ad ad

कारोबार


‘दूतावासले मागपत्र स्वीकृति नगरिदिँदा खाडी मुलुकमा रोजगारीको अवसर गुम्न थाल्यो’

‘दूतावासले मागपत्र स्वीकृति नगरिदिँदा खाडी मुलुकमा रोजगारीको अवसर गुम्न थाल्यो’

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ९:५२,

वैदेशिक रोजगार व्यवसायीहरुले खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले मागपत्र स्वीकृत नगरिदिँदा वैदेशिक रोजगारीको अवसर गुम्दै गएको गुनासो गरेका छन्।

व्यवसायीहरुले पछिल्लो समय कतार, बहराइन, दुबई लगायतका मुलुकबाट आएका मागपत्र सम्बन्धित देशका राजदूतावासबाट स्वीकृत नभएको गुनासो गरेका हुन। खाडी मुलुकबाट करिब ७० हजारको संख्यामा कामदार माग हुने गरी मागपत्र आउने क्रममा रहेको तर कोभिडलाई देखाउँदै दूतावासहरुले स्वीकृत नगरिदिँदा वैदेशिक रोजगारीको माग गुम्ने स्थिति आउन लागेको बताएका हुन्।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा उपस्थित भएका व्यवसायीहरुले मन्त्रिपरिषद्को भदौ १४ गतेको बैठकले वैदेशिक रोजागरीलाई खुल्ला गरेको भएपनि दूतावासहरुले मागपत्र प्रमाणिकरण नगरिदिँदा वैदेशिक रोजगारका लागि नयाँ कामदार पठाउन नसकिएको बताएका हुन्।

वैदेशिक रोजागरका निमित्त आएका मागपत्रको प्रमाणिकरण नभए नेपालका लागि आएको माग अन्य मुलुकमा जान सक्ने जोखिम रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए।

दूतावासहरुले मागपत्र स्वीकृत नगरिदिँदा मानिसहरु भिजिट भिसामा खाडी मुलुक पुग्ने गरेको व्यवसायीहरुले बताएका छन्। लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले दुबईबाट आएको मागपत्र स्वीकृत नहुँदा भिजिट भिसामा रोजगारीका लागि जानेहरुको संख्या बढेको बताए।

भिजिट भिसामा गई काम गर्नु अवैध भएपनि युवाहरु काम खोज्नका लागि खाडी मुलुक जान बाध्य भएको बताए। उनले नेपालबाट दैनिक ५ सय देखि ७ सयको संख्यामा भिजिट भिसामा खाडी मुलुक गएको र एयरपोर्टमा करोडौंको चलखेल हुने गरेको दावी समेत गरे।

नेपाल सरकारले कोभिड संक्रमणको जोखिम कम भएका मुलुकहरुमा वैदेशिक रोजगारका लागि कामदार पठाउन खुला गरेको छ। वैदेशिक रोजगार विभागले पनि वैदेशिक रोजगारमा जानेहरुका लागि पूर्व स्वीकृति र अन्तिम स्वीकृृति दिइरहेको छ तर सम्बन्धित देशमा रहेका राजदूतावासबाट मागपत्र प्रमाणिकरण नभएपछि नयाँ कामदार पठाउन नसकिएको गुनासो व्यवसायीहरुको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .