ad ad

कारोबार


विदेशी पुस्तक पैठारीमा भन्सार छुट, नेपाली पुस्तक विदेशमा छापेर ल्याए १० प्रतिशत कर यथावत्

विदेशी पुस्तक पैठारीमा भन्सार छुट, नेपाली पुस्तक विदेशमा छापेर ल्याए १० प्रतिशत कर यथावत्

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार १२:२३,

अर्थ मन्त्रालयले पुस्तकमा लाग्दै आएको करसम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयबाट विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल हटाएको बताएको छ ।

तर नेपाली प्रकाशन गृहबाट प्रकाशित पुस्तक विदेशबाट छपाई गरी पैठारी गरेमा साबिक बमोजिमको १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएको अर्थ मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी प्रष्ट पारेको छ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले यसबाट नेपाली प्रकाशन गृहबाट प्रकाशन हुने पुस्तक नेपालमा नै छपाई हुने र नेपालमा रहेका मुद्रण उद्योगको संरक्षण तथा प्रवर्द्धन गर्न सघाउ पुग्ने बताए।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०७७ कात्तिक २४ मा बसेको बैठकले आर्थिक ऐन, २०७७ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा आर्थिक ऐन, २०७७ बमोजिम लाग्दै आएको भन्सार महसुल पूर्ण रुपमा छुट दिने निर्णय गरेको छु’, प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन, २०७५ ले नेपाली प्रकाशक, वितरक वा सोल एजेण्ट वा प्रतिलिपि अधिकार उल्लेख भएका पुस्तक नेपाल बाहिरबाट मुद्रण गरी पैठारी गरेमा त्यसरी पैठारी भएको पुस्तकको छपाई मूल्य (कागज, मुद्रणमा लागेको खर्च, भाडा र बीमा जोडी हुन आउने मूल्य)मा १५ प्रतिशत भन्सार महसुल लाग्ने तर विदेशी प्रकाशकको नाम उल्लेख भएर आएमा त्यस्तो पैठारीमा कुनै महसुल नलाग्ने व्यवस्था गरेको थियो ।

यस्तै आर्थिक ऐन, २०७६ बाट स्वदेशी वा विदेशी जुनसुकै प्रकाशकको नाम उल्लेख भएर पैठारी हुने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरिएको थियो। सो व्यवस्थालाई आर्थिक ऐन, २०७७ ले निरन्तरता दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .