कारोबार


उद्योग वाणिज्य महासंघका आगामी अध्यक्ष चन्द्र ढकालको यस्ताे छ व्यावसायिक यात्रा

उद्योग वाणिज्य महासंघका आगामी अध्यक्ष चन्द्र ढकालको यस्ताे छ व्यावसायिक यात्रा

दीपक भट्ट
मंसिर १४, २०७७ आइतबार १:४५,

बागलुङको अमलाचौरमा २०२२ असारमा जन्मिएका चन्द्रप्रसाद ढकालले २०४५ सालमा राष्ट्रिय वाणिज्य बैंकमा सहायक स्तरमा जागिर सुरु गरेका थिए। बाल्यकालमै पिता गुमाएका उनको काँधमा आफ्ना भाइहरूको भविष्यको समेत जिम्मेवारी थियो।

अन्ततः उनी जागिरबाट सन्तुष्ट हुन सकेनन् र ५ वर्षपछि जागिर छाडेर व्यवसायमा लाग्ने निधाे गरे। यसपछि उनले २०५० सालतिर कोल्ड स्टोर हुँदै कार्गो व्यवसाय थाले। व्यवसाय धेरै राम्रो हुँदै गयो।

व्यवसाय बढाउँदै उनले २०५८ सालमा इन्टरनेसनल मनिट्रान्सफर (आईएमई) पनि स्थापना गरे। त्यसले उनलाई व्यावसायिक क्षेत्रमा स्थापित नै गरायो।

त्यसपछि उनी निरन्तर अगाडि बढिरहे। रेमिटेन्स, बैंकिङ, इन्स्योरेन्स, पर्यटन, पूर्वाधार, जलविद्युत्, सूचना प्रविधि, अटोमोबाइल, केबलकारलगायतमा उनको लगानी छ। उनी हरेक व्यवसयाको चेन बनाउँदै अघि बढिरहेका छन्।

उनी नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध भएको चाहिँ १० वर्ष भएको छ। यस क्रममा उनले महासंघका विभिन्न समितिको जिम्मेवारी सम्हालिसकेका छन्।

गत कार्यकाल उनी एसोसिएटतर्फको उपाध्यक्षमा निर्विरोध निर्वाचित भए। योपटक उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। महासंघको कार्यकाल ३ वर्षको हुन्छ। त्यसपछि उनी स्वतः अध्यक्ष हुनेछन् र अर्काे ३ वर्ष अर्थात् २०८२ चैत २८ गतेसम्म उनले महासंघको नेतृत्व गर्नेछन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ।

महासंघको नेतृत्व गर्ने तहमा पुगेका ढकालले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरिसकेक छन्।त्यसैगरी रेमिट्यान्स कम्पनीमध्ये सबैभन्दा बढी कर भुक्तान गरेर आईएमई लगातार ठूलो करदाताका रूपमा स्थापित छ। त्यस्तै सरकारले प्रदान गर्ने अन्य थुप्रै पुरस्कार तथा सम्मान उनले पाएका छन्।

अहिले नेपालको अर्थतन्त्रमा ठूलो योगदान रेमिट्यान्सको छ भन्ने गरिन्छ। त्यसमध्ये उनको कम्पनीबाट मात्रै ३० प्रतिशत हिस्सा भित्रिन्छ। चुनाव लडिरहँदा पनि उनले आफ्नो व्यावसायिक सञ्जालका कारण आफू नै विजयी हुने बताइरहेका थिए।

याे पनिउद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad