मलेसियामा अपहरणमा परेका दाङको तुलसीपुर १५ का मध्म रैदास शुक्रबार नेपाल फर्किएका छन्। उनले काम गर्ने कम्पनीका साहुले नै अपहरण गरेर रैदाससँग १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुलेका थिए।
रैदासलाई अपहरण गर्नेसाहु डेभिड डन भन्ने दुर्गाबहादुर श्रेष्ठ असोज १ गते नेपाल आएका थिए। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले असोज १३ गते पक्राउ गर्यो। डेभिड पक्राउ पर्नासाथ रैदासलाई सीआईबीले नै खबर गर्यो।
रैदासलाई अपहरण गरेकै कारण डेभिड पक्राउ परेपछि रैदास तत्काल त्यो कम्पनी छाडेर भागे।
नेपालीकै सहयोगमा उनी दूतावास पुगे। पासपोर्ट साहुकै कब्जामा थियो। त्यही भएर नेपाल फर्किन सहज थिएन। दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएर उनलाई शुक्रबार नेपाल पठाइदियो।
शुक्रबार नेपाल आएका उनी आइतबार सीआईबीको कार्यालय महाराजगन्जमा पुगे। सरकारी वकिल कार्यालय गएर आफूविरुद्ध डेभिडले गरेका सबै कर्तुत सुनाए।
साथी फस्ला भनेर मलेसिया फर्किए, आफैँ फसे
तेह्रथुमको सोल्मा घर भएका डेभिडको स्थायी बसोबास मोरङको सुन्दरपुरमा छ। मलेसियामा १५ वटा रेस्टुरेन्टका मालिक डेभिडको काठमाडौंमा पनि प्रशस्त घरजग्गा छ। तर, उनले नेपाली श्रमिकमाथि श्रृंखलाबद्ध अत्याचार मच्चाएको पाइएको छ।
मध्म रैदासलाई डेभिडको होटलमा काम गर्न मन थिएन। तर उनले एक वर्ष पहिले बिदामा फर्किंदा छिट्टै मलेसिया फर्किने बाचा गरेका थिए। तर, डेभिडले उनलाई घर फर्किन दिएनन्।
अन्तिममा सोही होटलमा काम गर्ने रैदासका साथी राजु तामाङले उनको जिम्मा लिए। रैदास नेपालबाट भनेको समयमा मलेसिया फर्किएनन् भने ५ हजार रिंगिट तिर्ने बाचा राजुले गरेका थिए। डेभिडले रैदासको २४ सय रिंगिट डिपोजिट र एक महिनाको तलब १८ सय रिंगिट काटेका थिए।
नेपाल फर्किसकेपछि उनले त्यो पैसा माया मार्ने सोचेका थिए। तर, आफू नफर्के राजु फस्ने डरले उनले फर्किने निर्णय गरे। उनी फेरि मलेसिया पुगे।
पुगेको एक वर्षपछि आफ्नो सबै हिसाबकिताब गरेर उनी नेपाल फर्किन चाहन्थे। त्यही अनुसार असारमा उनले साहु डेभिडलाई अब म घर फर्किन्छु भने। तर त्यसपछि साहुले उनलाई चोरीको आरोप लगाए।
कम्पनीकै एक जना र बाँकी मलेसियाली गुण्डा लगाएर साहुले रैदासलाई धम्क्याउन थाले। उनलाई अर्को रेस्टुरेन्टमा रारियो। त्यहाँ उनलाई एउटा कोठामा थुनेर राखियो। रातभर स्थानीय गुण्डाले थर्काए। भोलिपल्ट बिहानै डेभिड पुगे।
रैदासलाई आफूले कम्पनीमा चोरी गरेकै हो भन्न लगाएर भिडियो रेकर्ड गरे। रैदासले यसअघि पनि डेभिडले अरुलाई थर्काएको देखेका थिए। रैदासलाई डेभिडको त्यहाँको हैसियत राम्रोसँग जानकारी थियो।
डेभिडले यसअघि पनि धेरै नेपाली श्रमिकलाई फसाइसकेका थिए। उनको अगाडि श्रमिक निरीह हुन्थे र हात टकटक्याएर नेपाल फर्किन्थे। उनलाई कसैले केही गर्न सक्दैनथे।
स्थानीय प्रहरीले डेभिडलाई नै सहयोग गर्थे। गुण्डा पनि डेभिडले हात लिएका थिए। डेभिडका विरुद्ध मलेसियास्थित नेपाली दूतावासका कर्मचारी पनि बोल्न सक्दैनथे। उनले जे चाहन्थे दूतावासका कर्मचारी त्यही गरिदिन्थे।
डेभिडले तत्काल श्रीमतीलाई फोन गरेर १७ लाख २८ हजार रुपैयाँ माग् नत्र भने तँलाई यहीँ सडाइदिन्छु भन्दै थर्काए। बाँच्नका लागि रैदासले पैसा मगाउनुको विकल्प देखेनन्।
श्रीमतीलाई फोन गरेर भने, ‘मलाई यहाँ साहुले अपहरण गर्यो, १७ लाख २८ हजार रुपैयाँ नतिरे यहीँ सडाइदिन्छु भनेको छ। बाँचिएछ भने पैसा भोलि पनि कमाउँला ऋण काढेर पठाइदेऊ।’
असार १४ गते रैदासकी श्रीमती अनिताले डेभिड अर्थात् दुर्गाबहादुर श्रेष्ठको हिमालयन बैंकको खातामा १२ लाख रुपैयाँ जम्मा गरिदिइन्। तर मागेजति रकम जम्मा नगरी छुट्दैनस् भने। अनिताले असार १६ गते एक पटक तीन लाख र अर्को पटक ९२ हजार गरी जम्मा १५ लाख ९२ हजार रुपैयाँ जम्मा गरिदिइन्।
त्यति रकम आफ्नो खातामा जम्मा भएपछि डेभिडले रैदासलाई कागज गराए। रैदासलाई नै लेख्न लगाए, ‘मैले चोरैकै हो, त्यसबापत यो रकम तिरेको हुँ, आइन्दा चोर्दिनँ।’
डेभिडले यति कागज गराएर आफ्नै गाडीमा त्यहाँस्थित नेपाली दूतावासमा लगे। दूतावासमा के बोल्ने के नबोल्ने भनेर बाटैमा सिकाइसकेका थिए।
‘मैले मान्छे कुट्न छाडेकाले बाँचिरछस्,नत्र हातखुट्टा सग्ला हुँदैनथे यतिबेला, भनेको भन्दा दायाँबायाँ बोले त्यहीँ सिद्धिन्छस्,’ डेभिडले धम्की दिए।
डेभिडले दूतावासमा महिला कर्मचारी भएको कोठामा पुर्याए। चोरेकाले रकम फिर्ता गरेको र आइन्दा यस्तो काम गर्दैन भनेर सुनाए। दूतावासकी कर्मचारीले डेभिडलाई गरेको सम्मान देखेर रैदासलाई लाग्यो– यिनका अगाडि हाम्रो केही नलाग्ने रहेछ।
फिरौती लिएको रकम वैधानिक बनाउन दूतावासका कर्मचारीलाई समेत साक्षी राखेर डेभिड रैदासलाई लिई फर्किए।
अपहरणमा परेको यतिका समय पनि रैदासका परिवारले डरले कतै मुद्दा मामिला गरेन। सीआईबीले आफ्नै सूत्रबाट पत्ता लगायो र डेभिडलाई पक्राउ गर्न सफल भयो। र, परदेशमा नेपालीमाथिको शृंखलाबद्ध अत्याचारमा ब्रेक लाग्यो।
Shares

प्रतिक्रिया