ad ad

कारोबार


नाकामै पीसीआर परीक्षणको व्यवस्था नगरेसम्म चीनले द्विपक्षीय व्यापार नखोल्ने

नाकामै पीसीआर परीक्षणको व्यवस्था नगरेसम्म चीनले द्विपक्षीय व्यापार नखोल्ने

दीपक भट्ट
मंसिर ८, २०७७ सोमबार १५:२८,

नाकामै पीसीआर परीक्षण गर्नेलगायत कोरोना नियन्त्रणका मापदण्ड नअपनाई चीनले नेपालसँगको द्विपक्षीय व्यापार नखोल्ने बताएको छ।नेपाली अधिकारीहरुले नाका खुलाउने आग्रह गरेपछि चिनियाँ पक्षले त्यस्तो सर्त राखेको हो। 

नेपालको दोस्रो ठूलो वैदेशिक व्यापार साझेदार चीनसँग एक वर्षयता आयात–निर्यात ठप्पप्राय छ। एक वर्षदेखि बन्द रहेको चीनसँगको मुख्य नाका रसुवागढी र तातोपानी करिब एक महिना अघिदेखि आंशिक सञ्चालनमा आएको छ।

तातोपानी नाका भूकम्पपछि बन्द भएको थियो। दुई वर्षअघि सञ्चालनमा ल्याएपनि चेकजाँच प्रणाली विकास गर्ने भन्दै गत वर्ष कात्तिकदेखि पुनः बन्द गरिएको थियो। त्यसपछि कोरोना संक्रमणको कारण अनिश्चित बन्द गरिएको थियो।

रसुवागढी नाका पनि माघ १४ गतेदेखि बन्द गरिएको थियो।

हाल यी दुवै नाका वस्तु आयातका लागि मात्रै आंशिक रुपमा खुल्ला गरिएको छ। अहिले नेपाली वस्तुको निर्यातमा बन्देज छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार रसुवागढी नाकाबाट अहिले दैनिक ४ कन्टेनर वस्तु आयात गर्न दिइएको छ भने तातोपानी नाकाबाट दैनिक ३ कन्टेनर वस्तु मात्रै आयत गर्न दिइएको छ।

नाका खुलाउन नेपालको पक्षबाट पहल भइरहेको वाणिज्य मन्त्रालयका सहसचिव प्रकाश दाहाल बताउँछन्।

‘हामीले चीनको वाणिज्य विभागसँग बैठक गरिसकेका छौं। त्यस्तै वणिज्य मन्त्रालयको टोली पनि रसुवागढी नाका अवलोकन गरी भर्खरै फर्किएको छ,’ उनले भने।

तर, चिनियाँ पक्षले भने कोरोना नियन्त्रणका लागि नेपालले केही नियम पालना गर्नुपर्ने र त्यसका लागि पूर्वाधार तयार गर्न माग राखेको छ।

‘नाकामा नै पीसीआर परिक्षणको व्यवस्था, क्वारेन्टिनसम्बन्धी पूर्वाधारको विकास गर्नुपर्ने माग चीनले राखेको छ। यसो गरेको खण्डमा मात्रै द्विपक्षीय व्यपार खुलाउन सकिने बताएको छ,’ दाहाल भन्छन् ‘चीनले शून्य कोरोनाको नीति लिँदा समस्या भएको हो। अन्याथा उनीहरु पनि व्यपार रोक्न चाहिरहेका छैनन्।’

वाणिज्य मन्त्रालयका अनुसार चीनले नाकामा काम गर्ने मजदुरको संख्या पनि घटाएर करिब ४० जनाको हाराहारी पुर्‍याएको छ। तिनको पनि हरेक १४ दिनमा पीसीआर परीक्षण गर्नुपर्ने बाध्यकारी नियम लगाएको छ।

लामो समयदेखि व्यापार रोकिँदा समस्या आइपरेको भन्दै नेपाली व्यापारीहरुले गुनासो गरेपछि अहिले वाणिज्य मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वयात्मक बैठक राख्ने पहल गरेको छ। जसको लागि दुवै मन्त्रालयलाई सोमबार पत्र समेत पठाइएको वाणिज्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

उनका अनुसार नाकामा पीसीआर परीक्षणको व्यवस्था र चीनले भनेजस्तो अन्य पूर्वाधार विकास गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा छलफल हुनेछ।

चीनसँगको बन्द हुँदा चीनबाट आयात गर्ने वस्तुहरु नेपाली व्यापारीले पानीजहाज मार्फत कोलकाता हुँदै आयात गरिरहेका छन्। नेपालबाट हुने निर्यात भने ठप्प नै भएको छ। नेपालले मुख्यतया घ्यु, चाउचाउ, हस्तकलामा सामान, थान्का, तयारी पोसाक लगायतका वस्तु चीनमा निर्यात गर्छ।

नाकाबाट आयात गर्न नसक्दा लागत बढेको र वस्तु महंगो हुन पुगेकाले निर्यात व्यवसायी मारमा रहेको भन्दै नेपाल राष्ट्रिय निर्यात व्यवसायी महासंघले हरेक हप्ताजसो विज्ञप्ति जारी गर्दै आएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .