कारोबार


विश्व बैंक भन्छ : सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै हुनेछ

विश्व बैंक भन्छ : सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै हुनेछ

नेपालखबर
असोज २२, २०७७ बिहिबार ७:५५,

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सुस्त हुने अनुमान प्रक्षेपण गरेको छ। कोरोना महामारीले नेपालको अर्थतन्त्रको अनौपचारिक क्षेत्रमा अत्यन्त खराब पारेकोले सन् २०२० मा ०.२ प्रतिशत र सन् २०२१ मा ०.६ प्रतिशत मात्रै वृद्धिदर हासिल हुने जनाएको हो।

विश्व बैंकले पछिल्लो दक्षिण एसियाली अर्थतन्त्रबारे रिपोर्ट बिटन अर ब्रोकन’ सार्वजनिक गरेको हो। रिपोर्टअनुसार यो वर्ष दक्षिण एसियाली अर्थतन्त्र हालसम्मै खराब अवस्थामा जाने देखिएको छ। खासगरी अनौपचारिक अर्थतन्त्रलाई कोरोनाले प्रभाव पारेको छ। यो वर्ष ७.७ प्रतिशतले यस क्षेत्रको अर्थतन्त्रमा संकुचन आउने अनुमान गरिएको छ। तर सन् २०२१ मा भने ४.५ प्रतिशतले आर्थिक वृद्धिदर देखिने अनुमान प्रक्षेपण गरिएको छ।

यद्यपि प्रतिव्यक्ति आय भने सन् २०१९ को अनुमानभन्दा तल ६ प्रतिशत रहने अनुमान गरिएको छ। यसअघिका आर्थिक मन्दीमा लगानी र निर्यातलाई असर गर्ने गरेकामा यसपटक प्राइभेट कन्जम्पसन निजी क्षेत्रको उपभोगलाई असर गरेको छ। यो क्षेत्र परम्परागत रुपमा मागको मेरुदण्ड नै मानिन्थ्यो। प्राइभेट कन्जम्पसन १० प्रतिशतभन्दा बढीले घट्ने अनुमान गरेको रिपोर्टले दक्षिण एसियामा गरिबी दर पनि बढाउने देखाएको छ। त्यस्तै रेमिट्यान्स घट्ने अनुमान पनि गरिएको छ।

विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका देशीय निर्देशक फरिस हादाद जर्भोसले नेपालका अनौपचारिक श्रमिकलाई महामारीले प्रभाव पार्दा गरिबी बढाउने बताए। यसका लागि आम्दानी, सामाजिक सुरक्षा र रोजगारी दिएर उनीहरुलाई सहयोग गर्नुपर्ने उनले बताए। त्यस्तै लगानीको वातावरणको पुनर्संरचना गरी भौतिक पूर्वाधारलाई ध्यान दिनुपर्ने, अनौपचारिक क्षेत्रमा लगानी पहुँच बढाउनुपर्ने उनको भनाइ छ।

नेपालमा अनौपचारिक व्यवसायले ५० प्रतिशत उद्यम सिर्जना गरेको र यो नै श्रमिकहरुको मुख्य आम्दानीको स्रोत रहेको रिपोर्टमा उल्लेख गरिएको छ। यो समूहमध्ये सहरी अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार घरपरिवार महत्वपूर्ण रहेको विश्व बैंकले जनाएको छ। लकडाउनका कारण यो क्षेत्र प्रभावित भएकोले उनीहरु संक्रमित हुने डरले व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यतामा रहेको उल्लेख गरिएको छ।

त्यस्तै रिपोर्टले सरकारहरुलाई युनिभर्सल सोसल प्रोटेक्सन र नीतिगत सहयोग गरी उत्पादकत्व, सीप विकास र मानव पुँजीमा जोड दिन सुझाव दिएको छ।

विश्वकै बैंकका दक्षिण एसियाका लागि प्रमुख अर्थशास्त्री हान्स टिमरले कोभिड १९ ले नेपाललाई र समग्र दक्षिण एसियालाई रुपान्तरण गर्ने बताए। यसले आगामी वर्षमा धेरै प्रभाव छोडे पनि अर्थतन्त्रले सकारात्मक लय समात्ने उनको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad