सरकारले चैतमा वैदेशिक व्यापारघाटा कम गराउन भन्दै अनावश्यक र विलासी वस्तु रोक्ने नीति लियो। धेरै महँगो गाडी, विदेशी मदिरा र नेपाल आयात भएर पुनः भारत नै निर्यात हुने (केराउ, सुपारी, छोकडा, मरिच)लगायतको वस्तु पनि बन्देज लगाएको थियो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफैँ प्रस्ताव गरेर मन्त्रिपरिषद्बाट पारित गराएको उक्त नीति फेरि अहिले आफैँले उल्ट्याएको छ। गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले आपूर्ति मन्त्रालयको प्रस्तावमा विदेशी मदिरा आयात खोल्ने निर्णय गरेको हो।
यसरी आयात खुलाउनुलाई अहिले शंकास्पद रुपमा हेरिएको छ। नेपालमा विदेशी मदिरा आयात गर्ने दुई ठूला व्यावसायिक घराना रहेका छन्। जसमा शारदा ग्रुप र विशाल ग्रुप रहेका छन्। यी दुई ग्रुपको आग्रहमा नै दशैंको मुखमा सरकारले विदेशी मदिरा आयात खुल्ला गरेको हो।
आपूर्ति मन्त्रालयका एक अधिकारीका अनुसार यी दुई ग्रुपका प्रतिनिधिहरुले आपूर्ति वाणिज्य सचिव वैकुण्ठ अर्याल र मन्त्री लेखराज भट्टलाई धेरै पटक भेटेका थिए। उनीहरुले नयाँ आर्थिक वर्ष सुरु भएदेखि नै आयात खुल्ला गर्नुपर्ने माग राख्दै आएका थिए।
तर पछिल्लो समय त उनीहरुले दिनहुँजसो मन्त्री र सचिवलाई भेट गरेको ती अधिकारी बताउँछन्।
उनले भने, ‘सायद यी ग्रुपले कि त प्रलोभनमा पारे कि त कन्भिन्स गरे। यी व्यावसायिक ग्रुप ठूलो आर्थिक कारोबार गर्ने घरना हो। चैतदेखि आयात रोकिएपछि सायद यिनीहरुसँग रहेको मौज्दात पनि सकिएको हुनुपर्छ। जसकारणले प्रलोभनमा पारेको हुनसक्छ। अर्को कन्भिन्स गर्ने कुरा भनेको चाहिँ चालू आर्थिक वर्षको बजेटमार्फत विदेशी मदिराको भन्सार दर बढेको छ। जसअनुसार राज्यलाई राजस्वमा फाइदा हुन्छ भनेर कन्भिन्स पनि गरेको हुनसक्छ।’
तर यो समयमा विदेशी मदिरा खुलाउनु अनुचित नै भएको सरकारी अधिकारी बताउँछन्।
ती अधिकारीले भने, ‘म आफैँ उद्योग प्रवर्द्धन शाखामा छु, अहिले स्वदेशी उत्पादन नै नभएको स्वदेशी उद्योगहरुले गुनासो गरिरहेका छन्। उनीहरुको गुनासो नै बजारबाट माग नआउँदा उत्पादन गर्न नसकेको भन्ने छ। यस्तो अवस्थामा विदेशी मदिरा आवश्यक छैन।’
स्वदेशी उद्योगहरुको विभिन्न संघ÷संगठनहरुले समेत बन्द रहेको उद्योगहरुलाई चलायमान बनाउन र स्वदेशी उद्योग बचाउन पहल गरिदिन भन्दै मन्त्री तथा सचिवलाई भेटिरहेका छन्। यसै अवस्थामा आयातकर्ताको मागलाई मात्रै सम्बोधन गर्नु आफैँमा शंकास्पद देखिएको हो।
आयात खुलाउने विषयमा योभन्दा अघि पनि विवादमा
चैतमा नै बन्द गरिएको मरिच केराउ, छोकडाजस्ता वस्तुहरु बन्द गर्नुअगावै आयातको प्रक्रियामा समेत रहेको थियो। यी वस्तुहरु भन्सारमा आएर थुप्रिएको थियो।
यी वस्तु खुलाउन भन्दै व्यापारीहरुले मन्त्रालयमा आएर मन्त्री भट्टलाई धेरै अग्रह समेत गरेका थिए। तर उनले जुन देशबाट आयात भएको हो। सोही देश पुर्याउन भन्दै आएका थिए। तर उनले ६ महिना भन्सारमा राख्न दिएर खुलाएका थिए। त्यो बीचमा ब्यापारीसँग बार्गेनिङ गरेको आरोप उनलाई लागेको थियो।

प्रतिक्रिया