कारोबार


गुणस्तरहीन आक्वा ९९ पानी उत्पादन गर्दै त्रिकोण वेभरेज, यसअघि नै दिएको निर्देशन टेरेन

गुणस्तरहीन आक्वा ९९ पानी उत्पादन गर्दै त्रिकोण वेभरेज, यसअघि नै दिएको निर्देशन टेरेन

नेपालखबर
भदौ १५, २०७७ सोमबार ८:४२,

रोक लगाइएको आक्वा ९९ ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण नियमित भएको भेटिएको छ।

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र त्रिकोण बेभरेजले उत्पादन गरेको आक्वा ९९ ब्राण्डको पानी प्रशोधन र जारको गुणस्तरमा त्रुटि देखिएपछि गएको वर्ष फागुन महिनामा खाद्य तथा गुण नियन्त्रण कार्यालयसहितको अनुगमनका क्रममा उत्पादन बन्द गर्न निर्देशन दिइएको थियो।

आज महानगरको उपभोक्ता हित संरक्षण समितिले औद्योगिक क्षेत्रमा उत्पादन हुने खाद्य, पानी र दूग्ध पदार्थको अनुमगन गर्दा यो क्रम देखिएको हो। अनुगमनमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बेभरेजले उत्पादन गर्ने पानीको गुणस्तर नपुगेकोले गएको फागुनमै गरेको अनुगमनकै क्रममा उत्पादन रोक्न भनेकामा त्यसो नगरेको पाइएको बताए। बेभरेजका सञ्चालक सुरेन्द्र श्रेष्ठले पछि अनुमति लिएरै चलाएको दाबी गरे। तर कसको अनुमति लिएको भन्न नसकेको अनुगमन अधिकारीले बताएका छन्।

बेभरेज जमिनमुनिको पानी लिएर प्रशोधन गरेर बिक्री गर्ने गरेको छ। श्रेष्ठका अनुसार सामान्य अवस्थामा दैनिक २५ हजार लिटर पानी बाहिर पठाउने गरिएको छ। उनकै अनुसार पनि यसरी उत्पादन हुने पानीको धेरै भाग जमिनमुनिबाटै निकाल्ने गरिन्छ। औद्योगिक क्षेत्रले २ वटा धारा दिएको छ भनेर स्रोत देखाउने श्रेष्ठले यतिले तपाईको व्यापारको कति प्रतिशत भाग थेग्छ भन्ने प्रश्नको उत्तर दिन सकेनन्। अनुगमनका क्रममा बेभरेजलाई पुनः सञ्चालन गर्न लिएको अनुमतिसहित अन्य आवश्यक कागज बोकेर महानगरको कृषि बिभागमा आउन निर्देशन दिइएको छ।

बेभरेजले उत्पादन गरेको २० लिटर जारको थोक मूल्य १५ रुपैयाँ र खुद्रा मूल्य २५ राखिएको छ। यसरी बिक्री गरिने पानी बजारमा ५० रुपैयाँसम्ममा बिक्री हुन्छ।

अनगुमन टोलीले परीक्षणका लागि यस बेभरेजबाट पानीको नमूना संकलन गरेको छ। यसै गरी जय हनुमान फुड प्रालिबाट उत्पादन हुने ६६६ ब्राण्डको आँटा र मैदाको नमूना पनि लिएको छ।

औद्योगिक क्षेत्रभित्रै रहेको आधुनिक डेरी प्रोडक्टमा दूध नभएर दूग्ध पदार्थ उत्पादनको काम नभएको पाइएको छ। उद्योग सञ्चालकका अनुसार चितवनबाट दिनको ३ गाडी दूध आउँथ्यो। अहिले १ गाडी आउँछ । त्यही पनि समयमा आउँदैन । यता होटल व्यवसाय पनि ठप्प छ। यसकारण आयात र बिक्री दुवै रोकिएको हो।

महानगरको कृषि विभागको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, पशु सेवा बिभाग, उपभोक्ता अनुसन्धान मञ्चका पदाधिकारीहरु सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad