कारोबार


धरहरा पुनः निर्माणको लागि समय थपिँदै

धरहरा पुनः निर्माणको लागि समय थपिँदै

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ११:३१,

निर्धारित समयमा पुनःनिर्माणको काम नसकिने भएपछि ऐतिहासिक धरहरा पुनःनिर्माणको लागि समय थप गरिने भएको छ।

पूर्व निर्धारण गरेको समयानुसार आगामी असोज तेस्रो सातासम्ममा काम सम्पन्न गर्नुपर्छ। हालसम्मा ४१ दशमलब ५ प्रतिशत मात्र काम भएकाले अब तोकिएकै समयमा काम सम्पन्न हुने अवस्था नभएकाले समय थप गर्न लागिएको हो।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार निर्माण कम्पनीले एक वर्षको लागि समय माग गरेको छ। तर कति थप्ने भन्ने विषय छलफल भइरहेकाले एकिन भएको छैन। कम्पनीकै माग र आवश्यकता अनुरुप समय थप गरिन्छ।

निर्माणको क्रममा अहिलेसम्मा १३ तलाको काम सम्पन्न भएको छ भने १४ तलाको काम भइरहेको छ। निर्माणका लागि हालसम्मा रु एक अर्ब १३ करोड सकिएको पनि मानन्धरले जानकारी दिए।

नेपाली र केही भारतीय नागरिकसहित दैनिक १५० कामदार नियमितरूपमा निर्माणका लागि खटिएका भए पनि कारोना भाइरसका कारण कहिले निर्माण सामग्री त कहीले कामदारको अभाव भएपछि निर्माणको काम तोकिएको समय भन्दा पर धकोलिएको हो।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको धरहराको पुनःनिमार्णको काम तीन वर्ष बितेपछि अघि बढेको हो। दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु गरेको थियो। निर्माणको लागि जम्मा रु तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ।

ऐतिहासिक धरहरा पुनःनिर्माणका लागि अघिल्लो पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन्। सो अवसरमा उनले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण गर्नुपर्ने बताएका थिए।

पहिलाको धरहरा भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो छ। जहाँ दुईवटा लिफ्ट हुनेछ। एउटा परम्परागत भ¥याङ रहनेछ। लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ। अब बन्ने धरहरा अत्याधुनिक र सुविधासम्पन्न हुनेछ। करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ। नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन्।

एघार तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो। सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए। धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयलगायतको सुविधा हुनेछन्। गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ। उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ। धरहरामा चढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ।

 निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ। पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

धरहराको १८औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउण्टेन, बगैँचा, रेष्टुरेन्टको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ। जहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad