कारोबार


नौ महिना थप भयो धरहरा पुनर्निर्माणको समयावधि (भिडियो)

नौ महिना थप भयो धरहरा पुनर्निर्माणको समयावधि (भिडियो)

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १२:२२,

निर्माणाधिन धरहराको निर्माण अवधि थपिएको छ। राष्ट्रिय पुनर्निर्माणक प्राधिकरणले २०७७ असोज २० गते (२०२० अक्टोबर ६ तारिख)भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो।

त्यस लगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो । कोभिड १९को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरेपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नौ महिना समय थपेको छ।

रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न नहुँदा समय थप्नुपरेको बताए।

अहिलेसम्म धरहराको १६ तल्ला ढलान भइसकेको जानकारी पनि श्रेष्ठले दिए। त्यसबाहेक धरहराको अन्डरग्राउण्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम भइरहेको पनि उनले बताए। जसमा ४ सय वटा सानो गाडी र ७ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने छ।

त्यस्तै मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले धेरै काम बाँकी रहेको उनले बताए। कोभिड १९ का कारण कामको रफ्तारमा असर पर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको पनि उनको भनाई छ। अहिले थपिएको समयमा पनि पूर्ण रुपमा काम सम्पन्न गर्न चुनौति रहेको श्रेष्ठको भनाई छ।

२२ तला रहेको धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ छ। धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ। धरहराको निर्माण कार्यमा लकडाउन अघि कुल ३ सय ५० जनाले काम गरेका थिए।

लकडाउनको बेला पनि २०-२५ जनाको संख्यामा कामदार राखेर निर्माण गरिरहेको कम्पनीले अहिले भने २ सय ५० जना कामदारहरु मार्फत कामलाई तिब्रता दिएको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad