कारोबार


अब फोटोसहितको परिचयपत्र देखाएपछि मात्र कोरोना परीक्षण गरिने

अब फोटोसहितको परिचयपत्र देखाएपछि मात्र कोरोना परीक्षण गरिने

सन्तोष न्यौपाने
कात्तिक २४, २०७७ सोमबार ११:२९,

कोरोना संक्रमित व्यक्तिले एकभन्दा धेरै ल्याबबाट परीक्षण गराएर अर्को व्यक्तिको नाममा पनि कोरोना बीमा दाबी गरेको भेटिएपछि फोटोसहितको परिचयपत्र भएपछि मात्र स्वाब संकलन गर्ने तयारी भएको छ।

बीमा समितिको आग्रहमा स्वास्थ्य मन्त्रालयले फोटोसहितको परिचयपत्र लिएर मात्र स्वाब परीक्षण गर्ने तयारी गरेको हो।

यस विषयमा बीमा समिति र स्वास्थ्य मन्त्रालयबीच छलफल भइरहेको र केही दिनभित्र यो नियम लागू हुने बीमा समितिले जनाएको छ।

‘एक कोरोना संक्रमितले अर्को व्यक्तिको नाममा पनि बीमा दाबी गरेको भेटिएको छ’, बीमा समितिका कार्यकारी निर्देशक राजु रमन पौडेलले नेपाखबरसँग भने, ‘यस्तो प्रवृत्ति नदोहोरियोस् भनेर फोटोसहितको परिचयपत्र लिएर मात्र स्वाब संकलन गर्न लागिएको हो।’

अहिले नाम, उमेर रेकर्ड राखेर मात्र स्वाब परीक्षण गरिँदै आएको छ। फोटो नभएकाले एक संक्रमित व्यक्तिले फरक–फरक ल्याबमा गएर अर्को व्यक्तिको नागरिकता प्रयोग गरेर परीक्षण गरेको पनि पाइएको उनले बताए।

कुनै व्यक्तिले एक ल्याबबाट कोरोना परीक्षण गर्यो। उसको रिपोर्ट पोजिटिभ आयो। त्यही व्यक्ति अर्को ल्याबमा गयो र पुनः परीक्षण गर्यो। त्यहाँ पनि पोजिटिभ आउने नै भयो तर दोस्रो ठाउँमा परीक्षण गर्दा अर्को व्यक्तिको नाम, उमेर, नागरिकतालगायतका विवरण दियो।

अब संक्रमण नभएको उक्त व्यक्तिले कोरोना पोजिटिभको उक्त रिपोर्टसहित होम आइसोलेसनको सिफारिस बनाएर कोरोना बीमा दाबी गर्नसक्ने भयो।

यस्तै समस्या देखिएपछि फोटोसहितको परिचयपत्रको फोटोकपी लिएर मात्र स्वाब संकलन गर्ने व्यवस्था बीमा समितिले स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको पौडेलले बताए।

‘उक्त कुरामा स्वास्थ्य मन्त्रालय पनि सकारात्मक छ’, पौडेलले भने, ‘एक÷दुई दिनमा यो कुरा लागू हुन्छ।’

यो समस्या समाधान गर्न फोटोसहितको परिचयपत्र भएपछि मात्र कोरोना परीक्षण गर्ने भनेर बीमा समितिले स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो।

पछिल्ला दिनमा कोरोना बीमाको भुक्तानी पनि बढ्दै गएको छ। अर्थ मन्त्रालयले एक हप्ताभित्र बीमा भुक्तानी गर्न निर्देशन दिएसँगै यसले तीव्रता पाएको हो।

बीमा कम्पनीले बीमितबाट आएको दाबीपत्रलाई परीक्षण गर्न बीमा समितिमा पठाउँछ। समितिले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर कोरोना संक्रमित व्यक्तिको तथ्यांक संकलन गर्ने केन्द्रीय निकायका रुपमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट दबीसहित छ कि छैन भनेर परीक्षण गरिन्छ।

मंगलबारसम्म थप झण्डै १७ सय बीमितको परीक्षण हुने पौडेलले बताए। नेपालमा गत वर्ष वैशाखदेखि कोरोना बीमा सुरु भएको थियो। सुरुदेखि कात्तिक २० गतेसम्म कुल बीमित संख्या १७ लाख ७१ हजारबाट माथि लागेको छ।

सुरुका दिनमा कोरोना बीमामा धेरै आकर्षण थियो। कोरोना संक्रमितको संख्या तीव्र रुपमा आउनथालेपछि भने बीमा कम्पनीहरुले विभिन्न बखेड झिकेर भुक्तानी रोकेका थिए।

त्यसैबीच बीमा समितिले भदौको अन्तिमतिर नयाँ कोरोना बीमा पोलिसी ल्यायो। त्यसपछि भने कोरोना बीमा गर्नेको संख्या स्वात्तै घटेको छ।

बीमा समितिका अनुसार नयाँ पोलिसी लागू हुनुभन्दा पहिला १५ लाख ४ हजार २ सय ७ जनाले कोरोना बीमा गरेका थिए भने त्यसछि भदौ २९ देखि कात्तिक २० गतेसम्म १ लाख ६ हजार ६ सय ४ जनाले मात्र कारोना बीमा गरेको समितिले जनाएको छ।

नयाँ नीतिले कोरोना बीमाबाट बिरामीले पाउने भुक्तानीमा कमी आएपछि बीमा गर्नेको संख्या घटेको पौडेलले बताए।

पहिला नीतिअनुसार कोरोना पोजिटिभ देखिँदाबित्तिकै एक लाख र ५० हजार पाउने पाउन नीति थियो। त्यसमा धेरैको आकर्षण थियो।

नयाँ नियमअनुसार भने कोरोना पोजिटिभ आएपछि होम आइसोलेसनमा बसेको छ भने २५ हजार र अस्पताल भर्ना भएको छ भने भर्ना भएको र डिस्चार्ज भएको भौचरका आधारमा उपचार खर्च उपलब्ध गराउने व्यवस्था छ। यसमा पनि बढीमा ७५ हजार रुपैयाँमात्र व्यहोर्ने नीति छ।

‘यसरी पोलिसी परिवर्तन हुनाले केही कमी आएको हो’, पौडेलले भने, ‘तर, बीमा गर्नेहरुले गरिरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad