छापा खबर


४० लाख खर्च गरेर कोरोनालाई जितेका डा. ज्ञानेन्द्रमान कार्कीले यसरी सुनाए आफ्नो अनुभव

४० लाख खर्च गरेर कोरोनालाई जितेका डा. ज्ञानेन्द्रमान कार्कीले यसरी सुनाए आफ्नो अनुभव

नेपालखबर
मंसिर १४, २०७७ आइतबार २:६,

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण सुरु भएयता पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन्।

तीमध्ये १३ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ। त्यसमा पाँच जना चिकित्सकको कोरोनाका कारण मृत्यु भयो। कोरोना सङ्क्रमित हुनेमा वरिष्ठ चिकित्सकदेखि नर्र्स, स्वास्थ्यकर्मी छन्।

कतिपय चिकित्सक कोरोना सङ्क्रमण भएपछि जटिल स्थितिमा पुगेर आईसीयू तथा भेन्टिलेटरमा उपचारपछि निको भए । उनीहरु पुनः काममा फर्किएर बिरामीको जीवन बचाउन लागिरहेका छन्। यो खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीलाई गत कात्तिक ६ गते कोरोना पुष्टि भएको थियो । कोरोनालाई परास्त गरी उनी यतिखेर मन्त्रालयको नियमित काममा फर्किएका छन्। दशैँको मुखमा कोरोना सङ्क्रमित भएपछि उनलाई दशैँको रौनक भएन। केही खाएको स्वाद तथा गन्धसमेत थाहा हुँदैनथ्यो।

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्ञानेन्द्रमान सिंह कार्कीको अनुभव छुट्टै छ। उनले पनि १० दिनसम्म आईसीयूमा बसेर बल्लतल्ल कोरोनालाई जितेका हुन्। उनलाई कोरोना भएपछि विराटनगरबाट गत साउन २० गते हवाइजहाज चार्टर गरेर काठमाडौँको शिक्षण अस्पताल ल्याएको थियो।

उनी चिकित्सकहरूको नियमित उपचार र भारतबाट औषधि ल्याई उपचार गरेपछि कोरोनालाई जित्न सफल भएका हुन्। ‘म भारतबाट तीन लाख रुपियाँमा रेम्डेसिभिर किनेर १० लाखको हवाइजहाज चार्टर गरेर बाँचेको हुँ’ डा. कार्कीले भने, ‘त्योभन्दा अघि नेपालमा रेम्डेसिभिर प्रयोगमा थिएन। मैले उक्त औषधि प्रयोग गरेपछि नेपालमा कोरोना सङ्क्रमितको उपचारका लागि सुरु भएको हो। म भाग्यले बाँचेको मान्छे हुँ, कोरोनाले ठूलो पाठ सिकाएको छ।’

पैसा, पावर र कमाउनेभन्दा पनि अहिले बाँच्ने समय हो भन्दै उनले कोरोना नियन्त्रणमा सबैको साथ आवश्यक रहेको बताए। डा.कार्कीले आफू सात दिनसम्म मृत्युसँग जुधेर बाँचेको भन्दै त्यही भएर आफू कार्यरत अस्पतालमा २० वटा भेन्टिलेटर थपेर कोरोना सङ्क्रमितको उपचार गराइरहको बताए।

कोरोना केही होइन भन्ने सोच कहिल्यै नगर्न सुझाव दिँदै कार्कीले नेपालमा कोरोनाले ठूलो पाठ सिकाएको बताए। कार्कीले कोरोनालाई जितिसकेपछि अहिले दैनिक तीन जनासम्मको शल्यक्रिया गरिरहेका छन्। कार्कीले आफूलाई कोरोनालाई जित्न ४० लाखभन्दा बढी रकम लागेको भन्दै कोरोनालाई हेलचेक्र्याइँ नगर्न आग्रह गरे।

नेपाल चिकित्सक सङ्घका कोषाध्यक्ष डा. प्रकाश बुढाथोकीको कोरोनाबारे छुट्टै अनुभव छ । प्रदेश–२ मा सञ्चालित कोरोना अस्पतालको अनुगमन गर्ने क्रममा उनलाई कोरोना सङ्क्रमण भएको थियो।

बुढाथोकीलाइ तराईबाट फर्किसकेपछि सुरुमा ज्वरो आउने र थकान भएको थियो । धेरै दिनसम्म निको नभएको र औषधिले समेत काम नगरेपछि कोरोना परीक्षण गर्दा सङ्क्रमित भएको पुष्टि भएको थियो।

सास फेर्न गाह्रो भएपछि उनी टेकुस्थित सरुवा रोग अस्पतालमा भर्ना भएका थिए। आईसीयूमा उपचार गरेपछि उनले कोरोनालाई जितेका हुन्। कोरोनादले उनको फोक्सोमा ५० प्रतिशत असर भइसकेको थियो।

‘कोरोना सङ्क्रमित भइसकेपछि धेरैको फोन आउने भएकाले कसैलाई आफू सङ्क्रमित भएको कुरा भनेको थिइनँ,’ डा.बुढाथोकीले भने, ‘फोनले पनि उपचार गर्दा असर गर्दो रहेछ।’ उनले कोरोनालाई सामान्य रूपमा नलिन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad