कारोबार


यातायात विभागले जारी गर्‍यो नयाँ निर्देशिका, लामो दूरीका सबै यातायातले अनलाइन टिकटको व्यवस्था गर्नुपर्ने

यातायात विभागले जारी गर्‍यो नयाँ निर्देशिका, लामो दूरीका सबै यातायातले अनलाइन टिकटको व्यवस्था गर्नुपर्ने

नेपालखबर
असोज २८, २०७७ बुधबार ९:०,

यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा सञ्चालित यात्रुवाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद बिक्रीसम्बन्धी निर्देशिका जारी गरेको छ। विभागले सार्वजनिक यातायात सेवा सहज, सुरक्षित र प्रविधिमैत्री हुनुपर्ने भन्दै निर्देशिका जारी गरेको हो।

कोभिड–१९ को संक्रमण जोखिम न्यूनीकरण गर्नुपर्ने अवस्थामा विभागले बसपार्क वा अन्य स्थानमा रहेका टिकट बिक्री कक्षमा हुने भीड व्यवस्थापन एवं टिकट खरिद तथा बिक्री प्रक्रियालाई पारदर्शी बनाउनका लागि निर्देशिका लागू गरेको बताएको छ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले सबै व्यवसायीलाई अनलाइन टिकटिङमा आबद्ध गर्न आग्रह गरिसकेको अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।

त्यसैगरी काठमाडौं नयाँबसपार्कको व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीयले समेत केही महिनाभित्रै सबै टिकट अनलाइन भइसक्ने जानकारी दिएको छ। कोभिड १९ को महामारीमा बसपार्क व्यवस्थापकले अहिले सबै टिकट डिजिटाइज्ड बनाइसकेको छ।

ल्होत्सेले सबै व्यवसायीलाई एउटै सिस्टममा जोड्न केही समय लागे पनि केही महिनाभित्रै सबै व्यवसायी आबद्ध हुने दाबी गरेको छ।

विभागले एक सयदेखि २५० सम्म मध्यम दूरी र २५० किलोमिटरभन्दा बढीलाई लामो दूरी परिभाषित गरेको छ।

यातायात व्यवस्था विभागले जारी गरेको निर्देशिकाअनुसार मध्यम तथा लामो दूरीमा सञ्चालित यात्रुवाहक सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने कम्पनी फर्म र व्यवस्थापकहरुले अनलाइन टिकट व्यवस्था गर्नुपर्नेछ।

यसअनुसार सार्वजनिक यातायात सेवा प्रदायकले अनलाइन टिकेटिङ्गका लागि आवश्यक प्रणालीको व्यवस्था गरी यात्रुका लागि निर्धारित सिटहरु बिक्री भए नभएको खुल्ने गरी सिट प्लान राख्नुपर्नेछ।

व्यवसायीहरुले प्रयोग गरेको सफ्टवेयरलाई विभागको सफ्टवेयरसँग आबद्द गर्नुपर्नेछ र विभागले तोकेको भाडादरभन्दा अनलाइन टिकट खरिदबिक्री गरेबापत यात्रुबाट अतिरिक्त शुल्क लिन पाइनेछैन।

आरक्षण गरिएका सिटहरु सम्बन्धित लक्षित वर्गले पाउने गरी सुनिश्चित गर्नुपर्नेछ। यात्रुले जुनसुकै अनलाइन माध्यमबाट टिकट खरिद र सोको भुक्तानी सहज रुपमा गर्न पाउने व्यवस्था गर्नुपर्नेछ।

एक पटक सिट नम्बर तोकिएर बिक्री भइसकेको टिकट निज यात्रुले रद्द गरेको अवस्थामा बाहेक अन्य यात्रुलाई सो टिकट बिक्री गर्न पाइनेछैन।

अनलाइन टिकट खरिद गर्दा यात्रुको नाम, ठेगाना, लिङ्ग, मोबाइल नम्बर, सवारीसाधनको नं., प्रस्थान र गन्तव्य स्थानलगायतका विस्तृत विवरणहरु अनिवार्य रुपमा सफ्टवेयरमा प्रविष्ट गर्नुपर्नेछ।

टिकट रद्द गर्नुपर्ने भए के गर्ने ?
टिकट रद्द गर्दा गाडी छुट्ने समयभन्दा २४ घण्टाअगाडि रद्द गरेमा १० प्रतिशत र त्यसपश्चात् गरेमा ३३ प्रतिशत कटाएर यात्रुले जुन माध्यमबाट टिकट काटेको हो। सोही माध्यमबाट सम्बन्धित व्यवसायीले फिर्ता गर्नुपर्नेछ।

यात्रा गर्ने दिनभन्दा कम्तीमा ३ दिनअगावै टिकट अनलाइनमा डिस्प्ले गर्नुपर्नेछ तर दशैँ तिहारलगायतका अन्य राष्ट्रिय चाडपर्वको समयमा भने कम्तीमा ३० दिनअगावै वा नेपाल सरकारले आवश्यक ठानेको समयमा जुनसुकै समयमा खुला गर्नुपर्नेछ।

सवारीसाधन नम्बर प्रस्थान हुने समय आदि परिवर्तन हुने अवस्था आएमा यात्रुलाई सोको जानकारी यथाशीघ्र गराउनुपर्नेछ।

निर्देशिका जारी हुनुपूर्व अनलाइनबाट टिकट खरिदबिक्री गर्ने व्यवसायीहरुले पनि जारी निर्देशिकाअनुसार काम गर्नुपर्ने उल्लेख गरिएको छ।

सार्वजनिक यातायात यात्रीको भूमिका के?
निर्देशिकाअनुसार यात्रीले मध्यम तथा लामो दूरीमा यात्रा गर्दा अनलाइन वा व्यवसायी तोकेको टिकट बिक्री कक्षबाट टिकट खरिद गर्नुपर्नेछ।

अनलाइन टिकट खरिद गर्दा नाम, ठेगाना, लिङ्ग, मोबाइल नम्बर, प्रस्थान गर्ने स्थान, गन्तव्य स्थान अनिवार्य रुपमा प्रविष्ट गर्नुपर्नेछ।

यात्रुले टिकट खरिद गर्दा यात्रुवाहक सार्वजनिक यातायात सेवा प्रदायकले उपलब्ध गराएको टिकटको विवरणसम्बन्धी प्रिन्ट, एसएमएस, कोड नम्बरमध्ये कुनै विवरण लिई तोकिएको समयमा तोकिएको स्थानमा पुग्नुपर्नेछ र सम्भव भएसम्म यात्रुले आफ्नो परिचय खुल्ने कागजात साथमा लिई जानुपर्नेछ।

अनलाइन टिकट जसको नाममा जारी छ सोही यात्रुले मात्र यात्रा गर्नुपर्नेछ। कुनै कारणवश परिवर्तन गर्नुपरेमा यात्रुले त्यसको जानकारी गराउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ।

सार्वजनिक यातायात सेवामा आरक्षण सहुलियत प्राप्त गर्ने यात्रीहरुले यात्रा गर्दा सोको प्रमाण खुल्ने कागजात साथमा लिई यात्रा गर्नुपर्नेछ।

यातायात व्यवस्था विभागको भूमिका यातायात व्यवसायीहरुले प्रयोग गरेको अनलाइन टिकट खरिदबिक्री गर्ने प्रणालीको विवरणलाई एकीकृत गर्ने गरी एक सफ्टवेयर निर्माण र सञ्चालन गर्नुपर्नेछ।

विभागमा रहने सफ्टवेयरमा तोकिएको ढाँचामा यातायात सेवा प्रदायकहरुको सफ्टवेयरलाई एप्लिकेसन प्रोग्रामिङ्ग इन्टरफेसमार्फत आवद्ध गराई एकीकृत गराउनुपर्ने निर्देशिकामा उल्लेख रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad