कारोबार


लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

नेपालखबर
असोज २५, २०७७ आइतबार १५:२९,

चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ। विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो।

अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजस्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ। अन्नपूर्णको साहसिक र रोमाञ्चक यात्रा उत्प्रेरक हुने भन्दै पदयात्रापछि थाकेको शरीरलाई स्वादिष्ट परिकार र चियाले भरपुर आनन्द दिलाउन सकिने संस्थाले साइटमा लेखेको छ।

अन्नपूर्ण सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्लापाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले अन्नपूर्णलाई विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्न पनि सुझाएको छ। अन्नपूर्ण क्षेत्र दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारका लागि चर्चित मानिन्छ।

पर्यटकीय नगरी पोखराबाट उत्तरी क्षेत्रमा पर्ने यो क्षेत्रमा संसारकै दशौं अग्लो आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाललगायत सात हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल पर्छन्। दश दिन लामो पदयात्रामा अन्नपूर्ण दक्षिण र अन्य दर्जनौं साना मार्ग समेटिएका छन्, जुन हिमाली गाउँमा गएर जोडिन्छन्।

घुम्नैपर्ने १० गन्तव्यको सूचीको पहिलो नम्बरमा जोर्डनको पेट्रासिटीलाई राखिएको छ। त्यस्तै दोस्रो स्थानमा इक्वेडरको गालापागोस र तेस्रो स्थानमा अष्ट्रेलियाको उलुरु राष्ट्रिय निकुन्ज परेको छ। लोन्ली प्लानेट संसारकै विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad