कुलेश्वर क्षेत्रमा सञ्चालन भएको जय माँ दुर्गा ट्रेडर्सबाट बिक्री गरेर ढुवानीका लागि तयार गरिएको ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा चामल र २० बोरा भटमास बिक्रीका लागि रोक लगाइएको छ।
काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले यी खाद्य सामाग्री बिक्री गर्न रोक लगाएको हो।
उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत नराखी २ सय सादा पहेँलो बोरामा बिक्रीका लागि राखिएका केराउ, उत्पादन मिति मेटिएका बालाजी प्याकेजिङ्का करिब १ सय बोरा आजतक ब्राण्डका चामल र क्यानडाबाट आयात गरिएको २० बोरा भटमासलगायतका सामानको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नवीकरण भएको प्रमाणसहितका कागजात पेश नगरुञ्जेलका लागि बिक्रीमा प्रतिवन्ध लगाइएको काठमाडौं महानगरले जनाएको छ।

ट्रेडर्सले पिकअप गाडीमा राखेर यस्तै सामान बनेपाको एबीसी खाद्य स्टोरमा पठाउन लागेको थियो। खाद्य सामग्रीमा हुनुपर्ने आधारभूत मापदण्ड नभएकोले अनुगमनकै क्रममा ती सामान टे«ेडर्सको गोदाममा फिर्ता गराइएको थियो।
ट्रेडर्ससँगै आज कुलेश्वर क्षेत्रका खाद्य थोक पसलहरुको अनुगमन गरिएको महानगरले जनाएको छ। त्यस क्रममा दाल, चामल, गेडागुडीको भण्डारण, खरिद बिक्री बिल, तौल, मूल्य, गोदामको अवस्था हेरिएको थियो। त्यस क्षेत्रका अधिकांश पसल बन्द अवस्थामा थिए । सम्पर्क गरेर आउने ग्राहकका लागि खोलिएका पसल आधा खोलिएका थिए। अनुगमन टोलीले खाद्यान्न ढुवानी गरेर आएका सवारीमा राखिएको सामानको गुणस्तर र सम्भावित चुवाहटको पनि अवलोकन गरेको थियो।
आज त्रुटि पाइएको ट्रेडर्सलाई कारबाहीको प्रक्रिया अघि बढाउने उपमेयर हरिप्रभा खड्गीले बताइन्। कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले लेबल नटाँसिएका, टाँसे पनि अक्षर मेटिएका र नबुझिने, ढक तराजु, पसलको दर्ता नवीकरण अद्यावधिक नगरिएका, कर चुक्तालाई नियमति गर्न बाँकी भएको जस्ता समस्या धेरैजसोमा देखिएको बताए। सबैलाई कारबाही गर्ने उनको भनाइ छ।
सामानको लागत मूल्य एकिन नहुँदा अधिकतम् मूल्यसम्ममा आइपुग्दा उपभोक्ताभन्दा बीचको तहले फाइदा उठाएका छन्। उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले उपभोक्ता अधिकारका कोणबाट यही प्रणालीमा समस्या रहेको बताए। महानगरको उपभोक्ता हित समितिले अहिले तरकारी, खाद्य, दूग्ध पदार्थ तथा मासुजन्य सामाग्रीको बजार अनुगमन गरिरहेको छ । यस अघि कालीमाटी र बल्खु तरकारी बजार हेरिएको थियो।

प्रतिक्रिया