कारोबार


घरभाडा छुट दिने घरधनीलाई पुरस्कार र सम्मान

घरभाडा छुट दिने घरधनीलाई पुरस्कार र सम्मान

नेपालखबर
असोज १, २०७७ बिहिबार ११:५०,

कोरोना महामारीका सन्दर्भमा नेपालमा पाँच महिना व्यवसाय ठप्पजस्तै भयो। गत चैतदेखि करिब पाँच महिना बन्दाबन्दी भएपछि व्यवसायीहरुको उठिबास नै लागेको छ। लामो समय व्यवसाय बन्द हुँदा व्यवसायीलाई घरभाडा तिर्न समस्या भएको छ।

घरभाडा तिर्न नसकेर व्यवसाय बन्द गर्न थालेका व्यवसायीको राहतका लागि बागलुङ उद्योग वाणिज्य संघले सक्रियता देखाएको छ। संघले बन्दाबन्दी हुँदादेखि नै घरधनीहरुलाई भाडा छुट दिन आग्रह गर्दैसमेत आएको छ।

हालसम्म बागलुङ बजारका झण्डै १५० घरधनीले घरभाडा छुटसमेत दिएका छन्। कोरोना भाइरसका कारण आफ्नै घरमा व्यवसाय गर्नेभन्दा भाडा तिरेर व्यवसाय सञ्चालन गर्नेलाई निकै समस्या सिर्जना भएको छ। संघले घरभाडा छुट दिनेलाई प्रोत्साहन गर्न थालेको छ। संघको आग्रह वा स्वतःस्र्फूत रूपमा घरभाडा छुट गरेका घरधनीहरुलाई संघले प्रोत्सानस्वरुप सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको हो।

घरभाडा छुट दिने घरभेटीलाई प्रोत्साहन र अन्य घरधनीलाई भाडा छुट दिन अभिप्रेरित गर्नका लागि घरधनीलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम अघि सारेको संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए।

‘कोरोना महामारीमा व्यवसायीलाई धेरै मार परेको छ, भाडामा व्यवसाय सञ्चालन गर्नेहरुले भाडा तिर्न नसकी व्यवसाय बन्द गर्दा त्यसको मार घरधनीलाई समेत हुने गर्दछ’, राजभण्डारीले भने, ‘धेरै घरधनीले एक महिनादेखि पाँच महिनासम्मको घरभाडा छुट गर्नुभएको छ, उहाँहरुलाई कदरस्वरुप उद्योग वाणिज्य संघले सम्मान गर्नेछ।’

राजभण्डारीका अनुसार घरभाडा छुट दिने घरधनीको लगत संकलन भइरहेको र आगामी उद्योग वाणिज्य संघको साधारणसभामा सम्मान गरिनेछ। उनले घरभाडा छुट दिने घरधनीहरु बढ्दै गएमा साधारणसभा अघिनै सम्मान गरिने बताए।

संघका अनुसार हालसम्म बागलुङ बजारका करिब १५० घरधनीले आफ्नो घरमा सञ्चालित व्यवसायलाई घरभाडा छुट दिएको तथ्यांक छ।

बागलुङका ठूला तथा साना व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले घरभाडा तिर्न नसक्दा व्यवसाय नै धरापमा परेको गुनासो गर्दै आएका छन्। हालसम्म बागलुङ बजारका एक दर्जन व्यवसायीले भाडा तिर्न नसकेर व्यवसाय नै बन्द गरेका छन्। उद्योग वाणिज्य संघले घरभाडा छुट दिने घरधनीको संख्याका आधारमा कस्तो पुरस्कार दिने भन्ने निर्णयमा पुगिने बताएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad