कारोबार


मजदुर र मालिकको कुरा मिलाइदिने अमरमान शाक्य

मजदुर र मालिकको कुरा मिलाइदिने अमरमान शाक्य

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार ११:४५,

होटल संघ नेपाल (हान) होटल सञ्चालकहरुको छाता संगठन हो।

केही समय यो संस्थाको नेतृत्व एक कार्यकाल पाँचतारे होटलका सञ्चालक र एक कार्यकालको नेतृत्व पाँचतारेभन्दा बाहेकले गरेको पाइन्छ।

अहिलेकी अध्यक्ष अन्नपूर्ण होटलकी सञ्चालक सिर्जना राणा छिन् भने योभन्दा अघि अमर होटलका सञ्चालक अमरमान शाक्यले हानको नेतृत्व सम्हालेका थिए।

उनले गत वर्षमात्रै आफ्नो कार्यकाल सक्याएका थिए। उनै शाक्यको आज निधन भएको छ। ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ओम अस्पतालमा निधन भएको हो।

उनी नेपालको समग्र होटल क्षेत्रमा रहेको समस्या समाधानको लागि पुलको काम गर्ने व्यक्तिको रुपमा रहेको हानका महासचिव साजन शाक्य बताउँछन्।

मजदुरहरुले सर्भिस चार्जमार्फतको रकम आफूहरुले पाउनुपर्ने पहिलेदेखि नै माग गर्दै आएका थिए। तर उनीहरुले पाउन सकिरहेका थिएनन्। त्यसको वैधानिकता नै उनको पहलमा भएको शाक्य बताउँछन्।

उनी भन्छन्, ‘यो समस्या जटिल बन्दै गइरहेको थियो। केही पक्ष यसमा सहमत थिए, केहिले यसको वास्ता गरिरहेका थिएनन्। तर उनको कार्यकालमा समस्या समाधान गर्दै उहाँले मजदुरहरुको यो आन्दोलन नै बन्द गराउनुभएको थियो। त्यसबाट मजदुरहरु पनि उत्साहित भएका थिए।’

उनले एसोसिएसनमा समग्र रुपमा २४ वर्ष बिताए। २४ वर्षदेखि एसोसिएसनमा रहेर काम गर्दा उनको अर्को ठूलो उपलब्धि अर्थात् उनलाई जस जाने कुरो भनेको हालको बिल्डिङ नै पनि हो।

गैह्रीधारामा रहेको हानको अफिस बनाउन र त्यसलाई जोगाउन पनि होटल सञ्चालकहरुलाई धेरै गाह्रो परेको थियो। यसको वैधानकतामाथि केहीले प्रश्न उठाएका थिए।

साजन शाक्य भन्छन्, ‘निडर स्वभावका अमरमान शाक्यले अडान लिएपछि त्यो जोगिएको थियो।’

उनको आफ्नो व्यवसायको कुरा गर्दा उनले भोटेबहालमा पहिले होटल सञ्चालन गरेका थिए। त्यो २०४५ सालको कुरो हो। त्यसपछि त्यसलाई ताहाचलमा सारेर आफ्नो होटल विस्तार गर्ने काम गरेका थिए।

होटल र पर्यटन क्षेत्रमा नै आफ्नो सम्पूर्ण जीवन बिताएका अमरमान शाक्य यो क्षेत्रको एक प्रेरणाको पात्र नै भएको शाक्यको भनाइ छ।

यो क्षेत्रमा रहेको समस्या राज्यसमक्ष राख्न सक्ने र त्यसको समाधान गर्न सक्ने खुबी उनमा थियो। त्यसकारणले अन्य होटल सञ्चालकहरुले पनि उनलाई अघि बढाउन चाहन्थे।

सोही कारण उनी हानजस्तो गरिमामय संस्थाको अध्यक्ष बनेको साजन शाक्यको भनाइ छ।

स्वर्गीय अमरमान शाक्यका दुई छोरा र श्रीमती रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad