कोरोना संक्रमणको जोखिम नभएको भए यतिबेला तिहारको चहल पहल हुन्थ्यो। साथीभाइ जमघट भएर यतिबेला देउसी भैलो खेल्ने तयारीमा हुन्थ्ये। तर यो वर्ष अवस्था फरक छ।
कोरोना संक्रमणको जोखिमले अहिले समूहमा खेल्ने, बस्ने अवस्था छैन। तिहारको समयमा देउसी भैलो खेल्ने अवस्था नभएपछि मादल व्यवसाय पनि चौपट बनेको छ।
कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी, भैलो खेल्ने अवस्था छैन। जसको असर मादल व्यवसायमा पनि परेको छ। पोहोरका वर्षहरुमा तिहारको बेला भ्याइनभ्याइ हुने मादल व्यवसायीहरु व्यापार नै शुन्य भएपछि अहिले फुर्सदमा छन्।
त्यसो त अहिले ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाचगान गर्ने चलन पनि कम हुँदै गएको छ।
यद्यपी बसन्तपुर क्षेत्रमा मादलको व्यवसाय गर्दै आएका व्यवसायी रिबो बहादुर कुलु गत वर्षहरुमा ७ सय बढी मादल विक्ने गरेकोमा यो वर्ष ब्यापार निकै कम भएको बताउँछन्। कोरोना संक्रमणको कारण देउसी खेल्ने अवस्था नभएकाले व्यापार नै ठप्प रहेको उनले बताए।
बजार नभएपनि मूल्यमा भने कुनै परिवर्तन नभएको व्यवसायी कुलुले बताए। विगत वर्षहरु जस्तै १३ सय रुपैयाँदेखि सुरु भएर मादलको गुणस्तर अनुसार ८, १० हजारसम्मका मादल पाइने उनले बताए।
यो वर्ष कोरोना महामारीले व्यवसाय चौपट भएको बाहाना गर्न पाइने अवस्था भएपनि प्रविधिले भने मौलिक संस्कृतिमाथि नै धावा बोलिरहेको छ। डिजिटल गीत सङ्गीतको कारणले मादल बजाउने परम्परा नै सङ्कटमा पर्न थालेको छ। केही वर्षपहिलेसम्म जोर मादल बजाएर आँगनमा देउसी खेल्ने गरेको देखिन्थ्यो तर अहिले समय पनि फेरिएको छ।
मादल भन्दा क्यासेट बजाएर देउसी खेल्ने चलनले युवापुस्ता माझ प्राथमिकता पाएको छ। जसका कारण पनि मादलको विक्रि वितरण कम हुँदै गएको छ। युवा पुस्ताबाट आफ्नो मौलिक संस्कृति जगेर्ना हुन नसक्दा व्यापार व्यवसायमा असर त पर्छ नै हाम्रो सभ्यता नै लोप हुने खतरा हुन्छ।

प्रतिक्रिया