मुलुकमा कोरोना संकटले आम जनजीवनलाई प्रभावित गरिरहेको बेला इन्टरनेट सेवा प्रदायक भायनेटले इन्टरनेट विस्तारलाई तीव्र पारेको छ।
मुलुकका अधिकांश सहरमा इन्टरनेट विस्तार पुर्याइसकेको भायनेटले ग्राहकको मागलाई ध्यान राख्दै इन्टरनेट विस्तार गरिरहेको हो। यसै क्रममा भायनेटका २५ जना कर्मचारी समेत कोरोना संक्रमण भएको जनाएको छ।
‘कोभिड १९ को प्रभावले केही असर गरिरहेको भए पनि मुलुकभर इन्टरनेट विस्तारलाई निरन्तरता दिइरहेका छौँ’, भायनेटका सञ्चालक विनय बोहोराले भने, ‘यस अवधिमा इन्टरनेटको माग पनि राम्रो छ।’
मुलुकमा कोरोना भइरस संक्रमण फैलिएसँगै अनलाइन कक्षा र अफिसको काम पनि घरबाट भइरहेका छन्। यसले गर्दा सहरदेखि सहरउन्मुख ग्रामीण भेगमा इन्टरनेको माग बढिरहेको छ।
यही मौकामा इन्टरनेट विस्तारलाई पनि ध्यान दिएको बोहराले बताए। भायनेट मुलुकको मुख्य सहरमा पुगेको छ। सुदूरपश्चिमको सहरदेखि पूर्वको सहरमा पुगेको उनले बताए।
मुलुकमा कोरोना भाइरस संक्रमण बढेसँगै भायनेटका २५ जना कर्मचारी संक्रमण भइसकेको उनले बताए।
‘ग्राहकको समस्या समाधान गर्न र इन्टरनेट विस्तारलाई हामीलाई फिल्डमा गइरहनुपर्छ’, बोहराले भने, ‘यस क्रममा हाम्रा झण्डै २५ जना कर्मचारी कोभिड १९ बाट संक्रमण भइसकेका छन्।’
कोभिडको डर हुँदाहुँदै पनि ग्राहकको मागलाई ध्यानमा राखेर काम गरिरहेको उनको भनाइ छ। भायनेटले इन्टरनेटसँग नेटटिभीको सेवा पनि दिइरहेको छ।
सरकारले कात्तिक ८ देखि लागू गरेको विदेशी च्यानलमा विज्ञापनरहित कार्यक्रम (क्लिनफिड) भने पुरानो प्रविधि भएको बोहोराको भनाइ छ। फेजआउट हुनलागेको क्लिनफिडमा सरकारले समय खर्च गरिरहेको उनको बुझाइ छ।
‘अहिलेको समय हेर्दा क्लिनफिड सान्दर्भिक छैन जस्तो लाग्छ मलाई’, बोहोरा भन्छन्, ‘अहिलेको समय भनेको इन्टरनेट प्रविधिमा आधारित सेवा हो।’
इन्टरनेट प्लेटफर्मले पुरानो प्रविधिलाई विस्थापित गरिरहेकाले क्लिनफिड पनि पुरानो भएको छ। ‘क्लिनफिड दश वर्षअघि ठीक थियो होला। अन्तिम अवस्थामा पुगेको प्रविधिलाई नेपालले भित्र्याउँदै छ’, उनले भने।
उनका अनुसार अहिले जसरी अहिले केवल वा आईपीटिभीले व्यवसाय गरिरहेका छन्। त्यो केही समयमा विस्थापित हुँदैछ। केही वर्षभित्र यो बिजनेस मोडल हराउँदै छ।
अहिले उनीहरुले विदेशबाट वितरकको आधिकारिक बिक्रेता बन्ने र यहाँबाट ग्राहकसमक्ष च्यानल पु¥याउने काम गर्छन्। यो व्यवसाय मोडल विस्तारै केही वर्षभित्रै हराउने उनको भनाइ छ।
यो मोडललाई इन्टरनेट प्लेटफर्मले विस्थापित गर्ने र बिजनेस टु कस्टुमर (बीटुसी) मोडलमा जाने बताउँछन्।
टिभी च्यानल, भिडियो पनि इन्टरनेट प्लेटफर्ममा आउनथालेका क्लिनफिड हराउँदै गएको उनको बुझाइ छ।
नयाँ प्रविधि अर्थात् इन्टरनेटले अहिलेको व्यवसायी मोडललाई परिवर्तन गरेको छ। नेपालमा पनि त्यसैगरी परिवर्तन भइरहेको बेलामा सरकारले क्लिनफिडलाई महत्व दिएको उनको बुझाइ छ।
यस अवस्थामा इन्टरनेट प्लेटफर्मलाई कसरी सुधार गर्ने, कसरी यस क्षेत्रबाट राजस्व उठाउन भनेर सरकारले नसोचेर पुरानो क्लिनफिडमा अड्किरहेको उनी बताउँछन्।
‘नयाँ प्रविधिमा कसरी फोकस हुने भन्ने नै सोच छैन’, उनले भने।
सरकारले ऐनमार्फत नै क्लिनफिड लागू गरिसकेको अवस्थामा आईपीटिभीको मूल्य बढ्नसक्ने व्यवसायीहरुको अनुमान छ। ‘कन्टेन्ट प्रोभाइडरले क्लिनफिडमा जाँदा खर्च बढ्यो भने त्यसको प्रत्यक्ष असर ग्राहकलाई पर्छ’, बोहोराले भने, ‘त्यही भएर अहिले नै केही भन्न सकिँदैन, मूल्य बढ्नसक्ने अवस्था पनि छ।’
यस विषयमा सरकारले पनि मूल्यांकन गर्नसकेको छैन। सेवा प्रदायकले मूल्य बढेको बिल पठाएमा नेपालमा पनि च्यानलको मूल्य बढ्नसक्ने सम्बन्धित व्यवसायीहरुको भनाइ छ।

प्रतिक्रिया