वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौंको ताहाचल कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको छ।
सो कार्यालयमा कार्यरत् कर्मचारीमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट प्रदान गरिने सम्पूर्ण सेवा बुधबारदेखि बन्द गरिएको विभागले जानकारी गराएको छ।
कार्यालयमा कार्यरत कर्मचारीलाई नै संक्रमण देखिएपछि सेवा दिन सक्ने अवस्था नभएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए।
अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवा बन्द गरेको जनाइएको छ।
सरकारले गत फागुन २९ गतेबाट वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो ।
तर गत असार १८ गतेबाट पुनः श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय भएको थियो।
यो अवधिमा करिव १० हजार जनाले श्रम स्वीकृति लिएका छन्।
प्रतिक्रिया