एसियाली विकास बैंकको व्यापार वित्त कार्यक्रम (टीएफपी) र लक्ष्मी बैंक लिमिटेडबीच देशमा ऋण प्रवाह र व्यापारलाई सघाउन साझेदारी गर्ने सहमति भएको छ। सहमतिपत्रमा दुई बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। एडीबीको टीएफपीले नेपालमा सन् २००९ देखि नेपालका दुई बैंकसँग साझेदारी गर्दै आएको छ।
टीएफपीले नेपालमा दुई सयभन्दा धेरै कारोबार गरिसकेको छ। व्यापारमा मात्रै ८ करोड २० लाख डलरको सहयोग गरेको उसले कृषि सामग्री, निर्माण क्षेत्रका मेसिनरी वस्तु, सोलार प्यानेल र कपडामा सहयोग गर्दै आएको छ। यसले साना तथा मझौला व्यवसायमा उल्लेखनीय सहयोग गरेको छ।
लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले एडीबीको ट्रेड फाइनान्स प्रोग्रामले बैंकलाई तेस्रो सदस्यमा जोडेकोमा प्रसन्नता व्यक्त गरे। बैंकले नेपाली व्यवसायी, संस्था र पूर्वाधार योजनामा टीएफएस दिँदै आएको छ। एडीबीसँगको सहकार्यले अन्तर्राष्ट्रिय व्यापार कारोबारमा ठूलो सहयोग गर्नेछ।
कार्यक्रममा एडीबीका लगानी विश्लेषक तथा रिलसनसिप मेनेजर जानेट हाइडले बैंकसँगको सहकार्यले नेपालमा आर्थिक वृद्धिदरमा सघाउ पुग्ने बताइन्। एडीबीको एएए क्रेडिटले टीएफपीलाई सहयोग गरेको छ भने २ सय साझेदारीमा आएका बैंकहरुलाई ऋणमा ग्यारेन्टी प्रदान गरेको छ। यस कार्यक्रमले एसिया र प्रशान्त क्षेत्रको आयात निर्यात क्रियाकलापमा धेरैभन्दा धेरै कम्पनीलाई सहयोग गरेको बताइएको छ।
लक्ष्मी बैंक सन् २००२ मा स्थापना भएको बैंक हो। बैंकका १ सय १० शाखा, ४८ जिल्लामा सेवा, २ एक्सटेन्सन काउन्टर चार अस्पतालमा सेवा रहेको छ। त्यस्तै बैंकले १ सय ३१ एटीएम, २५ सय रेमिट्यान्स एजेन्ट र ५८ वटा शाखारहित बैंकिङ सेवा रहेका छन्।

प्रतिक्रिया