ad ad

कारोबार


पर्यटन मन्त्रालयले गर्‍यो ६० प्रतिशत खर्च, अरु के–कति प्रगति?

पर्यटन मन्त्रालयले गर्‍यो ६० प्रतिशत खर्च, अरु के–कति प्रगति?

वसन्त अर्याल
भदौ ९, २०७७ मंगलबार १०:४५,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काबुबाहिरको परिस्थितिमा ६० प्रतिशत खर्च गर्नसकेको बताएको छ।

मन्त्री योगेश कुमार भट्टराईले आर्थिक वर्ष २०७६/०७७ को प्रगतिपुस्तिका सार्वजनिक कार्यक्रममा कोभिड १९ को समयमा उत्साहजनक प्रगति नभए पनि केही राम्रा काम हुनसकेको बताएका हुन्।

उनले त्रिभुवन विमानस्थलको रनवे, ट्याक्सी वेजस्ता लामो समयसम्म हुन नसकेका काम सम्पन्न गरेको, पोखरा विमानस्थलमा भौतिक निर्माण सन्तोषजनक रहेको र गौतम बुद्ध विमानस्थलको पनि लकडाउनको समयमा काम भइरहेको बताएका छन् ।

‘कोभिडको अवस्था नआएको भए गौतम बुद्ध विमानस्थलमा सम्पूर्ण काम सकिएको हुन्थ्यो। साढे ३ अर्ब खर्च हुन पाएन’, उनले भने, ‘निजगढ विमानस्थलमा वन मन्त्रालयसँग समन्वयको अभावमा रुख गणना तथा कटान हुनसकेन। बस्ती सार्न पनि सकिएन। डेढ अर्ब खर्च हुनसकेन।’

उनले पुँजीगत र वित्तीय खर्च हुने समयमा कोभिडको कारण काम गर्न नसकिए पनि पुँजीगत ६४ प्रतिशत खर्च भएको बताए।

संस्कृति क्षेत्रको प्रगति
गत आर्थिक वर्षमा संस्कृति क्षेत्रमा उल्लेख्य प्रगति भएको मन्त्रालले जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सम्पदा पुनर्निर्माणमा धरहरा र रानी पोखरीको काम राम्रो प्रगति भएको उल्लेख गरेको छ।

त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत् ६० हजार नेपाली शब्दकोषको एन्ड्रोइड मोबाइल एप सार्वजनिक गरेको छ। यसले नेपाली भाषाको विकासमा योगदान पुग्ने मन्त्रालयले उल्लेख गरेको छ।

त्यसैगरी पशुपति क्षेत्रको प्रगति ७० प्रतिशत भएको छ। यस आर्थिक वर्षमा गौशाला भुवनेश्वरी दर्शनमार्ग स्तरोन्नति, कैलाश उमाकुण्ड घेरा पर्खाल तथा हरियाली प्रवर्धन, मृगस्थलीमा पहिरो नियन्त्रण तथा सम्पदा पुनर्निर्माणसम्बन्धी कार्य सम्पन्न भएको छ।

लुम्बिनी ९५ प्रतिशत प्रगति भएको छ। लुम्बिनी गुरुयोजनाअनुसार वाटर सम्पलाई सिस्टम, केही क्यानल तथा पोखरीहरु विद्युत् वितरण प्रणाली निर्माण साथै भूमिगत रुपमा अप्टिकल फाइबर बिछ्याउने कार्य, सीसीटीभी क्यामेरा जडान कार्य भएका छन्। त्यस्तै, बृहत्तर लुम्बिनी गुरुयोजनाको अवधारणापत्र तयार भएको मन्त्रालयले जनाएको छ।

पर्यटन क्षेत्रको प्रगति
कोभिडको कारण पर्यटन क्षेत्रमा ठूलो असर परेको छ। भ्रमण वर्ष २०२० उद्घाटन गरे पनि कोभिडको कारण सफल हुनसकेन। पर्यटन गन्तव्यको विकासको लागि मन्त्रालयले हिल स्टेसन निर्माणको कार्यलाई अघि बढाएको बताएको छ।

त्यसैगरी हिमालय ट्रेलको ७७ किमि सम्पन्न भएको छ। थप १२७ किमिको विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ।

अन्तर्राष्ट्रिय नियमित उडानमा प्रतिबन्ध तथा लकडाउनको कारण नेपालका विभिन्न ठाउँमा बसेका पर्यटकलाई उद्धार गरिएको छ।

‘नेपालका विभिन्न ठाउँमा रोकिएका पर्यटकलाई उद्धार गरी उनीहरुलाई स्वदेश फिर्ता पठाउन सकिएको छ’, मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले भने, ‘पर्यटकको सफल उद्धारले नेपालको पर्यटन क्षेत्रको छवि ऊँचो भएको छ। आपत्काल अवस्थामा पनि नेपालले सुरक्षित उद्धार गर्न सक्छ भन्ने सन्देश गएको छ।’

त्यस्तै पर्यटन बोर्डले कोभिड १९ को अवस्थामा कसरी व्यवसाय सञ्चालन गर्ने भन्ने कार्यविधि बनाएको प्रगति विवरणमा उल्लेख छ।

नागरिक उड्डयन क्षेत्रको प्रगति
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ६१ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत भएको छ। रन वे, ट्याक्सीवे अप्रोन, ह्याङगर अप्रोन, टर्मिनल भवन, एटीसी टावर लगायतका काम सम्पन्न भएका छन्। विमानस्थल समयसीमाभित्र सकिने मन्त्रालयको दाबी छ।

गौतम बुद्ध विमानस्थलको काम बाहिरबाट जनशक्ति नहुँदा राम्रो प्रगति हुनसकेको छैन। मन्त्रालयका अनुसार बाहिरबाट जनशक्ति आएको तीन महिनामा निर्माणको काम सकिने र त्यसको तीन महिनाभित्र सञ्चालन गर्न सक्ने गरी काम भइरहेको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालसम्मको प्रगति १० प्रतिशत भएको मन्त्रालयले उल्लेख गरेको छ। जग्गा अधिग्रहणसम्बन्धी काठवस्तीको काम ९० प्रतिशत, टागियाँ बस्ती सार्ने योजना बनिरहेको छ। विमानस्थल क्षेत्रमा कति रुख पर्छन् भन्ने अध्ययन भइरहेको छ। हालसम्म ६० हजार रुख गणना भइसकेको छ।

त्रिभुवन विमानस्थलमा तीन सय मिटर रनवे विस्तारको काम सकिएको छ। बुटिक एयरपोर्टको रुपमा काम अघि बढेको छ। त्यसैगरी तराईका आन्तरिक विमानस्थलतर्फ रातको समयमा पनि जहाज उडान गर्नसक्ने गरी लाइट जडान गरिएको छ।

हवाइ यात्रा गर्ने ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने व्यवस्था भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .