ad ad

कारोबार


सिँचाइ विभाग ललितपुरका इन्जिनियरविरुद्ध ३ करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

सिँचाइ विभाग ललितपुरका इन्जिनियरविरुद्ध ३ करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

नेपालखबर
असोज १५, २०७७ बिहिबार १०:५१,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग ललितपुरका चिफ डिभिजनल इन्जिनियर (सीडीई) सुरेश कुमार शर्माविरुद्ध ३ करोड ६ लाख ५४ हजार ९ सय ३२ रुपैयाँ भ्रष्टाचार गरी सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले शर्माले विभिनन कार्यालय र आयोजनामा कार्यरत हुँदा भ्रष्टाचार गरी करोडौँ सम्पत्ति आर्जन गरेको उजुरीपछि अध्ययन अनुसन्धान गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

रा.प. तृतीय श्रेणी इन्जिनियर (इन्जिनियर सेवा सिभिल समूह, इरिगेसन उपसमूह)का रुपमा २०५२ माघ १८ देखि अस्थायी नियुक्ति पाएका उनी २०५३ साउन ४ गते इन्जिनियर पदमा स्थायी भएका थिए।

हाल जलस्रोत तथा सिँचाइ विभाग ललितपुरमा कार्यरत उनले पदमा प्रवेश गरेदेखि ०७६÷०७७ सम्मको अवधिमा २ करोड ३५ लाख ३१ हजार ६ सय ७४ रुपैयाँ वैध आय देखिए पनि उनले सिर्जना गरेको सम्पत्ति, खर्च र लगानीमा ५ करोड ४१ लाख ८६ हजार ६ सय ६ रुपैयाँ खर्च गरेको देखिएको आयोगले फेला पारेको छ।

सो क्रममा ३ करोड ६ लाख ५४ हजार ९ सय ३२ रुपैयाँ वैध नदेखिएको आयोगको ठहर छ। यो सम्पत्तिको स्रोत देखाउन नसकेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको हो। उनले आफ्नो हैसियतभन्दा बढी रकमले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, विभिन्न बैंक तथा वित्तीय संस्था तथा कम्पनीका संस्थापक एवं साधारण सेयर खरिद गरी लगानी तथा खर्च गरेको आयोगले जनाएको छ।

उनलाई साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २०को उपदफा १ अनुसार कसुर पुष्टि भएकाले ३ करोड ६ लाख ५४ हजार ९ सय ३२ रुपैयाँ बिगो दाबी गरी मुद्दा हालिएको हो। उनकी श्रीमती बबिता फुँयाल शर्मालाई पनि प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .