युरोपेली संघ (ईयू)ले चार अर्ब अमेरिकी डलर बराबरका वस्तुमा कर लगाएको छ। विमान निर्माता बोइङलाई अमेरिकाले आर्थिक संरक्षण (सब्सिडी दिएको) गरेको भन्दै ईयूले उक्त कर लगाएको हो।
ईयूले लगाएको करलाई गत महिना नै विश्व व्यापार संगठनले स्वीकृति दिएको थियो भने मंगलबारदेखि कार्यान्वयनमा आएको बीबीसीले जनाएको छ। यसबाट ट्रयाक्टर, केचप र सुन्तलाको जुसलगायतका वस्तु प्रभावित हुनेछन्।
ईयूले अझै पनि विवाद समाधानको आशा गरेको जनाएको छ। गत वर्ष अमेरिकाले युरोपेली वस्तुमा कर लगाएको थियो। ईयूका एक अधिकारीले नयाँ राष्ट्रपति जोय बाइडेनको प्रशासनसँग यसबारे वार्ता गरी समाधान गर्न सकिने आशा गरेको बताए। ईयूका व्यापार आयुक्त भाल्डिस डोमब्रोभ्सकिसले ईयूले दुवै पक्षबाट लगाएका कर हटाउने आशा गरेको बताए।
ईयू र अमेरिकाबीच आआफ्ना विमान निर्माताहरु एयरबस र बोइङलाई राज्यले सहयोग दिएको विषयमा लामो समययता विवाद हुँदै आएको छ। यसरी दुवैतर्फका कर हटाउँदा दुवै पक्षको जित हुने उनले बताए।
समान लक्ष्यप्राप्तिका लागि ट्रान्सएटलान्टिक सहकार्य र सँगै काम गर्नुपर्ने ती आयुक्तको भनाइ छ। अमेरिकाले भने ईयूको पछिल्लो कदमबाट दुःखी भएको टिप्पणी गरेको छ। अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथाइजरले ईयूले भनेको तथाकथित सब्सिडी विवाद सात महिनाअघि नै समाधान भइसकेको उनको दाबी छ।
ट्रम्पले सत्ता सम्हालेयता अमेरिकाको पक्ष तथा मित्र मानिने युरोपसँग व्यापार विवाद चर्किँदै आएको छ।
नयाँ करअन्तर्गत ईयूले अमेरिकी वस्तुमा २५ प्रतिशत कर लगाएको छ। त्यस्तै आयातित अमेरिकी विमानमा १५ प्रतिशत शुल्क (कर) लाग्नेछ।
Shares

प्रतिक्रिया