कारोबार


महासंघ चुनावः होटल व्यवस्थापनलाई लिएर झमेला, बास दिएर भोट किन्न खोजेको आरोप

महासंघ चुनावः होटल व्यवस्थापनलाई लिएर झमेला, बास दिएर भोट किन्न खोजेको आरोप

वाशुदेव मिश्र
मंसिर ११, २०७७ बिहिबार ५:५९,

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा केहीबेरमा सुरु हुँदै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साधारणसभाको भर्चुअल उद्घाटन गर्दै छन्। उद्घाटन प्रधानमन्त्रीले गर्ने भए पनि चुनावी साधारणसभा भएकाले उद्योगी/व्यवसायीको ध्यान भने चुनावमै केन्द्रित छ।

साधारणसभा उद्घाटनको अघिल्लो दिनदेखि नै प्रतिस्पर्धीहरुले एक–अर्काप्रति आक्षेप लगाउने उपक्रम सुरु भइसकेको छ। महासंघले उपलब्ध गराएको आवासलाई लिएर नै दुई खेमामा विभाजित व्यवसायीहरुबीच विवाद देखिएको छ।

महासंघले यो पटकको चुनावमा कोभिड–१९ को कारण देखाउँदै जिल्ला तथा नगर उद्योग वाणिज्य अध्यक्ष, एसोसिएट तथा वस्तुगत संघका अध्यक्षहरुलाई एभरेष्ट होटलमा राख्ने व्यवस्था मिलाएको थियो। मताधिकार भएकाहरुलाई एभरेष्टमा डबल बेडसहितको आवास व्यवस्था गरिएको महासंघको परिपत्रमा उल्लेख थियो। तर, महासंघको संस्थापन पक्षले होटल व्यवस्थापन गरेर मतदाताहरुलाई थुन्न खोजेको आरोप लगाउँदै केही प्रतिनिधिहरुले महासंघले दिएको आवास परित्याग मात्रै गरेनन्, त्यो निर्णयमा आपत्तिसमेत जनाए।

वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्र ढकाल समूहका सदस्यहरुले सबै मतदातालाई होटल उपलब्ध गराएर र एउटै ठाउँमा राखेर अर्का प्रत्याशीको पक्षमा मत मागिएको आरोप लगाएका हुन्।

‘अर्को (वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याशी किशोर प्रधान)तिर उभिएका अध्यक्ष (भवानी राणा) र उतै मत माग्दै हिँडेका वरिष्ठ उपाध्यक्ष (शेखर गोल्छा) ले गरेको यो काम सही छैन’, होटल व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै चन्द्र ढकाल जिताउन चुनावी क्याम्पेनको नेतृत्व गरेका नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले नेपालखबरसँग भने, ‘यसअघि कहिल्यै होटल व्यवस्थापन नभएकोमा अहिले आएर सबैलाई एउटै होटलमा राखिनु भनेको षड्यन्त्र हो।’

उनले आफ्नो समूहले यो विषयमा बुधबार साँझ नै आपत्ति जनाएको बताउँदै एभरेष्ट होटलमा अहिले सीमित मात्रामा मात्रै जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरु रहेको जिकिर पनि गरे।

‘अहिले त्यहाँ १५/२० जनाभन्दा बढी हुनुहुन्न, यो षड्यन्त्र सबैले बुझिसके’, उनले भने।

चन्द्र ढकालको प्यानलले अत्यधिक बहुमतका साथ जित्ने दाबी गर्दै उनले सबैखाले षड्यन्त्र परास्त गरिने पनि बताए।

महासंघको यो साधारणसभाले वरिष्ठ उपाध्यक्ष, वस्तुगत र एसोसिएटतर्फका ३ उपाध्यक्षसहित १८ जना खुल्लातर्फका १८ जनासहित संस्थापकमध्येबाट १, प्रदेशबाट ७ तथा वस्तुगततर्फबाट १४ र एसोसिएटबाट १९ जना केन्द्रीय सदस्य छान्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .