार अवस्थाबारे जानकार रहेको जनाउँदै सूक्ष्म बजार अनुगमन गरिरहेको जनाएको छ। उसले धितोपत्रको दोस्रो बजारको स्वरुप र गतिविधिलाई निरन्तर रूपमा अनुगमन गरिरहेको जनाएको छ।

नेपालको धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता रहेका छन् भने डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिब ७.२५ प्रतिशत) रहेको छ।

बोर्डका अनुसार नेप्सेको अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .