समाज


तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ७० प्रतिशत सम्पन्न

तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ७० प्रतिशत सम्पन्न

नेपालखबर
असोज १४, २०७७ बुधबार ५:१२,

गोदावरीमा निर्माणाधीन तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ७० प्रतिशत सम्पन्न भएको छ। शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा उक्त केन्द्र निर्माण गरिरहेको छ।

विभाग र केसी–समानान्तर जेभीबीच विसं २०७६ कात्तिक २० गते सम्झौता भएर भोलिपल्ट २१ गतेबाट भवन निर्माणका लागि खाडल खन्न शुरु गरिएको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए। उनले भने, ‘गत वर्षको चैत महिनाभित्र यस भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। दुई महिना साइटमा भएका रुख काट्न समय लागेको र बेलाबेलामा पानी परेर बिहान अनि बेलुका दुई समय काम गर्ने भनिएकामा मौसमले पनि साथ नदिएका कारण तोकिएको समयभित्र सम्पन्न गर्न सकेनौँ।’

विश्वव्यापीरूपमा फैलिरहेको कोभिड महामारीका कारण गत वर्षको चैतदेखि असार मासान्तसम्म काम गर्न नपाएको र विगतमा २०० कामदारले काम गरेको सो स्थानमा हाल केवल ८० जना मात्र खटिएका भट्टले जानकारी गराए। ‘केन्द्रको भवन निर्माणको काम हालसम्म ७० प्रतिशत सम्पन्न भयो बाँकी रहेको ३० प्रतिशत काममा सीमा पर्खाल, प्लास्टर, रङरोगन, एसी र आवश्यक सामान फिट गर्नु नै छ’, उनले थपे, ‘सरकारले महामारीका कारण केन्द्र निर्माणमा छ महिनाको समय थप गरेर आउँदो कात्तिकसम्म सम्पूर्ण काम गरिसक्नुपर्ने भनिए पनि माघको अन्तिमसम्ममा मात्र काम सक्ने भएका छौँ।’

केन्द्रको भवन निर्माण गर्न सुरु गरेको त्यस समयमा आकाशे पानीले मुख्य समस्या पारेर कयौँ दिनसम्म हिँड्न र सवारी साधनमा सामान ढुवानी गर्नसमेत असहज भएको विभागका निर्माण आयोजना समन्वय कार्यालयका साइट इन्जिनियर विकास खनालले बताए। उनले भए, ‘केन्द्रमा जडान गर्न आवश्यक कुर्चीमध्ये केवल एक हजार ८२५ आइपुग्यो भने अन्य सीमा नाकामा रोकिएर यहाँ आइपुग्न बाँकी नै रहेको छ।’ केन्द्रमा विभिन्न सामान जडान र एसी हाल्न भारतबाट दक्ष जनशक्ति मगाउनुपर्ने हुँदा काममा ढिलाइ भइरहेको खनालले बताए।

‘पच्चीस रोपनी क्षेत्रफल ६० हजार वर्गफिटमा फैलिएको केन्द्रमा तीन तलाको भवन र एक तलामाथि बीम बस्ने भएको छ। यसमा एक मुख्य भवन त्यसभित्रको ‘ए’ ब्लकमा शौचालय, पाहुनाकक्ष र विशिष्ट व्यक्ति बस्ने ठाउँ, ‘बी’ ब्लकमा तीन हजार क्षमताको कक्ष र ‘सी’ ब्लकमा सानो बैठककक्षका साथै हल पनि रहने छ’, उनले भने।

मुलुकमा लामो समय बन्दाबन्दी नभएको भए केन्द्र निर्माणको काम हालसम्म ८० प्रतिशत सम्पन्न भइसक्ने जेभी साइटका प्रमुख इन्जिनियर राकेश यादवले बताए। उनले भने, ‘आउँदो दशैँअघि भवनको सम्पूर्ण संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ।’ केन्द्रमा अब फिनिसिङको काम धमाधम अघि बढाइने यादवले जानकारी गराए।

सो केन्द्र निर्माणका लागि रु ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा निर्माण सम्पन्न गर्न ठेक्का लिएको जेभीका अर्का इञ्जीनियर पवन मैनालीले बताए। उनले भने, ‘विसं २०७६ को अन्त्यसम्ममा भवन निर्माणको काम समाप्त गरिसक्नुपर्ने थियो। हामीले विभिन्न समस्याका कारण समयमै गर्न सकेनौैैँ।’

उक्त केन्द्र निर्माण सम्पन्नपश्चात गोदावरीमै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने भएको छ। सो केन्द्रमा सभा सम्मेलन गर्दा अब काठमाडौँ उपत्यकावासीले होटलमा जस्तो महँगो खर्च गर्नुपर्ने छैन। तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तत्काल निर्माण सम्पन्न हुनु मुलुककै लागि एक खुशी र गौरवको विषय पनि बन्ने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .